के दर्शन अपरिवर्तनीय हुन्छ ? (दर्शन परिचर्चा भाग–८)



०३ कार्तिक २०७६, काठमाडौं

दर्शनको चर्चा गरिरहँदा एउटा महत्वपूर्ण विषय, दर्शन स्थिर हुन्छ कि गतिशील ? भन्ने पनि हो । कतिपय मान्छेहरू चिन्तन, चेतना दर्शनहरू स्थिर हुन्छन् भन्ने मान्यता राख्छन् । तिनीहरू परिवर्तित हुँदैनन् भन्ने मान्यता राख्छन् । तर वास्तवमा त्यस्तो हुँदैन । दर्शन, विज्ञान, विचार सबै परिवर्तनशील कुराहरू हुन् । यिनीहरू पनि स्थिर हुँदैनन् । समाजको परिवर्तनसँगै दर्शनको, चिन्तनको, सिद्धान्तको, विचारको पनि परिवर्तन हुन्छ । विज्ञान पनि नयाँ आविष्कार भएपछि परिवर्तित हुन्छ । विज्ञानका मान्यता, वैज्ञानिक दृष्टि नयाँ आविष्कारसँगै परिवर्तन भएको हामीले देख्न सक्छौँ ।

दर्शनको इतिहासको अध्ययन गर्दा पनि दर्शन निरन्तर रूपमा परिवर्तन हुँदै आएको, विकसित हुँदै आएको देखिन्छ । त्यसैकारण दर्शन पनि गतिशील चिज हो, स्थिर चिज होइन । समाजको परिवर्तनसँगै दर्शनको परिवर्तन पनि अगाडि बढ्छ । जससम्म समाजमा वर्गहरू थिएनन् त्यतिबेलाको दर्शन स्वतस्फूर्त भौतिकवादी चरित्रको थियो । त्यहाँ भाववादको उदय भएको पाइदैन । समाजको इतिहाससँग चिन्तनको इतिहासलाई जोडेर हेर्दा समाज वर्गविहिन रहेको बेलाको दर्शन स्वतस्फूर्त भौतिकवादी चरित्रवादीको छ । जब समाजमा वर्गहरूको उदय हुन्छ त्यसपछि दर्शनमा पनि दुईओ्टा धाराहरू देखापर्छन् । त्यसैले दर्शन गतिशील हो, समाजको परिवर्तनसँगै यसको पनि परिवर्तन हुँदै गएको पाइन्छ । दर्शनका दुवै धारामा विकास हुँदै र विभाजन हुँदै आएको देखिन्छ । दुईमध्ये भाववादी धाराका मूलभूत मान्यतामा ठूलो परिवर्तन भएको देखिदैन । तर भौतिकवादी दर्शन धारामा भने मूलभुत मान्यतामै परिवर्तन र विकास भएको पाइन्छ । त्यसरी हेर्दा भौतिकवादी दर्शनको परिवर्तनका विभिन्न सरणहरू रहेको मानिन्छ । सबैभन्दा सुरुको चरणलाई स्वतस्फूर्त प्रकृतिवादी भौतिकवाद भनिन्छ । त्यसको अर्थ हो सुरुमा संसारका दार्शनिकहरू जे देख्थे त्यहि भन्थे । तिनीहरूले प्रकृतिका नियमसँग आधारित भएर चिन्तन गरेको देखिन्छ । त्यो चरण निकै लामो समयसम्म रह्यो ।

जब समाजमा यन्त्रको माध्यमबाट उत्पादनका कामहरू गर्न थालियो त्यसपछि भौतिकवादी चिन्तनमा एउटा नयाँ कुरा थपियो । त्यो चिन्तनले समाजलाई पनि एउटा यन्त्रको रूपमा हेर्न थाल्यो । यन्त्र जसरी कसैले चलाएपछि चल्छ, यो समाज पनि त्यसरी नै कसैले चलाएपछि चल्छ भन्ने हिसाबले विश्लेषण गर्न थालियो । त्यो चरणको भौतिकवादलाई यान्त्रिक भौतिकवाद भनिन्छ । त्यसबेला ढुङ्गामा पनि चेतना हुन्छ भन्ने भौतिकवादी धारणाको समेत विकास भएको थियो । त्यसले चेतना स्वयम पदार्थ हो पनि भन्थ्यो । पछिल्लो विकसित भौतिकवादले चेतना पदार्थको गुण हो भन्छ । त्यसबाट अगाडि बढेर विकसित भएको तेस्रो चरणलाई अभिभूतवादी भौतिकवाद भनेर चिनियो । जसले पदार्थमा गति भएको कुरा त देख्थ्यो तर त्यो गतिले परिवर्तन ल्याउँछ भन्ने कुरा चाहिँ बुझ्दैनथ्यो ।

संसारका सबै वस्तुलाई यसले पृथक–पृथक र स्वतन्त्र रूपमा हेथ्र्यो । तिनीहरूको अन्तरसम्बन्ध छ भन्ने कुरालाई बुझ्दैनथ्यो । त्यो खालको भौतिकवादी धारणा विकास भएको थियो । त्यसबाट अझै अगाडी बढेर द्धन्द्धात्मक भौतिकवाद प्रकट भयो । जसको प्रतिपादन कालमाक्र्सले १९ औँ शताब्दीको मध्यकालमा गरेका थिए । त्यसले यो सारा संसारका वस्तु र घटनाहरू गतिशील हुन्छन् र परिवर्तनको प्रक्रियामा हुन्छन् भनेर भन्दछ । यसलाई अर्को हिसाबमा भन्ने हो भने यो दर्शनले संसारका वस्तु र घटनालाई या जीवन र जगतलाई पदार्थमा रहेको द्धन्द्धात्मक गतिका आधारमा हेर्ने, बुझ्ने र व्याख्या गर्ने गर्दछ । पदार्थमा जुन गति छ, त्यो द्धन्द्धात्मक प्रकृतिको छ । त्यहि गतिका कारणले संसारका वस्तुमा परिवर्तन हुने हो । प्रकृति, समाज, जीवन र चिन्तन सबैको उत्पति, विकास र परिवर्तनको मूल कारण या मूल आधार पदार्थमा रहेको द्धन्द्धात्मक गति हो ।

यो सबैभन्दा विकसित र वैज्ञानिक चरित्रको भौतिकवादी दर्शन हो । यसरी भौतिकवादी दर्शनमा श्रृङ्खलाबद्ध ढङ्गले विकास भएको देखिन्छ भने भाववादी दर्शनमा पनि विकास भएर आएको नै देखिन्छ । तर त्यसका मूलभुत मान्यतामा आधारभूत परिवर्तन नभएको हुनाले यसरी भौतिकवादको जस्तो चरणबद्ध विकास त्यहाँ देखिदैन तर त्यहाँपनि कतिपय मान्यताहरूमा परिवर्तन भएर आएको देखिन्छ । यसका आधारमा के भन्न सकिन्छ भने दर्शन भनेको पनि कुनै स्थिर चिज होइन गतिशील चिज हो र समाजमा हुने परिवर्तनसँगै यसमा पनि परिवर्तन हुन्छ ।

प्रतिक्रिया दिनुहोस्