१४ असोज २०७६, काठमाडौँ
चलचित्र क्षेत्र जति सहज देखिन्छ । त्यति पक्कै पनि छैन । हामीलाई कलाकारको जीवन हेर्दा कति रमाइलो र सुखी छ जस्तो लाग्छ । तर यत्तिको सफलता पाउनको लागि सबैले आफ्नो ठाउँमा निकै मेहेनत गरेका छन् ।
चलचित्र क्षेत्रमा लामो समयसम्म टिक्नको लागि सर्वप्रथम कलाकारको काम नै राम्रो हुनुपर्छ । कलाकारले दर्शकमाझ आफ्नो छाप छोड्न सफल भए भने न दर्शकले कलाकारलाई पर्दामा हेर्ने माग गर्छन् । त्यसैले कोहीपनि कलाकारले आफ्नो डेब्यु चलचित्रबाट नै राम्रो छाप छोड्न सकेमा चलचित्र क्षेत्रमा लामो रेसको घोडा बन्न सक्छन् ।
आजभोली नेपाली चलचित्र क्षेत्रमा नयाँ कलाकारको आगमन बढ्दो छ । तर सबैले सोचेजति सफलता पाउन सकेका छैनन् । अझ भन्नुपर्दा यस्ता कतिपय कलाकार पनि छन् जसले पहिलो चलचित्रपछि अरु कुनै चलचित्रमा काम गर्न पाएका छैनन् र दुखको कुरा के हुन्छ भने उनीहरुलाई दर्शकले चिन्दा पनि चिन्दैनन् ।
तर यस्ता कलाकार पनि छन् जसले पहिलो चलचित्रबाट नै दर्शकको मन जित्न सफल भएका छन् । अझ भनौँ भने पहिलो चलचित्रबाट नै स्टार बनेका छन् । आज हामी यहाँ पहिलो चलचित्रबाट नै स्टार बनेका केही नायिकाबारे चर्चा गर्नेछौँ ।
साम्राज्ञी राज्यलक्ष्मी शाह
पहिलो चलचित्रबाट नै दर्शकको मन जितेर स्टार बन्न सफल भएकी अभिनेत्रीको पहिलो नम्बरमा आउँछिन् नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह । चलचित्र ‘ड्रिम्स’ बाट नेपाली चलचित्र क्षेत्रमा आएकी साम्राज्ञीले नसोचेको सफलता पाइन् । ‘ड्रिम्स’ ले ब्लकबस्टर व्यापार त गर्यो नै त्यसका साथै साम्राज्ञीको पनि भाग्य चम्काइदियो । अनमोलको कारण चलचित्र हेर्न हलसम्म पुगेका दर्शक साम्राज्ञीको फ्यान भएर बाहिर निस्किए । त्यसपछि उनले ‘ए मेरो हजुर २’ मा काम गरिन् । यो चलचित्रले उनको चर्चा थप बढाइदियो ।अहिले साम्राज्ञी सबैभन्दा डिमाण्डेड र महंगी अभिनेत्रीको रुपमा परिचित छन् । उनलाई लिएर चलचित्र बनाउने निर्माता निर्देशकको लामै लाइन छ ।
जसिता गुरुङ
यस्तै पहिलो चलचित्रबाट आफूलाई स्टार बनाउन सफल अभिनेत्री जसिता गुरुङ पनि हुन् । चलचित्र ‘लिलिबिली’ बाट उनी रजतपटमा आएकी थिइन् । चलचित्रमा उनको जोडी प्रदिप खड्कासँग बाधिएको थियो । ‘लिलिबिली’ मा जसिताको काम र सुन्दरताको खुबै प्रशंसा भयो । साथै प्रदिपसँगको उनको केमेष्ट्रिलाई पनि दर्शकले औधी रुचाए । ‘लिलिबिली’ बाट जसिताको पनि डिमाण्ड बढेर गयो । उनको दोस्रो चलचित्र ‘लब स्टेशन’ हलमा असफल भयो । तर अझै पनि जसिताको हातमा स्क्रिप्टको कमी भने छैन ।
उपासना सिंह ठकुरी
पहिलो चलचित्रबाट आफूलाई स्टार बनाउने अभिनेत्रीको सुचीमा अभिनेत्री उपासना सिंह ठकुरी पनि पर्छिन् । गत बर्षको फागुनमा रिलिज भएको चलचित्र ‘क्याप्टेन’ बाट डेब्यु गरेकी उपासनाको कामको निकै प्रशंसा भयो । अझ भन्नुपर्दा ‘क्याप्टेन’ चलचित्रको मुटु नै उपासना हुन् भन्दा फरक नपर्ला । यो चलचित्रमा उनको अभिनय र सुन्दरताको निकै नै प्रशंसा भयो । यस्तै उपासनाको दोस्रो चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ हाल प्रदर्शनरत रहेको छ । ‘कबड्डी कबड्डी कबड्डी’ बाट उपासनाको चर्चा निकै नै चुलिएको छ । यो चलचित्रमा उनलाई दिइएको भूमिकालाई उनले जीवन्त तरिकाले उतारेकी छिन् । जसका कारण उनलाई अब चलचित्र धान्न सक्ने नायिकाको रुपमा हेरिन थालिएको छ ।
सुहाना थापा
पहिलो चलचित्रबाट दर्शकको अत्याधिक माया पाउन सफल नायिकामध्येकी अर्की नायिका हुन् सुहाना थापा । चर्चित अभिनेत्री तथा निर्देशक झरना थापाकी छोरी सुहानाले आफ्नै होम प्रोडक्सनको चलचित्र ‘ए मेरो हजुर ३’ बाट चलचित्र क्षेत्रमा पाइला राखेकी थिइन् । चलचित्रमा उनको जोडी अनमोल केसीसँग बाधिएको थियो । यो चलचित्र बक्सअफिसमा सुपरहिट साबित मात्र भएन सुहानाको करियरमा नयाँ मोड ल्याइदियो । सुहानाले यो चलचित्रबाट सोच्दै नसोचेको सफलता पाइन् । समिक्षक र दर्शकले सुहानाको अभिनयको मुक्तकण्ठले प्रशंसा गरे भने अनमोल र सुहानाको केमेष्ट्रिलाई पनि दर्शकले निकै रुचाए । अहिले सुहानालाई चलचित्रको अफर निकै आइरहेको छ । तर उनले दोस्रो चलचित्र पनि आफ्नै होम प्रोडक्सनको गर्ने भएकी छिन् । सुहाना तत्काल बाहिरी ब्यानरका चलचित्रमा काम गर्ने सोचमा छैनन् । तर सुहानाले चलचित्र क्षेत्रलाई नै निरन्तरता दिएमा उनीपनि लामो समयसम्म यो क्षेत्रमा रहन सक्छिन् ।
यी नायिकाहरु अहिलेका स्टार नायिकाहरु हुन् । जसमाथि निर्माता निर्देशकको मात्र नभएर दर्शकको पनि ठूलो आशा रहेको छ । त्यसैले पनि यो सफलता यी नायिकाको लागि एउटा चुनौती पनि बनेको छ । त्यसैले अब चलचित्र गर्दा कस्तो चलचित्र गर्ने भन्ने विषयमा यी नायिकाहरुले पक्कै पनि सोच्नुपर्छ ।