१२ कार्तिक २०७६, काठमाडौं
किराँत रदु नाछिरिङ साखाम केन्द्रले यस वर्षको देउसी भैलो मनाएको छ।
सोमबार चाबहिलस्थित ए वान पार्टी प्यालेसमा मनाएको देउसी भैलोमा नाछिरिङ राईहरुको भाषा संस्कति झल्काउने गीत तथा नृत्य प्रस्तुत गरिएको थियो।
साखामको केन्द्रीय अध्यक्ष सकल बहादुर नाछिरिङको सभापतित्वमा मनाइएको कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति, सोलुखुम्बुका अध्यक्ष वीरकुमार राईले साखामले गरेको हरेक कामहरु सराहनीय भएको बताए। साथै आफ्नो भाषा, संस्कृतिलाई बचाउनमा साखाम लागिपरेकोमा हौसला समेत दिए।
कार्यक्रममा सरोकारवाला, नाछिरिङ राई, गैह्रनाछिरिङ तथा संचारकर्मीहरुको उल्लेख्य उपस्थिति थियो। साथै कार्यक्रममा श्रष्टा, सर्जक तथा कलाकारहरुलाई सम्मान पनि गरिएको थियो।
रिदुमखिम निर्माणार्थ आर्थिक संकलन हुँदै
कार्यक्रमबीच किराँत नाछिरिङ जातिहरुको इतिहासमै पहिलो मुन्धुम(रिदुम)खिम निर्माणको लागि जग्गा खरिद एवं खिम(घर) निर्माणार्थ स्थापना हुन लागेको आर्थिक संकलनको लागि समेत अपिल गरिएको थियो।
खिम निर्माणको लागि आर्थिक संकलनको लागि दीपक नाछिरिङको संयोजकत्वमा २७ सदस्यीय उपसमितिसमेत बनाइसकिएको कार्यवाहक महासचिव जमानसिंह राईले बताए।
सोमबारको देउसी भैलोबाट उक्त शिर्षकमा ७ लाख ८० हजार रुपैयाँ रकम संकलन भएको साखामले जनाएको छ।
सामाजिक सुरक्षा कोष स्थापना
खासामले सामाजिक सुरक्षालाई मध्यनजर गर्दै सामाजिक सुरक्षा कोष पनि स्थापना गर्ने भएको छ।
जसका लागि सोमबारको देउसी भैलोबाट १ खाल २० हजार रुपैयाँ रकम संकलन भएको साखाम केन्द्र, विद्यार्थी संगठनका उपाध्यक्ष तेज किराँतीले जनाकारी दिए।
साखाम कस्तो संस्था हो?
किराँत रदु नाछिरिङ साखाम केन्द्र आफ्नो भाषा, संस्कृति, रीति–रिवाज तथा रहनसहनलाई पछिसम्म बचाइराख्नको लागि स्थापित संस्था हो।
नाछिरिङ समुदायको साझा भवन निर्माण गरी जन्म, मृत्यु, विवाह संस्कार, चाढ पर्व, साकेला(उधौली, उभौली, पितृ संस्कार, चुला पूजा, प्राकृतिक पूजा, न्वागी)आदि नाछिरिङ राईहरुसँग जोडिएका संस्कारलाई निरन्तरता दिने उद्देश्यसहित स्थापित संस्थाको भावी योजना अझ धेरै रहेको छ।
खिम निर्माणार्थ तथा संस्थाको ऐतिहासिक योजनाबारे विस्तृत विवरण यहाँ छ।