०८ कार्तिक २०७६, काठमाडौं
कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले आलोपालो प्रधानमन्त्री बन्ने सहमति नभएको दावी गरेका छन्।
रक्षामन्त्रीसमेत रहेका पोखरेलले शुक्रबार विराटनगरमा पत्रकारहरुसँग कुराकानी गर्दै यस्तो बताएका हुन्।
“सहमतिकै आधारमा पार्टी चलेको छ। सहमतिअनुसार नै दुई जना अध्यक्ष बनेर चलिरहेको छ।” उनले भने, ‘आलोपालो प्रधानमन्त्री बन्ने विषयमा कुनै किसिमको संस्थागत सहमति छैन।’
उनले आवश्यकताअनुसार पार्टीले जो कोही नेतालाई कामको जिम्मेवारी दिन सक्ने बताए। पार्टी एकता राष्ट्रिय आवश्यकता र जनताको चाहनाले भएको हुँदा यसलाई आँच पुर्याउने काम कसैले गर्न नहुने पोखरेलको भनाइ थियो।
‘दुई वटा पार्टी अलग–अलग पृष्ठभूमिबाट आएर एकता भएकाले विभिन्न विषयमा छलफल र भनाभन हुन सक्छ, त्यसलाई अस्वाभाविक नमान्न सबैलाई आग्रह छ।’ उनले भने।