सांसद आलमको थप ५ दिन हिरासतमै



०३ कार्तिक २०७६, काठमाडौं

अदालतले सांसद मोहम्मद आफताब आलमलाई थप ५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

जिल्ला अदालत रौतहटले सांसद आलमलाई थप ५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति प्रहरीलाई दिएको हो। प्रहरीले म्याद थपका लागि उनलाई अदालतमा पेश गरेको थियो।

झण्डै दुई दर्जनलाई ईटाभट्टामा ज्यूँदै जलाएर हत्या गरेको आरोप खेपिरहेका रौतहटबाट निर्वाचित सांसद आलमलाई उक्त प्रकरणको अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको थियो।

उनीमाथि विसं २०६४ सालको संविधानसभाको निर्वाचनताका बुथ कब्जा गर्ने उद्देश्यले बम बनाउन लाग्दा विस्फोट भइ घाइते भएकाहरुलाई ज्यूँदै ईटाभट्टामा जलाएर हत्या गरेको आरोप लागेको छ।

यसअघि जिल्ला अदालत रौतहटले आलमलाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएको थियो। तर, उक्त अवधिमा अनुसन्धान कार्य पूरा नभएपछि प्रहरीले म्याद थपका लागि आलमलाई पुनः अदालतमा उपस्थित गराएको हो।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्