संघर्षले निखारिएका डा. विजय दत्त



को हुन् कम उमेरमै संवैधानिक निकायको प्रमुख जस्तो गरिमामय पद पाउने डा. विजय दत्त ?

१० असोज २०७६, काठमाडौं

नेपालको सप्तरी जिल्लामा पर्ने नेपाल–भारतको सिमामा रहेको अति पिछडिएको बेल्ही गाउँ (हाल बलान बिहुल गाउँपालिका वडा न–२) मा वि.स २०२७ साल बैशाख ३ गते पिता स्व. वाशुदेव लाल दत्त र माता स्व. कामेश्वरी देवी दत्तको चौथो सुपुत्रका रुपमा विजय दत्त जन्मेका हुन् ।

दत्तको जन्म अति न्यून आर्थिक स्थिति भएको परिवारमा भएको थियो । एक छाक टार्न समेत गाह्रो हुने परिवारमा ५ जना दाजु भाईको पढाई असम्भव जस्तै थियो । दत्तका बुवाले सामान्य लेखापढी गरेर परिवार चलाउँथे र आमाले घरको काम हरु गर्नुहुन्थ्यो । गाउँमा विद्यालयको व्यवस्था थिएन भने दत्तको पारिवारिक न्यून आर्थिक स्थितिले गर्दा बाहिर पठाएर पढाउन एकदम गाह्रो थियो । दत्तको सानै उमेरदेखि पढाई प्रति एकदम लगाव थियो । पढाई लेखाइमा एकदम चासो राख्ने दत्तले आफ्नो स्कूल तथा कलेजको शिक्षा सीमा पारी करिव ५ किलोमिटर टाढा रहेको भारतको लौकाहा नाम गरेको ठाउँमा हासिल गरेका हुन् ।

चप्पल समेत किन्ने पैसा नभएर दत्त दिनहुँ बलान नदी पार गरेर शिक्षा हासिल गर्न नाङ्गो खुट्टा करिव १० किलोमिटरको यात्रा तय गर्थे । अति विपन्न परिवार भएकोले गर्दा दत्तसँग किताब किन्ने पैसा समेत हुँदैन थियो । उनले आफ्नै गाउँको एक जनासँग केहि दिनको लागि किताब मागेर पढे र कक्षा–१० को अन्तिम परीक्षा पास गरे । गाउँमा विजुलीको व्यबस्था नभएर दत्तले टुकी बालेर रात दिन पढाई गर्थे । एकदम कम उज्यालोमा यसरी रातीराती पढ्दा दत्तको आँखा सानै उमेरमा कमजोर हुन् पुग्यो । विज्ञान विषय पढ्ने इच्छा भएका दत्त कमजोर आर्थिक स्थितिका कारण मानविकी संकायमा भर्ना भए र त्यस संकायमा पनि अब्बल ठहरिए । परिवारको स्थितिले गर्दा दत्तले १९ वर्षको उमेर देखि जागिर गर्न थाले । उनले पहिलो जागिर शिक्षकको रुपमा गरे र त्यहाँबाट जन्मियो अंग्रेजी विषयको शिक्षकको रुपमा उनको पहिचान ।

वि.सं. २०५४ साल मङ्सीर १४ गते सिरहाको लहानमा वरिष्ठ वामपन्थी नेता तथा साहित्यकार स्व.चन्द्रशेखर लाल शेखरको नातिनी तथा नरेन्द्र कुमार कर्ण तथा रेणु कर्ण कि सुपुत्री रचना कर्णसँग दत्तको वैवाहिक सम्बन्ध गाँसियो । पढाईलाई सधैं पहिलो प्राथमिकता दिने दत्तले आफ्नो पढाई कहिले रोक्न चाहेनन् । भनिन्छ, ‘इच्छा’ छ भने कुनै कुरा ले छेक्दैन । दत्तले आफ्नो स्नातकको पढाई गर्न जनकपुर आए र आफ्नो पढाईलाई निरन्तरता दिए । आफ्नो तथा आफ्नो पढाईको खर्च निकाल्न दत्तले जागिर पनि गर्न थाले । स्नातकमा हुँदा मात्र आफुले कमाएको पैसाबाट जीवनमा पहिलो पल्ट दत्तले जुत्ता लगाउन पाए । दत्तले पढाई र जागिर सँगसँगै आफूलाई बिभिन्न बाहिरी क्रियाकलापहरुमा समेत सहभागी गराउन थाले ।

