०७ कार्तिक २०७६, काठमाडौं
सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जनताले लडेर ल्याएको प्रजातन्त्र अराजकताका लागि नभएको बताएका छन्।
बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै उनले जहाँ जे बोले पनि हुने गरी नेपाली समाज जंगली नभएको उल्लेख गरे। ‘सामाजिक संजाल र भाषाबारे नेपाली शब्द कोष हेर्नुहोस्। नेपाली समाज जंगली होइन, जहाँ जे बोले पनि हुने’, उनले भने, ‘गाउनै नपाउने भनेको छ र? के तपाईँ उनीहरुले गाएका गीत परिवारसँग राखेर सुन्न सक्नुहुन्छ? त्यस्ता गीत सुन्दा–हेर्दा कतै अनुहार लाजले रातै हुन्छ कि? कतै मुख थुन्नुपुर्ने वा हातले छोप्नुपर्ने हुन्छ कि?’
मन्त्री बाँस्कोटाले लुगा लाउनुपर्ने स्वतन्त्रता सबैलाई भएको बताउँदै तर हरेकले सामाजिक मूल्य मान्यताको पालना गर्नुपर्ने बताए। ‘कुनै पनि समाजको मूल्य पद्धति हुन्छ, त्यसलाई भत्काउन नखोजौँ। हामीले उठ् भने उठ बस् भने बस भनेको होइन’, उनले भने, ‘कला, गला, साहित्य या आविष्कारमा योगदान दिने हो भने गर्नुस्। नगर्नु भनेकै कुरा नगरी हुन्न भन्ने हो भने त मान्छे मारेर जलाएको पनि ठीकै छ, मनपरी गरेको पनि ठीकै छ, अर्काका छोरी चेली झम्टेको पनि ठीकै छ भन्नुपर्यो।’
उनले सामाजिक मूल्य मान्यता र पद्धति भत्किने गरी नाङ्गै हिँड्न खोजेपछि प्रहरीले समातेको बताए। ‘नाङ्गै हिँड्न पाउनुपर्छ भन्दै हिँडेपछि त समात्नुपर्यो नि’, उनले भने, ‘तपाईँले गरेको कामले अर्काले आँखा छोप्नुपर्छ भनेपछि समात्नुपर्यो नी। सामाजिक मूल्य मान्यता र मर्यादालाई कसैले लत्याउनु त भएन?’
फाइल तस्वीर