०३ कार्तिक २०७६, काठमाडौं
उत्तरी बुर्किनाफासोमा शनिबार अज्ञात समूहको आक्रमणबाट पाँच जना सुरक्षाकर्मीको मृत्यु भएको छ।
आक्रमणबाट चार सैनिक र एक प्रहरीको मृत्यु तथा अन्य ११ जना घाइते भएका सेनाले जनाएको छ। सेनाद्वारा जारी विज्ञप्तिमा बिहानीपख करिब ३ बजे लोरोम र यातेंगा प्रान्तमा एकै पटक आक्रमण भएको उल्लेख गरिएको छ।
सन् २०१५ देखि बुर्किनाफासोमा आतंकवादी आक्रमण हुने गरेको छ। यी आक्रमणबाट ५०० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने दुई लाख ८० हजार मानिस विस्थापित भएका छन्।
पश्चिम अफ्रिकी मुलुक बुर्किनाफासोमा पछिल्ला केही दिनदेखि आतंकवादी हमलाहरु भइरहेका छन्। अघिल्लो हप्ता पनि एक मस्जिदमा भएको घातक हमलामा कम्तीमा १५ जनाको ज्यान गएको थियो।