१५ कात्तिक २०७६, काठमाडौं
अहिलेको दक्षिणकाली नगरपालिका वडा नं.३ मा जन्मनु भएका डा. बद्री केसी बुवा कृष्ण बहादुर खत्री र आमा कान्छी खत्रीका ६ सन्तान मध्ये चौथो सन्तानको रुपमा २०२७ असोज २९ गते जन्मनुभएको हो ।
आफ्नै गाउँको स्कूलबाट ७ सम्म अध्ययन गर्नुभएका केसीले फर्पिङमा रहेको क्याम्पसबाटै आईए उत्तीर्ण गर्नुभयो । २०४६ सालको जनआन्दोलनमा विद्यार्थी हुँदै सक्रिय रहेका केसीले आन्दोलनपछि भने आफ्नो पढाईलाई ध्यान दिनुभयो ।
सन् १९९० मा रसिया छिर्नुभएका डा. केसीले त्यहिँबाट १९९६ मा एमए र १९९९ मा कम्युटर इन्जिनियरिङमा पिएचडी गर्नुभएको छ । गैरआवासीय नेपाली संघको विभिन्न नेतृत्वमा रहेर काम गर्नुभएका डा. केसी संघको कोषाध्यक्ष, २ कार्यकाल महासचिव र अहिले उपाध्यक्षको रुपमा लोकप्रिय मत सहित विजयी भएका हुन् ।
संघको योजनाकारको रुपमा रहनुभएका डा. केसीसँग उहाँको व्यक्तिगत जीवन संघर्ष, व्यवसायिक आवद्धता र संघको वर्तमान र भावी योजनाबारे परिवर्तन खबरले गरेको कुराकानी :
त्यो बेला छात्रवृतिमा रसिया कसरी जान सकिन्थ्यो र तपाई कसरी जानुभयो ?
रसिया दुई किसिमले जान सकिन्थ्यो । रसियन कल्चर सेन्टर र शिक्षा मन्त्रालय मार्फत । रसियन कल्चर सेन्टरले पार्टीमा आबद्ध मानिसहरुलाई मात्र पठाउँथ्यो भने शिक्षा मन्त्रालयले बढी नम्बर ल्याउने विद्यार्थीहरुलाई पठाउँथ्यो । त्यसबेला हाम्रो ब्याचको म टपर नै थिए । त्यसैले म शिक्षा मन्त्रालय मार्फत पढ्नको लागि रसिया जान सफल भएँ ।
त्यतिबेला रसिया जान भाषाको समस्या पर्दैनथ्यो ?
रसिया पुगेपछि १ बर्षसम्म भाषा नै पढाइन्छ । त्यसपछि मात्र कोर्स सुरु गरिन्छ ।
शुरुवाती समय तपाईले कसरी बिताउनुभयो ?
सन् १९९० मा म रसिया जादाँ सोभियत संघकै समय थियो । त्यहाँ सरकारले दिएको खर्चले १ हप्ता पनि खाना खान पुग्ने अवस्था थिएन । नेपालबाट परिवारले पैसा पठाउन नसक्ने भएपछि हामीले बाध्य भएर काम खोज्नुपर्यो । मैले सन् १९९३ देखि काम गर्न सुरु गरेको थिए । रातमा म गार्डको रुपमा काम गर्थे र दिनमा कलेज जान्थे ।
शुरुमा के काम गर्नुभयो र कति कमाउनु हुन्थ्यो ?
रसियनहरुको कम्पनीमा रातको समयमा गार्डको काम गर्थे । त्यसबाट ५० डलर जति कमाउँथे ।
त्यतिबेला रसियाको सुरक्षा अवस्था कमजोर थियो र ?
जुनसुकै ठाउँमा पनि सेक्युरेटी त चाहिन्छ नै । त्यो बेला परिवर्तनको समय भएकाले रसिया आतंकमय अवस्थामा थियो । त्यहाँ गुन्डाहरु राज्य व्यवस्था भन्दा माथि थिए । त्यसैले त्यहाँ सेक्युरिटीको अवस्था निकै फितलो थियो ।
कम्युनिष्ट सत्ता ढलेपछि छात्रवृतिमा गएकाहरुलाई असर पर्यो कि परेन ?
