‘प्रधानमन्त्री हुन्छु भनेर कल्पना पनि गरेको थिइनँ’



१० असोज २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले प्रधानमन्त्री हुने कल्पनैसम्म पनि नगरेको बताएका छन्।

तर, आफ्नै जीवनकालमा मुलुकमा परिवर्तन हुन्छ र गर्न सकिन्छ भनेर आन्दोलनमा लागेको स्मरण गरे।

नेपालय प्रकाशनद्वारा प्रकाशित वामपन्थी राजनीतिक इतिहास र नेताहरुको जीवनी चरित्रमा आधारित प्रा. केआर खुम्बुको पुस्तक ‘छायाँको लस्कर’ को लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले आन्दोलनमा लाग्दा बाँचिएला भन्नेसमेत नलाग्ने गरेको उल्लेख गरे।

उनले गणतन्त्रको प्राप्तिसहित नयाँ संविधान, कम्युनिष्ट पार्टी एकता र अरु परिवर्तनहरु आफ्नै जीवनकालमा देख्न पाइएको जनाउँदै पञ्चायतकालमा संगठित र सचेत प्रयासका साथ थालनी गरेर सुरु भएको आन्दोलनले आफ्नै जीवनकालमा परिवर्तन दिएको र पार्टी एकताले पूर्णता पाएकामा सन्तोष व्यक्त गरे।

‘देशको सुखद् भविष्यको परिकल्पना थियो, आफ्नोबारेमा केही पनि परिकल्पना थिएन।’ उनले भने। ‘त्यसबेला भोकै हिँड्ने गरिन्थ्यो। सुरक्षाकर्मीसँग छलेर हिँड्नु पर्थ्यो। पूर्वी पहाडका अधिकांश जिल्लाहरु पैदलै परिक्रमा पनि गरेको छु।’

उनले भूमिगतकालमा आफूले गरेका राजनीतिक गतिविधिको स्मरण गर्दै त्यसबेलाका कतिपय क्रान्तिकारी गीत, कवितासमेतलाई पुस्तकमा समेटेकामा धन्यवाद दिए।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्