०३ कार्तिक २०७६, काठमाडौं
बलात्कारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आईतबार अदालत लगिँदैछ।
अनुसन्धानका लागि म्याद थप गर्न उनलाई जिल्ला अदालत काठमाडौं लैजाने तयारी भएको हो। यसअघि गत २८ असोजमा काठमाडौं जिल्ला अदालतले महरालाई अनुसन्धानका लागि ३ दिन थुनामा राख्न अनुमति दिएको थियो।
अदालतले दिएको सो म्याद सकिएसँगै आईतबार पुनः म्याद थपको मागका लागि महरालाई अदालत लैजान लागिएको हो। थुनामा रहेका महरालाई दिउँसो अदालत लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ।
उनीमाथि संसद सचिवालयमा कार्यरत महिला कर्मचारीले बलात्कारको आरोप लगाएकी हुन्। महराले आफूमाथि १२ असोजमा बलात्कारको प्रयास गरेको भन्दै आरोप लगाउने महिलाले १८ असोजमा किटानी जाहेरी दिएकी थिइन्।
त्यसपछि महरालाई प्रहरीले १९ असोज बेलुका सभामुख निवास बालुवाटारबाट पक्राउ गरेको थियो।
फाइल तस्वीर