कम्युनिष्ट सत्ता ढलेर सोभियत संघ १५ वटा देशमा विभाजन भयो । त्यसपछि सोभियत संघको पुरै दायित्व रुसले ग्रहण गर्यो । त्यसमा विदेशी विद्यार्थीलाई पढाउनेदेखि लिएर वैदेशिक ऋणको जिम्मा समेत रुसले लियो । त्यसबेला म रुसमा नै पढेकोले सत्ता परिवर्तनले मलाई खासै असर गरेन ।
तपाईको पढाई चाहिँ कसरी अघि बढ्यो ?
स्कलरसीप मार्फत सन् १९९६ मा मास्टर्स र सन् १९९९ मा पिएचडी गरेको हुँ ।
अर्काकोमा काम गर्दै गर्नुभएको तपाइँ कसरी आफ्नै व्यवसाय सुरु गर्ने सोचमा पुग्नुभयो ?
पिएचडी गर्नको लागि समय दिन पनि नभ्याउने भएको कारण सन् १९९७ मा नै मैले पहिलेको काम छोड्दिएको हुँ । सोहि वर्षदेखि साथीहरुसँग आफ्नै इलेक्ट्रोनिक पसल सुरु गरेको थिए । त्यसबेलाको व्यापार भनेको मलाई पैसा कमाउन भन्दा पनि जिउनको लागि थियो । मैले पिएचडी सक्ने बेलासम्म धेरै क्षेत्रको ब्यापार गरेँ । त्यी सबै जिउनकै लागि थिए । एउटा स्थापित व्यापारी हुने लक्ष्य कहिल्यै पनि थिएन । तर यो बिचमा मैले विवाह गरे । त्यसपछि मेरो छोरी पनि जन्मिइन् । त्यसपछि भने मैले मेरो परिवार पनि धान्न पर्ने भएकाले मेडिसिनको व्यापार सुरु गर्नुपर्यो । त्यसपछि निकै ध्यान दिएर व्यापारमा लागेँ । जुन व्यापार अहिलेसम्म पनि निरन्तर गरिराखेको छु ।
पिएचडी गरेपछि तपाईको डिमाण्ड त बढ्यो होला नि ?
पिएचडी गर्ने मान्छे नेपालमा एकदम कम छन् । तर रसियामा भने प्रशस्तै छन् । त्यस हिसाबले पिएचडी पछि मैले टिचिङ गर्न सक्थे । त्यसो गर्न चाहिन ।
त्यसोभए विवाह गरिसकेपछि बद्रीलाई पैसा कमाउनु पर्छ भन्ने भावना आयो ?
हो ! सच्चाई त्यहि नै हो । विवाहपछि म मा जिम्मेवारी बढेको थियो । मैले मेरो परिवार पनि हेर्नुपर्ने भएकाले व्यापारतिर लागे । रसिया लार्जेस्ट ड्रिङकिङ देश हो । त्यसपछि हामीले चाइना, इन्डियाबाट चिया ल्याएर त्यहाँ फ्याक्ट्री नै सुरु गर्न थाल्यौँ । अहिले समेत त्यहीँ पेशालाई नै निरन्तरता दिइरहेका छौँ ।
को–को भएर सुरु गर्नुभएको थियो ?
म र एकजना साथी हुनुहुन्थ्यो । उहाँले पनि कम्युटर इन्जिनियरिङमा पिएचडी गर्नुभएको छ । उहाँको नाम एकनारायण चापागाई हो ।
अहिले तपाईको प्रोपर्टी कत्ति छ भन्न मिल्छ ?
खान लाउन र बच्चाहरुलाई पढाउन पुग्ने । नेपालमा घरपरिवारलाई समेत सहयोग गर्न पुग्नेछ । खासमा बिजनेश प्रपोटीको भ्यालु हुदैँन । अहिले हामीले हाम्रो बिजनेश ५ देशहरुमा मिलेर अगाडि बढाईरहेका छौँ ।
यहाँको विजनेश अहिले के–के छ ?
