१५ कार्तिक २०७६, काठमाडौं
यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको काठमाडौं जिल्ला अदालतमा बयान सुरु भएको छ।
न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासमा महराको बयान सुरु भएको हो। थुनछेक बहसपछि धरौटी, तारेखमा छुट्ने वा पुर्पक्षको लागि थुनामा पठाउने टुंगो लाग्नेछ।
अहिले बयानका लागि महरालाई अदालतमा उपस्थित गराइएको छ। महराविरुद्ध काठमाडौं जिल्ला अदालतमा साढे सात वर्ष कैद सजायको माग दावीसहित जिल्ला सरकारी वकिलको कार्यालयले अभियोग पत्र दर्ता गरेको थियो। महराविरुद्ध जबरजस्ती करणी उद्योग अन्तर्गत अभियोगपत्र दर्ता भएको हो।
मुलुकी अपराध संहिताअनुसार जबरजस्ती करणी उद्योगमा दोषी पाइएमा ७ देखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। तर करणी उद्योगमा त्यसको आधा सजाय हुने कानुनी व्यवस्था छ। महरालाई पदीय दुरुपयोग गरेको आरोपमा थप डेढी सजायको व्यवस्था रहेकाले त्यसैअनुसार सजायको माग दावी गरिएको छ।
संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले बलात्कार प्रयास गरेको आरोप लगाएपछि महरा असोज १९ गते पक्राउ परेका थिए।
यसैबीच आरोपी शाहीले नै आफूलाई महराले बलात्कार प्रयास नगरेको भन्दै अदालतमा निवेदनसमेत दिएकी छिन्।
फाइल तस्वीर