चिनियाँ राष्ट्रपति सीको भ्रमण ऐतिहासिक र उपलब्धिमूलक हुनेछ : आनन्द पोखरेल



२५ असोज २०७६, शनिबार

चिनियाँ राष्ट्रपति सी चिनफ़िङ्गको नेपाल भ्रमण गराउनु नेपालका वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र यो सकारको महत्वपूर्ण सफलता हो। म यो भ्रमणको पूर्ण सफलताको शुभकामना समेत ब्यक्त गर्दछु। यद्दपी नेपाल र चीनको सम्बन्ध सुमधुर बन्नको लागि कतिपय समयमा भू-राजनीतिक बनोटले समेत सहयोग पुर्याएको छ। त्यसैले नेपाल-चीन सम्बन्धमा सर्वदलीय सहमति बन्नुमा भू-राजनीतिक बनोटले महत्वपूर्ण भूमिका निर्वाह गरेको मेरो ठम्याई छ ।

नेपाल र चिनियाँ कम्युनिष्ट पार्टीको बीचमा स्थापित भाईचार सम्बन्ध पछि नेपालको राजनीतिक ध्रुविकरण हुन्छ भन्ने हल्ला गर्न थालिएको छ। जसमा कुनै सत्यता छैन र त्यो हुनै सक्दैन। त्यसमा सत्यता छैन किनभने चिनियाँ कम्युनिष्ट पार्टीको सम्बन्ध नेपालका सबै राजनीतिक पार्टीहरुसँग आ-आफ्नै विशिष्टतामा आधारित छ। सम्बन्धका आयामका हिसाबले ३ किसिमका सम्बन्धहरु हुन्छन् : १. फ्याटर्नल रिलेशनशिप (भाईचार सम्बन्ध) जुन विचारमा आधारित सम्बन्ध हो। २. फर्मल रिलेशनशीप (औपचारिक सम्बन्ध) जुन नेपाली काँग्रेस र चिनियाँ कम्युनिष्ट पार्टी बीचमा समेत छ। ३. फ्रेण्डली रिलेशनशिप (मैत्री सम्बन्ध) जुन कुनै साझा हितका विषयमा आधारित सम्बन्ध हुन्छ जस्तै विकास निर्माण वा मानव अधिकारको विषयमा । यसरी हेर्दा नेपालका सबै राजनीतिक पार्टीसँग चीनको सुमधुर सम्बन्ध भएको कारण दुई पार्टी बीचको भाईचार सम्बन्धले कुनै किसिमको दरार पैदा हुँदैन र गर्दैन ।

पछिल्लो समय भारत र अमेरिकाको कारणले नेपालले चीनसँगको सम्बन्धलाई कम महत्व दिन्छ भन्ने मानसिकता समेत विकास भएको देखिन्छ। मेरो बुझाईमा त्यसमा पनि सत्यता र सम्भव छैन। नेपालमा बढ्दो चिनियाँ प्रभाव कम गर्न र चीन विरोधी गतिविधि गर्न नेपालको भूमि प्रयोग गराउने प्रयास पनि सफल हुँदैन। किनभने चिनियाँ सपनाको रुपमा रहेको बिआरआईसँग प्रतिष्पर्धा गर्न अमेरिकाले ईण्डो-प्यासेफिक स्ट्राटेजी र भारतले बिबिआइयान नामको परियोजना निर्माण गरी आर्थिक विकास, भौतिक पूर्वाधार, पारवहन र व्यापार वृद्दी गर्न जुन ढंगले प्रस्तावहरु गरिरहेको छ। असंलग्न परराष्ट्र नीतिको आधारमा नेपालले चिनियाँ पक्षसँग निर्माण गरेको पछिल्लो असल सम्बन्धकै कारण भएका हुन्।

नेपाल र चीन बीचको सम्बन्धले नेपालको सार्वभौमसत्ता,अखण्डता, राष्ट्रिय हितको लागि पनि सहयोग पुगेको छ। त्यसैले चीनसँगको नेपाली सम्बन्धलाई जनतादेखि जनतासम्म, कुटनीतिक, साँस्कृतिक सम्बन्ध मात्र नभएर रणनीतिक ढंगले पनि नेपाललाई फाईदा पुर्याउने देखिन्छ। त्यसकारण नेपालका राजनीतिक दलहरुले, सरकार र जनताहरुले चीनसँगको सम्बन्धलाई महत्व दिएका छन्।

