१५ कार्तिक २०७६, काठमाडौँ
चलचित्र पोई पर्यो काले ले निकै सानदार व्यापार गरेको छ । तिहारको अवसर पारेर कार्तिक ८ गतेबाट प्रदर्शनमा आएको चलचित्र पोई पर्यो काले ले सार्वजनिक विदाको खुबै फाइदा उठाएको छ ।
चलचित्रले एक हप्तामा ३ करोडभन्दा माथिको व्यापार गरेको बताइएको छ । सुरुवाती दिनमा पोई पर्यो काले को व्यापार त्यति राम्रो थिएन । त्यसैकारण पनि पोई पर्यो काले ले यति छिट्टै यति राम्रो पिकअप लिएको भनेर पत्याउन गाह्रो हुन्छ । तर वितरकले नै चलचित्रको एक हप्ते कमाई ३ करोड बढी भएको दाबी गरेका छन् ।
काठमाडौं उपत्यकाभित्रका वितरक करण श्रेष्ठ ‘क्रेजी’ ले फिल्मले एक हप्तामा काठमाडौंभित्र १ करोड ९५ लाखको व्यापार गरेको बताएका छन् । त्यस्तै, उपत्यका बाहिरका वितरक रोहित कट्टेलले फिल्मको एक हप्ते कमाई १ करोड १० लाख रहेको दाबी गरे । शिशिर राणा निर्देशित फिल्ममा पूजा शर्मा, सौगात मल्ल, आकाश श्रेष्ठ, श्रृष्टि श्रेष्ठको प्रमुख भूमिका छ । शुक्रबारबाट यो फिल्मले दोस्रो सातामा प्रदर्शन थालेको छ ।