छात्रालाई ज्यूँदै जलाउने १६ जनाविरुद्ध मृत्युदण्डको फैसला



०७ कार्तिक २०७६, काठमाडौं

बंगलादेशको एक अदालतले एक छात्रालाई जीवितै जलाएको अभियोगमा दोषी ठहर गर्दै १६ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ।

शिक्षकले आफूलाई यौन दुर्व्यहार गरेको आरोप लगाएकी १९ वर्षीया नुसरतलाई ज्यूँदै जलाएको भन्दै अदालतले उनीहरुविरुद्ध मृत्युदण्डको सजाय सुनाएको बीबीसीले जनाएको छ।

नुसरतको गत अप्रिल महिनामा फेनी नगरमा हत्या भएको थियो। उक्त नगर राजधानी ढाकादेखि १६० किलोमिटर पर पर्छ। नुसरतले यौन दुर्व्यवहार गरेको आरोप लगाएका प्रधानाध्यापकबाहेक उनका दुई सहपाठी छात्रा पनि हत्यामा संलग्न भएको अदालतले ठहर गरेको छ।

नुसरतको मृत्युको घटनाले बंगलादेशलाई स्तब्ध बनाएको थियो। त्यसपछि उनलाई न्यायको माग शृखंलाबद्ध प्रदर्शनहरू भएका थिए। यस्ता खालका मुद्दाको किनारा लाग्न वर्षौं लाग्ने गरेको बंगलादेशमा नुसरतको मुद्दा अदालतले निकै छोटो समयभित्रै छिनिदिएको हो।

अभियोजनकर्ता हाफेज अहमदले संवाददाताहरूसँग कुरा गर्दै यो प्रकरणले हत्या गर्ने कोही पनि बंगलादेशमा सहजै उम्किन नसक्ने तथ्यांकलाई प्रमाणित गरिदिएको बताए।

प्रतिक्रिया दिनुहोस्