१४ असोज २०७६, काठमाडौं
सभामुख कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएका छन्।
नेकपा सचिवालय बैठकले सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन आग्रह गरेलगत्तै महराले पदबाट राजीनामा दिएका हुन्।
आफूमाथि लागेको आरोपमा निष्पक्ष छानबिनका लागि सहयोग पुर्याउनका लागि आफूले राजीनामा दिएको उनका प्रेस सहयोगी डिल्ली मल्लले बताए। संसदकै एक महिला कर्मचारीले बलात्कारको आरोप लगाएपछि आकस्मिक बसेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालय बैठकले महरालाई पदबाट राजीनामा गरेर छानबिनमा सहयोग गर्न सुझाव दिएको थियो।
सरकारले पनि घटनाको छानबिनका लागि समिति बनाउने तयारी गरेको छ। गृहमन्त्रालयले आन्तरिक रुपमा नेपाल प्रहरीलाई घटनाको अनुसन्धान गर्न निर्देशन दिइसकेको छ। सांसद पदबाट भने उनले भोलिसम्ममा राजीनामा दिनेछन्।
संसद सचिवालयमा काजमा काम गर्ने एक कर्मचारीले सोमबार विभिन्न सञ्चारमाध्यम मार्फत सभामुख महराले आफूलाई बलात्कार गरेको आरोप लगाएकी थिइन्।