रसियामा चिया नै मुख्य हो । नेपालमा हामीले हाइड्रोपावर सम्बन्धी काम गरिरहेका छौँ ।
युक्रेनमा त हानाहान हुन्छ रे त्यसले तपाईको व्यापारलाई असर गर्दैन ?
हाम्रो छुट्टै अफिस छ । राजनीति कुराले खासै असर पर्दैन ।
अहिले यहाँको व्यवसायबाट रसियामा कति मानिसले रोजगारी पाएका होलान् ?
लगभग ५०० जति होलान् । त्यसमध्ये हाम्रो अफिसमा करिब ३० जना जति नेपाली पनि छन् ।
पढाई सकेर नेपालमा केहि गरौँ भन्ने लागेन ?
म सन् १९९६ मा मास्टर्स सकेर नेपालमै केही गरौँ भनेर आएको थिए । त्यो बेला नेपालमा परिवर्तनको समय थियो । त्यसकारण आउनासाथ जागिर पनि पाइएन । त्यसमाथि पिएचडि गर्ने अफर आएको कारण म रसिया नै फर्केको थिए । सन् २००१ मा म फेरि फर्केर नेपाल आए । ५/६ महिना यतै बसेर यहाँको बारेमा अध्ययन गरे । तर मेरी श्रीमती विदेशी परिन् । नेपालमा बसेर विदेशी श्रीमती पाल्नु भनेको हात्ती पाल्नु सरह हो । त्यसमाथि यहाँ द्वन्दकालिन अवस्था भएका कारण यहाँ सेटल हुन सकिन र म फर्के ।
अहिले यता सेटल नभएकै ठिकै भएछ भन्ने लाग्दैन कहिलेकाहिँ ?
त्यो बेलामा नेपालमा केही अवसर भएको भए यतै सेटल हुन्थे । त्यहीँ कुरामा अलि चिन्तित छु । अहिले नेपालमा धेरै अवसरहरु छन् । हामीले समयको कारण उतै बसोवास गरेकाले नेपालमा अवसरहरु गुमाइरहेका छौँ । त्यो हिसाबले नेपालमा सेटल हुन नसकेकोमा मलाई अपसोच नै लाग्छ ।
अब यहाँको एनआरएनए अभियानको विषयमा केहि बताइदिनुहोस् न ?
एनआरएनए स्थापना भएको पनि हामी नेपालीलाई नेपालले हुर्काईदियो । देशको लागि केहि गर्नुपर्छ भन्ने भावनाले सुरु गरेका हौँ । देशलाई कसरी राम्रो बनाउन सकिन्छ भनेर नै हामीले एनआरएनको थालनी गरेका थियौं । यसमा हामी सबैको लगानी छ । यो म एउटाको मात्र सफलता होइन । हामी सबैको हो । यो सफलता पछाडि धेरै मानिसले दुस्ख गरेका छन् ।
नेपालमा रहेर नेपाली आखाँले हेर्दा हिजो एनआरएनले लगानी ल्याउँछ भन्ने बुझाई थियो, पछिल्लो केही घटनाक्रमहरुले त एनआरएनप्रति धेरै गुनासोहरु बढेका छन् नि ?
