‘चिनियाँ राष्ट्रपति सीको भ्रमणले नेपालले एउटा नयाँ मोड लिन्छ, म उत्साहित छु’ : सुजाता कोइराला



२५ असोज २०७६, काठमाडौं

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले चिनियाँ राष्ट्रपति सी जिनफिङको दुई दिने नेपाल भ्रमण भव्य सफल हुने विश्वास दिलाएकी छिन् ।

उनले भनिन्,‘२३ वर्षपछि चिनियाँ राष्ट्रपति नेपाल भ्रमणमा आउँदैहुनुुहुन्छ, हामी हर्षित छौं । यो सबै नेपालीहरुको लागि खुशीको कुरा हो । हामी नेपाली जनता उहाँलाई भव्य स्वागत गर्न चाहन्छौं ।’ सीको नेपाल भ्रमणले देशको उचाई ठूलो हुने उनको विश्वास छ । उनले भनिन्,‘संसारभरि नै नेपाललाई हेर्ने दृष्टिकोणमा फरक आउँछ । सीको नेपाल भ्रमणको ठूलो अर्थ र महत्व रहेको उनको भनाई छ ।

सीको नेपाल भ्रमणको पूर्वसन्ध्यामा आयोजना गरेको साक्षात्कारमा उनले सी भारत हुँदै नेपाल आउन लागेको बताईन् । उनले भनिन्,‘चिनियाँ राष्ट्रपति यतिवेला भारतमा हुनुहुन्छ, मोदीसँग उहाँको कुराकानी भैरहेको छ । सी र मोदीबीच राम्रो कुरा भयो भने त्यसले नेपाललाई पनि ठूलो फाईदा हुन्छ । यसले नेपाललाई पनि सफल राष्ट्र बनाउन सक्छ ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले गिरिजा प्रसाद कोइरालाले भारत र चीनबीच राम्रो सम्बन्ध भयो भने त्यसले नेपाललाई हित र राम्रो हुन्छ भन्ने गरेको सुनाउँदै भनिन्,‘गिरिजाबाबु भन्नुहुन्थ्यो भारत र चीनबीच मित्रता भयो भने नेपाललाई पनि फाईदा हुन्छ । नेपालको उन्नति हुन्छ भन्नुहुन्थ्यो । र, मेरो सोचमा हामी अगाडि गयौं भने यो रिजनलाई नै फाईदा हुन्छ । एशियालाई नै फाईदा हुन्छ । त्यसैले अहिले भारतमा भैरहेको मोदी र सीको वार्ताको पनि ठूलो महत्व छ । मेरो त त्यो वार्ताको बारेमा पनि उत्सुकता छ ।’

उनले चिनियाँ राष्ट्रपति सी नेपाल आउनु धेरै रम्रो भएको बताउँदै विपीको पालादेखि चीनसँग मित्रता भएको सुनाईन् । उनले भनिन्,‘चीनलाई हामीले बढि महत्वको साथ हेरेका छौं । हाम्रो राम्रो सम्बन्ध रहँदै आयो । चीनले नेपालाई संकट पर्दा सहयोग गर्दै आएको छ । हरेक नेपालीहरुको मुखमा अहिले दशैं छ, ठूलो चाडपर्व छ । तर, उनीहरुले अब नेपाल विकास हुन्छ भनिरहेका छन् । उनीहरु अहिले केरुङ, किमाथांका नाका, बाटो, सुरुङमार्गको कुरा गर्छन् । नेपालले अब एउटा ठूलो फड्को मार्छ । अब विकास हुन्छ । स्थायित्व र शान्ति आउँछ भन्ने कुरा नेपालीको मनमा रैछ । यो उत्साहजनक कुरा हो ।’

सीको भ्रमणको पूर्वसन्ध्यामा नेपालीहरुले सबै कुरा बिर्सिएर विकासको कुरा गर्नु भनेको यसले एउटा ठूलो परिवर्तन ल्याउँदैछ भन्ने संकेत भएको पनि नेतृ कोइरालाको टिप्पणी छ । उनले भनिन्,‘ जनताले चाहेको नै विकास हो । स्थायित्व र शान्तिले नै देशमा विकास हुन्छ । सीको भ्रमणबाट नेपालले केही पाएपनि वा नपाएपनि उहाँ नेपाल आउनुनै एउटा महत्वपूर्ण कुरा हो । हामी सबै पूराना तिता कुराहरु बिर्सिएर विकासको कुरामा मात्रै लागिरहेका छौं । यो नै एउटा ठूलो उपलब्धि हो भन्ने मलाई लागेको छ । एउटा नयाँ बाटोमा हामी हिँड्न लागेका छौं । देशले एउटा नयाँ मोड लिन्छ भनेर म उत्साहित छु ।’

