०७ कार्तिक २०७६, काठमाडौँ
नेपालकै पहिलो मौलिक गायन रियालिटी शो नेपाल लोक स्टार को भोलि ग्राण्ड फिनाले हुदैँछ । लोकगीतको सम्मान गर्दै करिब ३ महिना अघिदेखि नेपाल लोक स्टार प्रशारण सुरु भएको हो ।
नेपाल लोक स्टार मा निर्णायकको रुपमा वरिष्ठ कलाकार तथा गायक जयनन्द लामा, मिठो स्वरका धनी रामजी खाँड, चर्चित गायिका सुनिता दुलाल र वरिष्ठ संगीतकार बिबी अनुरागी रहेका थिए । अडिसन देखि विभिन्न राउण्डहरु पार गर्दै नेपाल लोक स्टार को ग्राण्ड फिनालेमा ४ प्रतिस्पर्धी पुग्न सफल छन् ।
फिनालेमा रामकुमार नेपाली (रामेछाप), शनि विश्वकर्मा (रोल्पा), चेतन गोतामे (स्याङ्जा) र बिनोद दनुवार (उदयपुर) पुग्न सफल भएका छन् । आफ्नो मौलिक आवाजका कारण जज र जनताको मन जितेर फाइनलमा पुगेका यी प्रतिस्पर्धीलाई अहिले अत्याधिक भोटको आवश्यक छ ।
भोलि अर्थात कार्तिक ८ मा भृकुटीमण्डप मा हुन लागेको ग्राण्ड फिनालेबाट नेपालले नेपालकै पहिलो मौलिक आवाज पाउनेछ । ४ जना प्रतिस्पर्धी नै आफ्नो ठाउँमा निकै अव्वल गायक हुन् । हुन त दर्शकको मन जितेर यो स्थानसम्म आइपुग्नु नै जिते सरह नै हो । तरपनि कार्यक्रमको नियम अनुसार नेपाल लोक स्टार १ जना घोषणा हुन्छ नै ।
यस्तै नेपाल लोक स्टार को विजेताले ५० लाख, दोस्रोले २५ लाख, तेस्रोले १० लाख र चौथो अर्थात सान्त्वना हुनेले ५ लाख प्राप्त गर्नेछन् । आफ्नो मनपर्ने प्रतियोगीलाई जिताउनको लागि दर्शकले एसएमएस र आइएमइ पे को एपमार्फत भोट गरेर सहयोग गर्न सक्नेछन् ।