पछिल्लो समयमा नेपालमा राजनीतिक दलहरुको ठूलो घुइचो लागेको छ । जसले धेरै प्रभावहरु पारिरहेको छ । ८० लाख नेपालीहरु बाहिर हुँदा हामीले अहिले विदेशमा बस्दापनि नेपाली नागरिकता नत्यागेका व्यक्तिले नेपालको भएका निर्वाचनमा भाग लिन पाउनुपर्छ भन्ने हाम्रो एजेन्डा छ । त्यो एजेन्डालाई सर्वोच्च अदालतले पनि हाम्रो पक्षमा फैसला गरिदिइसकेको छ । प्रवासमा बस्ने नेपालीहरुले चुनावमा भाग लिन पाए भने नेपालको राजनीतिक दलको चुनावमा केही परिवर्तन आउन सक्छ । त्यसैकारण पनि अब एनआरएनलाई राजनीतिक प्रभाव पार्नुपर्ने देखिन्छ । अर्को कुरा हामी विदेशमा गएर नेपालमा जे पढिरहेका थियौँ । विदेशमा पनि त्यहिँ राजनीतिक दलहरुसँग मिलेकै छौँ । विभिन्न जातीय संघसस्था खोलेका नै छौँ । यो एनआरएनए चाहिँ धार्मिक र सांस्कृतिक संस्थाभन्दा माथि हुनुपर्छ भनेर भनेका छौँ । त्यसैकारण संसारको सबैभन्दा ठूलो संस्थाको रुपमा एनआरएन स्थापित भएको छ । यति ठूलो संस्था संसारको कुनैपनि मुलुकमा छैन । अहिले हामीसँग भएको सञ्जाललाई राम्रोसँग म्यानेज गर्नु हाम्रो लागि च्यालेन्ज नै हो । संख्याको रुपमा जति हामी अघि बढेका छौँ क्वालिटीको रुपमा भने हामी त्यति अघि बढ्न सकेका छैनौँ ।
तपाई नेपालका राजनीति दलहरुले परिचालन गर्न खोजे भन्नु हुन्छ ? तर एनआरएनकै अध्यक्षको उम्मेद्वारले नै म कांग्रेसको उम्मेदवार हुँ भनेर घोषणा गर्नुभयो भनेर पत्रपत्रिकामा आएको छ ?
सायद उहाँले भनेको गलत बुझ्नुभयो होला । मलाई लाग्छ, उहाँ कुनैपनि पार्टीको उम्मेदवार नभएर एनआरएनकै उम्मेदवार हुनुहुन्थ्यो । कांग्रेस पार्टीले हामीलाई नाङ्गो पार्न लागेको थियो, कांग्रेसका केन्द्रिय नेताहरुले हामीलाई कुनैपनि समस्या दिनुभएको थियो भन्ने कुरा गलत हो । त्यस्तो केहीपनि भएको थिएन । अध्यक्षलाई यदि कांग्रेको सपोर्ट थियो भने अहिले उहाँ कांग्रेसमा नै हुनुहुन्थ्यो होला नि ।
अब यसमा हार्नेले चाहिँ आरोप लाउने, जित्नेले चाहिँ चोखिने कुरा हुन्छ । खासमा वर्तमान अध्यक्ष कुमार पन्तको राजनीतिक पृष्ठभूमि के हो ?
व्यवहारको हिसाबले कुनैपनि व्यक्तिलाई राजनीतिक रङ लगाइदिनु चाहिँ स्वभाविकै हो । विचार प्रति कुनैपनि व्यक्ति स्वतन्त्र हुन्छ । उसको आफ्नै विचारधाराहरु हुन्छन् । त्यो विचार कसैसँग मिल्नु आपत्तिको विषय होइन । तर उहाँले एनआरएनमा पार्टीको कुनै एजेन्डालाई लिएर गएको छ कि छैन हामीले हेर्नुपर्ने हुन्छ । म उहाँलाई धेरै अगाडीदेखि चिन्छु । उहाँले एनआरएनमा कुनै पार्टी समातेर अघि बढ्नुभएको छैन ।
पछिल्ला घटनाक्रमपछि एनआरएनलाई गैर राजनीतिक संस्थाको रुपमा स्थापित गर्नुपर्ने चुनौती छ कि छैन ?
