०६ कात्तिक २०७६, लिस्बन
अटिजम एस्पेक्ट्रम डिसअर्डर भएका एक नेपाली बालकले नेपाली राष्ट्रिय झन्डा बोकेर लिस्बन म्याराथुन पुरा गरेका छन् ।
पोर्चुगलमा भएको लिस्बन मिनी म्याराथनमा ७ वर्षे युरेशले आफ्ना भाई युरेकको साथमा दौड पूरा गर्न सफल भएका हुन् । लिस्बन मिनी म्याराथुनमा भाग लिने दुईजना मात्रै नेपालीहरु युरेश र युरेक रहेको आयोजक म्याराथन क्लब पोर्चुगलले जनाएको छ ।
म्याराथन क्लब पोर्चुगलको आयोजनामा शनिबार राजधानी लिस्बनमा भएको “ईडीपी मिनी च्याम्पियन्स म्याराथन” मा ७ बर्षीय युरेश पाण्डेयले आफ्ना ५ बर्षीय भाई युरेकको साथमा २ किमी दौड पूरा गर्न सफल भएका हुन् ।
युरेशमा अटिजमको पहिलो लक्षण तीन बर्षको उमेरमा देखिएको उनका पिता गणेश पाण्डेय बताउँछन् । बोल्न नसक्ने बौद्धिक अपागंता भएका आफ्ना छोराले मिनी म्याराथनमा सहभागी भई दौड पूरा गर्दा आफूलाई निकै खुशी लागेको पाण्डेले बताए ।
युरेश र युरेक दुबै दाजुभाइले नेपालको राष्ट्रिय झण्डासहित प्रतियोगितामा सहभागी भएका थिए । ४ देखि ७ बर्ष सम्मका झण्डै ५ सय बालबालिकाहरुबीच भएको प्रतियोगितामा दौड पूरा गर्ने बालबालिकाहरुलाई मेडल प्रदान गरिएको थियो ।
बालबालिकाहरुलाई खेलकुदमा प्रोत्साहन गर्नका लागि क्लबले हरेक बर्ष बालबालिकाहरुका बिच दौड प्रतियोगिता आयोजना गर्दै आएको छ । युरेश र युरेक दुबै दाजुभाई आगामी मार्चमा अर्को म्याराथनमा सहभागी हुने तयारीमा छन्।