२२ असोज २०७६, काठमाडौं
दर्शनको अध्ययन गर्दा केही मूलभूत प्रश्नमा केन्द्रित भएर अध्ययन गरिन्छ । ती मुलभूत प्रश्नलाई दर्शनका मूल प्रश्न पनि भन्ने गरिन्छ ।
केही प्रश्नहरू छन्, जुन प्रश्नको उत्तर हरेक दर्शनहरूले आफ्नै तरिकाले दिने गरेका छन् । ती प्रश्न के हुन् भने पदार्थ र चेतनाको सम्बन्ध के हो ? अस्तित्व र चिन्तनको सम्बन्ध के हो ? यो जगत जान्न सकिने छ कि जान्नै नसकिने छ ? यसको बोध गर्न सकिन्छ कि सकिदैन ? यी प्रश्नलाई नै दर्शनका मूलभुत प्रश्न मानिन्छन् र यीनै प्रश्नमा हरेक दर्शन केन्द्रित हुन्छ । यी प्रश्नको अर्को पक्ष पनि छ । त्यो पक्ष भनेको चेतना र पदार्थको अन्तरसम्बन्ध के हो ? भन्दाखेरि कस्तो सम्बन्धको चर्चा हुन्छ भने पहिले के उत्पन्न भयो ? पदार्थ कि चेतना ? पदार्थ प्राथमिक हो की चेतना प्राथमिक हो ? अथवा चेतना पहिले अस्तित्वमा आयो कि पदार्थ पहिले अस्तित्वमा आयो ? भन्ने बहस छ ।
एकथरी दार्शनिकहरूले पहिले चैतन्य शक्ति उत्पत्ति भयो र त्यसले सारा विश्व ब्रह्माण्डको सृष्टि गर्यो भन्छन् । चेतना वस्तुगत जतगभन्दा पहिले अस्तित्वमा आयो र त्यसले नै सृष्टि गर्यो भन्ने तर्क छ । अर्को भौतिक जगत पहिले अस्तित्वमा आयो र भौतिक जगत अन्तर्गत जीवको विकास भयो । जैव शरीरभन्दा बाहिर चेतनाको अस्तित्व छैन । जैव शरीर भनेको भौतिक शरीर हो । त्यसैकारण भौतिक पदार्थ पहिले अस्तित्वमा आयो र त्यसमा चेतनाको विकास भयो । चेतना भनेकै भौतिक पदार्थको एउटा विशेष गुण हो ।
पदार्थ र चेतनाको विकासबारे यी दुईखाले तर्कहरू रहेका छन् । त्यस्तै चिन्तन र अस्तित्वबीचको सम्बन्धकोे कुरा के हो भन्दा पहिले के सृष्टि भयो भौतिक अस्तित्व कि चिन्तन ? भन्ने सन्दर्भमा एकथरी दार्शनिकहरूले चिन्तन नै अगाडि पैदाभयो भन्छन् भने अर्काथरी दार्शनिकहरूले होइन पहिले मान्छे अस्तित्वमा आउँछ र त्यसपछि मानव शरीरको विकास हुँदै जादाँ मस्तिष्कको पनि विकास हुन्छ र बल्ल चिन्तन गर्न थाल्छ भन्ने तर्क राख्छन् । यसका आधारमा भौतिक शरीर पहिले र चिन्तन पछि भन्ने तर्क छ । त्यस्तैगरी संसारलाई बुझ्न सकिन्छ कि सकिदैन भन्नेमा पनि दुईखाले नै मान्यता छन् । एउटा मान्यता छ यो त अवोधगम्य हो । यसमा हामीले कुनै पार लाउन सक्दैनौँ । यो बुझ्नै सकिदैन भन्ने मान्यता छ । अर्को प्रकृतिका नियमहरूलाई बुझ्न सकिन्छ र तिनीहरूलाई उपयोग गर्न पनि सकिन्छ र मानिसले गर्दै आएका पनि छन् भन्ने मान्यता छ ।
प्रारम्भिक कालमा केहीपनि गर्न नजान्ने मान्छे आज अत्याधुनिक खालका यन्त्रहरू बनाएर ब्रह्माण्डका अरु ग्रहहरूमा समेत जान खोजिरहेको छ । यो प्रकृतिको नियमलाई बुझेर नै हो । त्यसैले यो प्रकृतिलाई बुझ्नै नसकिने होइन भन्ने अर्को मान्यता रहेको छ । यसरी दर्शनका मूलभुत प्रश्नहरूको जवाफ खोज्ने दर्शनका दुई धारा बनेका छन् ।
यो पनि पढ्नुहोस्
दर्शन के हो ? (दर्शन परिचर्चा भाग–१)
दर्शनको प्रारम्भ कसरी भयो ? (दर्शन परिचर्चा भाग–२)
दर्शनका आधार के हुन् ? (दर्शन परिचर्चा भाग–३)
दर्शनले के काम गर्छ ? यो किन र यसको के महत्व छ ? (दर्शन परिचर्चा भाग–४)
दर्शनका विषयवस्तु के हुन् ? (दर्शन परिचर्चा भाग–५)