नेपालले १ चीन नीतिलाई समर्थन गरेको छ। नेपालको माटो चीन विरुद्द प्रयोग गर्न नदिने प्रतिवद्द्तामा अडिरहेको छ। सदियौँ देखिको सम्बन्धले जुन उचाई प्राप्त गरेको छ, चीनलाई विश्वास गर्ने वातावरण बनेको छ। त्यस्तो अवस्थामा समेत चीनले नेपालका गतिविधिलाई लिएर कहिलेकाहिँ शंकाको दृष्टिकोणले समेत हेर्ने गरेको छ।

यसो हुनुमा नेपाल चीन सम्बन्धमा काम गर्ने धेरै संघसंस्थाहरु मध्ये केहि संस्था र व्यक्तिहरु छन्। जो नेपाल-चीन सम्बन्ध मजबुद बनाउन भन्दापनि बिगार्न भूमिका खेलिरहेका छन्। विभिन्न राजनीतिक आस्था भएका व्यक्तिहरु जसले चीनसँगको आफ्नो सम्बन्धलाई दरिलो बनाएका छन् उनीहरु नेपालको राजनीतिक सत्ता परिवर्तन भएसँगै नेपाल सरकारको सुसम्बन्ध बिगार्न परिचालित भएका छन्। सक्रिय छन्। त्यो विषयमा चिनियाँ सरकार र सम्बन्धित अधिकारीहरु सचेत हुनुपर्ने देखिन्छ।

उनीहरु बाहिर हेर्दा चिनियाँ पक्षधर जस्ता देखिए पनि भित्रीरुपमा नेपालका नकारात्मक कुराहरु चीनसँग लगाउने संस्कृति विकास गर्न सफल भएका देखिन्छन्। चिनियाँ नेतृत्वले यस विषयमा ध्यान नदिने हो भने नेपालबारेको सहि सूचना पाउनबाट बन्चित हुने अवस्था समेत आउने सक्छ। यस विषयमा चिनियाँहरुले विशेष ध्यान पुर्याउनुपर्ने देखिन्छ।

झट्ट हेर्दा बौद्धिक तह माथि देखिने चिनियाँ थिङ्क ट्याङ्कको रुपमा काम गर्ने पुरानो विचार भएका ब्युरोक्राट र टेक्नोक्राटहरु आफ्नो वैचारिक पृष्ठभूमीकै आधारमा सरकार परिवर्तन भएसँगै सम्बन्ध विस्तार गर्नेभन्दा कमजोर बनाउने तर्फ भूमिका खेलिरहेका छन्। त्यसकारण फ्रेन्डली अर्गानाईजेशनहरु, पिपुल्स अर्गानाईजेशनहरु र थिङ्क ट्याङ्कसँगको सम्बन्ध स्थापित गर्दा वर्गीय र राजनीतिक ढंगले पनि सोच्नुपर्ने हो कि भन्ने मेरो ठम्याई र अनुभव छ। जसको प्रभावले नेपाल र चिनियाँ सरकार पनि बेलाबेलामा प्रभावित भएको देखिन्छ। यिनै कारणहरुले गर्दा नेपाल र चीनबीच भएका सहयोग र सम्झौताको कार्यान्वयनमा ढिला भएका छन् र भविष्यमा समेत यसको प्रभाव पर्ने देखिन्छ।

त्यसकारण मित्र, सहयोगी वा साथी छान्दा समान दृष्टिकोण रहेका भएनन् भने नेपाल वा चिनियाँ सरकारले गरेका अपेक्षाहरु पुरा नहुने खतरा देखिन्छ। दुवै देशको आत्म विश्वास कमजोर हुने देखिन्छ। यसको प्रभाव बिआरआई अन्तरगत गरिएका कतिपय सम्झौताहरु नेपाली र चिनियाँ पक्षबाट समेत कार्यान्यनमा ढिला भएका छन्।

यस्ता तत्वहरुको बारेमा दुवै पक्षले ध्यान दिने हो भने नेपाल र चीन बीचको सम्बन्ध अत्यन्तै विश्वाशिलो, भरपर्दो र नमूना योग्य बन्ने छ। जसबाट दुवै देशको सार्वभौमिकताको रक्षा हुन्छ, अरुले खेल्ने खेलाउने अवस्थाको अन्त्य देखिन्छ।

(पूर्व मन्त्री तथा नेकपाका प्रभावशाली नेता आनन्द पोखरेलसँग गरिएको कुराकानीमा आधारित )

प्रतिक्रिया दिनुहोस्