बडादशैँ नेपालीहरुको राष्ट्रिय चाड हो : परराष्ट्रविद् डा. राजन भट्टराई (फोटो फिचर )



१५ असोज २०७६, काठमाडौँ

बूढानिलकण्ठ नगरपालिका वडा नं. १२ द्वारा विजया दशमीको अवसरमा आयोजित शुभकामना आदानप्रदान, चियापान तथा सम्मान कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराइले बडादशैँ हिन्दूहरुको मात्र नभएर सबै धर्म मान्ने नेपालीहरुको राष्ट्रिय चाड भएको बताएका छन्।

विश्वका विभिन्न देशहरुमा लामो विदाका आ-आफ्नै प्रचलन भएजस्तै नेपाल सरकारले लामो बिदा दिएर बडादशैंलाई नेपालीहरुको राष्ट्रिय चाड बनाएको बताउँदै सबैले खुशीसाथ र गच्छेअनुसार खर्च गरी दशैँ पर्व मनाउन सुझाव दिएका थिए।

बूढानिलकण्ठ नगरपालिका प्रमुख उद्धवप्रसाद खरेलले संचारमाध्याम देखि आम नागरिकहरुमा नकारात्मक सोच र धारणा बढ्दै गएको बताउँदै दशैं जस्तो पर्वले समाजमा सकारात्मक उर्जा दिने बताए।

कार्यक्रममा बूढानिलकण्ठ नगरपालिका उपप्रमुख वडा नं. २, ८, ९, १०, ११ का वडाध्यक्ष सहित वडा सदस्यहरु, नेकपा प्रदेश ३ का सदस्य सुन्दर पुर्कुटी, नेकपा जिल्ला सदस्य कुसुम कार्की, नेकपा बूढानिलकण्ठ नगरपालिका अध्यक्ष रविन अधिकारी, सचिव प्रदीप डंगोल लगायत वडा सदस्यहरु र स्थानीय पार्टी कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा लोकगायक सूर्यमणि आचार्यले दशैँ शुभकामना गीत गायका थिए भने वडा नं. १२ भित्रबाट २०७५ को एसईई परीक्षामा पास भएका विधार्थीहरुलाई डा. राजन भट्टराई लगायतले सम्मान गरेका थिए।

यसैगरी बूढानिलकण्ठ नगरपालिका वडा नं. ११ को एकीकृत महिला विकास समूहले आयोजना गरेको दशैँ शुभकामना कार्यक्रममा समेत डा. राजन भट्टराई लगायत अतिथिहरुको सहभागीता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्