२६ असोज २०७६, काठमाडौं
दर्शनका मूल प्रश्नहरूको उत्तर दिने क्रममा दार्शनिकहरू जुन दुई धारामा विभाजित भएका छन्, त्यसका आधारमा दर्शनका दुई धारा निर्माण भएका छन् । ती मुख्य धाराका बीचमा विभिन्न खालका भिन्नताहरू छन् ।
ती भिन्नतालाई संक्षिप्तमा के भन्न सकिन्छ भने सबैभन्दा पहिले भौतिकवादी दर्शनले यो भौतिक पदार्थलाई पहिलो मान्दछ र त्यसपछि मात्र चेतनाको विकास भएको बताउँछन् । भाववादी दर्शनले चेतनालाई पहिलो मान्दछ र चेतनाले भौतिक संसारको निर्माण गरेको कुरालाई मान्दछ । त्यसैगरी फेरि भाववादी दर्शनले यो संसार बुझ्न नसकिने छ भन्छ भने भौतिकवादी दर्शनले यो संसार बुझ्न सकिन्छ भन्ने कुरा गर्छ । त्यसैगरी भाववादी दर्शनले इश्वरीय शक्तिमा विश्वास गर्छ भने भौतिकवादी दर्शनले इश्वरीय शक्ति भनेको काल्पनिक शक्ति मात्र हो, यथार्थमा त्यस्तो कुनै शक्ति छैन भन्ने कुरामा विश्वास गर्छ र इश्वरीय शक्तिलाई अस्वीकार गर्छ । यसैगरी भाववादी दर्शन ईश्वरमा केन्द्रीत छ ।
इश्वर के हो, इश्वरको भूमिका के हुन्छ ? भन्ने विषयमा यो बढी केन्द्रीत हुन्छ । भौतिकवादी दर्शन भने मानव केन्द्रीत दर्शन हो । यसले मान्छेको भूमिका, अस्तित्व, विकासको बारेमा बहस गर्छ, छलफल गर्छ र धारणाहरू राख्छ । यस्तै भाववादी दर्शनले ज्ञान ईश्वरबाट प्राप्त हुन्छ भन्छ भने भौतिकवादी दर्शनले ज्ञान व्यवहारबाट प्राप्त हुन्छ भन्छ । भाववादी दर्शनले ज्ञानको स्रोत ईश्वर हो भन्छ भने भौतिकवादी दर्शनले ज्ञानको स्रोत भौतिक जगत हो र व्यवहार त्यसको माध्यम हो भन्छ । त्यसैगरी भाववादी दर्शनले समाजलाई पनि ईश्वरको रचना हो, समाज ईश्वरले बनाएको हो भन्छ भने भौतिकवादी दर्शनले समाज वस्तुगत जगतको विकासको परिणाम हो र यो मान्छेको सृजना हो भन्छ । त्यसैगरी भाववादी दर्शनले धर्ममा विश्वास गर्छ र धर्मको प्रवर्द्धन को निम्ति त्यसले योगदान पनि गर्छ भने भौतिकवादी दर्शनले विज्ञानमा विश्वास गर्छ । यसले धर्म काल्पनिक कुरा र विज्ञान तथ्यगत कुरा भएकाले तथ्यगत कुरालाई हामीले मान्ने हो भन्ने कुरामा जोड दिन्छ । त्यस्तै भाववादी दर्शनले आत्माको अमरता र पुर्नजन्ममा विश्वास गर्छ । पूर्वजन्म पनि थियो, यो जन्म पनि छ र अर्को जन्म पनि हुनेछ भन्ने तर्क भाववादी दर्शनको रहेको छ ।
भौतिकवादी दर्शनले भने आत्माको अमरता र पुर्नजन्मको सबालमा सहमति राख्दैन । यी दुई खाले दर्शनको भूमिकाको हिसाबले हेर्दाखेरि भाववादी दर्शनले समाजको मालिक वर्ग र शासक वर्गको पक्षमा आफूलाई उभ्याएको पाइन्छ भने भौतिकवादी दर्शनले श्रमजीवी वर्गको पक्षमा आफूलाई उभ्याएको छ । यसरी दुईखाले दर्शनमा विभिन्न खालका भिन्नताहरू पाइन्छ । यसरी दर्शनका दुई धाराहरू रहेका छन् र यी धाराहरूका पनि अनेक खालका उप–धाराहरू रहेका छन् । तर ती उप धाराहरुको मूल विषय चाहिँ मिल्छ । केही द्धवेतवादी दर्शन पनि छन् । भौतिक जगत र चेतना दुवैको समान अस्तित्व स्वीकार गर्ने दर्शन पनि छन् । तर अन्ततः उनीहरूको अन्तिम स्थान कहाँ हो भनेर खोज्दै जादाँ उनीहरूको मान्यता, प्रस्थापनाहरूलाई केलाउँदै जादाँ तिनीहरू दुईवटामध्ये कुनै एउटामा जान्छन् । भाववादी दर्शनलाई कसैले अध्यात्मकवादी, आदर्शवादी दर्शन पनि भन्दछन् । त्यस्तै भौतिकवादी दर्शनलाई कसैले वस्तुवादी, भावनावादी दर्शन पनि भन्छन् ।
यो पनि पढ्नुहोस्