दत्तले स्नातक सकेपछि आफ्नो स्नातकोत्तरको पढाई पनि जनकपुरमा गरे । यता पढाई सँगसँगै बिभिन्न सामाजिक कार्यहरुमा समेत दत्त सामेल हुन् थाले र आफ्नो छुटै पहिचान बनाउने कसरतमा लागे । जनताको गुनासो, समस्या सुन्न रुचाउने र त्यसको आवश्यक समाधान खोज्न तत्पर रहने दत्तले मानव अधिकारको क्षेत्रमा बढी समय दिन थाले र भुमिजा मानव अधिकार संघ नाम गरेको आफ्नै संस्था खोलेर सक्रिय रुपमा काम गर्न थाले । वि.सं. २०६२/६३ मा भएको आन्दोलनमा मानव अधिकार सम्बन्धि सक्रिय रुपमा बोल्न थालेको दत्तको जनकपुरमा वरिष्ठ मानव अधिकारवादीको रुपमा पहिचान स्थापित भयो । यता दत्तले जनकपुरमै ३–४ जना शिक्षाप्रेमीहरुको सहयोगमा आफ्नै निजि कलेज खोले । दत्तले खुल्ला प्रतिस्पर्धाबाट नेपाल संस्कृत विश्वविद्यालयमा अंग्रेजी विषयको उप–प्राध्यापकको रुपमा नियुक्ति पाए । आफ्नो क्षमता, ज्ञान र शिक्षाले गर्दा दत्त केहि वर्ष पछि सह–प्राध्यापक हुन् पुगे । करिब २ दर्जन भन्दा बढी संघसंस्थाहरुमा नेतृत्वकारी भूमिकामा रहेका दत्तले विभिन्न क्षेत्रमा आफ्नो अतुलनीय योगदान पुर्‍याएका छन् ।

जनकपुर सहित नेपालभरीमा दत्तको योगदान तथा सक्रियताको चर्चा हुन थाल्यो । दत्तले अंग्रेजी विषयमा विद्यावारिधि समेत हासिल गरे । दत्तले नेपाल बुद्धिजीवि परिषद्को केन्द्रीय सदस्य, पर्यटन व्यवसायी संघको प्रदेश अध्यक्ष, पर्यटन प्रवर्द्धन विभागको केन्द्रीय सदस्य, हिसानको केन्द्रीय उपाध्यक्ष, हिसानको केन्द्रीय सल्लाहकार, नेपाल संस्कृत विश्वविद्यालयको प्राज्ञिक परिषद्को सदस्य जस्ता झन्डै ३० भन्दा बढी पदहरु पूर्ण इमान्दारीपूर्वक निर्वाह गरे ।

उनको कुशल नेतृत्व, इमान्दारिता र पूर्ण जवाफदेहिता स्वभाव र काम गर्ने शैलीले गर्दा सरकारले बिभिन्न समयमा उच्च तहको एक समितिको सदस्य, नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ परिषदको सदस्य, नेपाल विद्यापति पुरस्कार कोषको अध्यक्ष आदि जस्तो गरिमामय पदले सम्मान दिएको छ ।

दत्त बिभिन्न समयमा बिभिन्न क्षेत्रमा करिब ३ दर्जन भन्दा बढी पुरस्कारबाट पुरस्कृत भईसकेका छन् । उनको लेखहरु बिभिन्न पत्रपत्रिकाहरुमा समेत प्रकाशित भईसकेको छ ।

नेपालको बिभिन्न क्षेत्रमा आफ्नो महत्वपूर्ण योगदान दिएका सरल तथा सामान्य स्वभाव तथा अति सरल जीवन बाँच्ने दत्तलाई वि.सं. २०७५ मा संबैधानिक परिषद्को सिफारिसमा मन्त्रीको मर्यादाक्रममा रहेको संबैधानिक निकायको प्रमुख जस्तो गरिमामय पदमा सिफारिस गारियो । डा. दत्तले २०७५ साल चैत्र ७ गते सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको समुपस्थितिमा सम्माननीय प्रधानन्यायधिश चोलेन्द्र शमशेर राणाबाट “मधेशी आयोगको माननीय अध्यक्ष” पद तथा गोपनीयताको सपथ ग्रहण गरे ।

निकै सरल तथा हासिलो स्वभावको दत्त अझ पनि सामान्य जीवन बाँच्न रुचाउछन् । जीवनमा धेरै संघर्ष गरेका दत्तले संघर्ष स्वरूप सफलता हासिल गरे । दत्तको ३ जना छोराछोरी छन् । जेठी छोरीले स्नातक सकाएर स्नातकोत्तरको तयारी गर्दैछिन् भने कान्छी छोरी कक्षा ११ मा पढ्दैछिन् । छोराले इन्जिनियरिङमा स्नातक गर्दैछन् ।

एक छाक टार्न समेत गाह्रो रहेको परिवारमा जन्मेका दत्त आज आफ्नो अथक प्रयास, मिहिनेत तथा लगनशीलताले नेपालको संवैधानिक निकायको प्रमुख जस्तो गरिमामय पदमा आसिन छन् । बिभिन्न कठिनाइ तथा चुनौतीको सामाना गरेका दत्त आज नेपाली समाजमा सफलताको पात्र बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्