२९ असोज २०७६, काठमाडौं
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले प्रतिनिधिसभा र प्रदेशसभाको सदस्यको उपनिर्वाचनका लागि १० कात्तिकभित्र उम्मेदवारहरुको नाम सिफारिस गरी केन्द्रमा पठाउन प्रदेश कमिटिलाई निर्देशन गरेको छ।
पार्टीको बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको सम्बन्धमा सम्बन्धीत निर्वाचन क्षेत्र स्तरको कमिटी र जिल्ला कमिटीसँग परामर्श गरि ३ जनाको नाम सिफारिस गरि १० कात्तिकभित्र केन्द्रमा पठाउन प्रदेश कमिटीलाई निर्देशन दिएको हो।
निर्वाचन क्षेत्रीय कमिटी नबनेको स्थानमा जिल्ला कमिटीले सिफारिस गर्ने तथा प्रदेशसभाको सदस्यको हकमा पनि त्यही कुरा लागु गर्ने निर्णय बैठकले गरेको सचिवालयले जनाएको छ।
स्थानीय नगरपालिका वा गाउँपालिकाहरुको मेयर, उपमेयर, अध्यक्ष र उपाध्यक्षको उम्मेदवारका लागि भने सम्बन्धीत गाउँ वा नगरकमिटी र जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीले निर्णय गर्ने पनि उनले बताए।
वडाको हकमा सम्बन्धीत वडा कमिटी वा गाउ नगरकमिटीको सिफारिसमा जिल्ला कमिटीले उम्मेदवारको चयन गर्न सक्ने गरि बैठकले निर्णय गरेको छ। उपनिर्वाचन आगामी १४ मंसिरमा हुँदैछ।
त्यसैगरी बैठकले संगठन विभागमा अष्टलक्ष्मी शाक्य, भानुभक्त ढकाल र हरि अधिकारीलाई चयन गरेको छ। यसअघि नै संगठन विभाग प्रमुखमा बामदेव गौतम र उपप्रमुखमा जनार्दन शर्मालाई सचिवालयले चयन गरिसकेको छ।
फाइल तस्वीर