गिरिजाबाबुले जहिल्यैपनि ‘एक चीन नीति’ लाई नै समर्थन गर्दै आएको सुनाउँदै कोइरालाले भनिन्,‘उहाँ प्रधानमन्त्री हुँद्या स्टेट भिजिटमा जानुभयो । पार्टीको सभापति हुँदापनि उहाँ  पार्टी–पार्टी सम्बन्ध बनाउनको लागि दुई चोटी प्रतिनिधिमण्डल लिएर चीन जानुभयो । एकचोटी उहाँसँग म पनि गएको थिएँ ।  छिमेकीसँग पिपुल–टु–पिपुल रिलेशनपनि हुन्छ । पार्टी–टु–पार्टी रिलेशनपनि हुन्छ । यसलाई गलत हिसाबले हामीले सोच्नुहुँदैन् । गिरिजाबाबुले सिपिसी पार्टीलाई नेपालमा आमन्त्रित गर्नुभएको थियो । उनीहरु पनि नेपाल आएका थिए । यो गर्नुपर्छ । हामीले पनि यसलाई निरन्तरता दिन्छौं ।’

उनले नेपालमा रेल ल्याउने कुरा खुशीको कुरा भएको बताईन् । उनले भनिन्,‘ट्रेन, कनेक्टिभिटी भनेको यसको धेरै महत्व छ । पूर्वाधार विकासको लागि बाटो हो । विकासको पूर्वाधार नै बाटो हो । सुरुमा मलाई पनि ट्रेनको कुरा गर्दा अर्के लाग्दथ्यो, तर धेरै अध्ययन गरेपछि ट्रेन चाहिन्छ भन्ने निश्कर्षमा म पनि पुगेको छु । भारतबाट र चीनबाट पनि काठमाठौं ट्रेन आउँछ । यो भयो भने दुवै देशबाट नेपालमा लाखौंको संख्यामा पर्यटकहरु आउँछन् । उनीहरुलाई नेपाल आवागमनमा सहजता हुन्छ । यो आवश्यकत्ता छ । सुरुवात हुन्छ भनेको सुन्छु । हामी स्वागत गर्छौं ।’

चीनसँग नाका खोल्ने कुरापनि तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले गरेको उनको जिकिर छ । उनले भनिन्,‘चीनसँग नाका खोल्ने कुरा नेपाली कांग्रेसले गरेको हो । चीन अहिले आर्थिक रुपमा दोस्रो ठूलो शक्ति हो । चीन बलियो भएको छ । अहिले नाका खोल्नेबारे महत्व दिएको छ । परिस्थिति परिवर्तन भएको छ । नाका खुल्छ । यो खुशीको कुरा हो ।’ चीनको बिआरआई परियोजना राम्रो भएको सुनाउँदै यसबाट नेपालले पनि ठूलो लाभ लिनसक्ने उनको तर्क छ । उनले थपिन्,‘हामीले योमार्फत धेरै परियोजना ल्याउन सक्छौं । लगानी ल्याउन सक्छौं ।’

त्यस्तै, उनले रेलवे ल्याउने कुरामा पनि सबै कुरामा नेपालले अनुदानमात्रै खोज्न नहुने तर्क गरिन् । उनले भनिन्,‘केरुङ–काठमाडौं रेलको जो कुरा छ, हामी सबै अनुदान नै खोज्छौं । हामी नेपालीहरुको बानी बिग्रिएको छ । हामीले पनि मेहनत गर्नुपर्छ । मगन्तेजस्तो सबै कुरा लिनु राम्रो होईन । निःशुल्क देउ भन्नुहुँदैन् । हामीले ऋण लिनुपर्छ । सहुलियत व्याजमा ऋण पाउनुपर्छ । रेल होस वा अरु कुनै परियोजना बनाउँदा त्यसमा हामीले आफ्नो अपनत्व लिनुपर्छ । सस्तो व्याजमा ऋण लिनुपर्छ । नेपाल सार्वभौम र स्वतन्त्र देश हो । हामीले थोरै भएपनि ईनपुट दिनुपर्छ, त्यसो गर्न सकियो भने कसैको दास भएको हुँदैन् । नेपालीले बनाएको हो । यो रेल हाम्रो हो भन्ने भावना हुन्छ । आत्मसम्मान हुन्छ । केही थोरै भएपनि हाम्रो ईनपुट दिनुपर्छ ।’

नेतृ कोइरालाले चीनबाट लगानी ल्याउनु्पर्नेमा जोड दिईन् । उनले नेपाल विपत्तमा पर्दा पनि चीनले ठूलो सहयोग गरेको सुनाईन् । उनले भनिन्,‘भुकम्प, बाढी, पहिरोले नेपालले धेरै दुःख पायो । प्रकृतिले पनि हामीलाई सहयोग गरेन् । चीनमा प्रविधि एकदम आधुनिक छ । उनीहरुले नयाँ नयाँ आविष्कार गरेका छन् । बाटो चाँडो र बलियो बनाउने उनीहरुको प्रविधि छ । हाम्रा ठेकेदारलाई पनि तालिम दिनुपर्छ । चीनबाट हामीले धेरै कुरा सिक्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्