विपक्षी सांसदप्रति ट्रम्प आक्रोशितः अश्लील र आपत्तिजनक भाषाको प्रयोग



१६ असोज २०७६, काठमाडौं

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महाअभियोगको प्रस्तावलाई लिएर विपक्षी डेमोक्रेटिक सांसदहरुप्रति अश्लील र आपत्तिजनक भाषा प्रयोग गर्दै निन्दा गरेका समाचार बाहिरिएको छ।

फिनल्यान्डका राष्ट्रपति साउली निइनिस्टियोसँगको संयुक्त पत्रकार सम्मेलनका क्रममा राष्ट्रपति ट्रम्पले अश्लील भाषा प्रयोग गर्दै डेमोक्रेटिक नेताहरुप्रति आक्रोश पोखेका हुन्।

उनले डेमोक्रेटिक नेताहरुलाई बेइमान र देशद्रोहीको संज्ञा दिएका छन्।

युक्रेनका राष्ट्रपतिलाई ट्रम्पले आफ्ना राजनीतिक प्रतिस्पर्धी जोन बाइडन र उनका छोरालाई भ्रष्टाचारको मुद्दामा कारबाही गर्न टेलिफोन गरी आग्रह गरेको विषयमा उनीमाथि महाअभियोगको प्रस्ताव अघि बढेको छ।

महाअभियोगका सम्बन्धमा गठित समितिले ह्वाइट हाउससँग टेलिफोन कुराकानीको पूर्ण विवरण मागेपछि राष्ट्रपति ट्रम्प आक्रोशित हुँदै आएका छन्। पत्रकार सम्मेलनका क्रममा उनको धेरै आक्रोश हाउस इन्टिलिजेन्सका अध्यक्ष एडम सिफतिर थियो।

राष्ट्रपति ट्रम्पले अध्यक्ष सिफलाई अपराधी र इज्जत नभएको मान्छे भन्दै राजीनामा माग गरे। उनले यस्ता व्यक्तिलाई देशद्रोहीका रुपमा हेरिनुपर्ने पनि जिकिर गरे।

राष्ट्रपति ट्रम्पले सम्पूर्ण अनुसन्धानलाई छल र अमेरिकी जनतामा कपटपूर्ण अपराधको संज्ञा दिँदै छानबिनलाई सहयोग गर्ने प्रतिबद्धता पनि जनाए।

यता डेमोक्रेटिकहरुले भने छानबिन र महाअभियोग प्रक्रियालाई निष्पक्ष बनाउने बताउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्