वास्तवमा अबको हाम्रो चुनौती भनेको बाहिर बसेर धेरै पैसा कमाउने नेपालीहरु र मलेसिया जस्ता थुप्रै देशमा संघर्षरत प्रवासी नेपालीहरुको श्रम, सिप र श्रोत भित्र्याउने हो । एनआरएनए साधारण श्रमिकदेखि उच्च स्तरका मानिसहरु समेत अटाउने सामुहिक संस्था हो । त्यसकारण एनआरएनले हरेक सेक्टरमा हेर्नुपर्ने भएर सात क्षेत्र पहिचान गरेको छ । जसमा :
१.फरेनमाइग्रेसन भित्रको समस्या ।
२.इभेस्टमेन्ट :
इभेस्टमेन्ट भन्नाले नेपालभन्दा बाहिर बस्ने सबैजसोले पैसा पठाएका छन् । धनीले एकदम कम पठाएका छन् । सबै पैसा गरिब दु:खीले रगत पसिना बगाएर कमाएको पैसा पठाएका हुन् । तर त्यो पैसा बालुवामा पानी खन्याए जस्तै भएको छ । आधारभूत आवश्यकता परिपूर्ति गर्न र विलासितामा प्रयोग हुन थालेको छ ।
३. एनआरएनएले सानाठूला परोपकारी काम गरिरहेको छ । हामीले नेपालका समस्याहरुलाई म्यानेजेबल रुपमा समाधान गर्नुपर्नेछ ।
४.नेपालमा जब आपतविपत आउँछ तब हामीले बाहिर रहने मानिसहरुसँग नेपालमा यस्तो भयो भनेर तुरुन्त पैसा उठाउन थाल्छौँ । त्यसमा पनि पैसा आउन ढिला हुने भएकाले त्यसलाई हामीले संस्थागत रुपमा अघि लाने सोच बनाइरहेका छौँ । हामीले त्यसको लागि एनआरएनए फाउण्डेशन सञ्चालनको तयारी गरिरहेका छौँ । त्यसमा फाइदा के हुन्छ भने त्यहाँको पैसा दान गर्दा हाम्रा नेपाली व्यवसायीहरुले ट्याक्स तिर्नुपर्दैन । अर्को भनेको विपत पर्नुअघि नै हामीसँग फाउण्डेशनमा पैसा हुन्छ र फाउण्डेशनले अन्तर्राष्ट्रिय संस्थाहरुसँग पनि सहकार्य गरेर सहयोग गर्नेछ । हामी अहिले यसमा गृहकार्य गर्दैछौँ ।
५. हामीले अहिले एनआरएनए एकेडेमी भनेर सुरु गरेका छौँ । त्यसले विदेशमा र नेपालमा बस्ने बौद्धिक वर्गसँग ब्रिजको काम गर्छ । एनआरएनबाट अब सीपका कुराहरु पनि सिकाइन्छ । अन्य देशमा गरिएका सीप र प्रविधिलाई यहाँ ल्याउनको लागि पनि हामीले एनआरएन एकेडेमीमा काम गरिरहेका छौँ । अर्को नेपालमा हामी सरकारले सहि बाटो लिएन भनेर नेताहरुलाई दोष दिने गर्छौ । तर नेताहरुलाई मात्र दोष दिनुपनि समस्याको समाधान भने होइन । त्यसको लागि हामीले एनआरएनए पोलिसी ग्रहण गरिसकेका छौँ । त्यसले अब संसारभरका बौद्धिक वर्गलाई नेपालमा फर्काएर ल्याउन आवश्यक छैन । उहाँहरुको योगदानलाई एनआरएनए मार्फत अगाडी लाने पोलिसी ल्याउनुपर्छ । त्यसबाहेक सरकारले कस्ता नीतिहरु ल्याउनुपर्छ भनेर उहाँहरुले योगदान दिन सक्नुहुन्छ । अहिले बनेको ५ बर्षे योजनामा हामीले दिएको ६० प्रतिशत सुझाव नेपाल सरकारले ग्रहण गर्यो । यसको महत्व धेरै रहेछ, यसले सहि निर्णय लिदोँ रहेछ भन्ने कुरा यहाँबाट पनि पुष्टि हुन्छ ।
६. हामीले जहाँ गएपनि आफ्नो पहिचान बिर्सनु हुदैँन । विदेशमा बसेपनि एकछिनमा त्यहाँ घुलमिल हुनसक्ने ठूलो सम्भावना छ । त्यसकारण हामीले हाम्रो संस्कृति, भाषा धर्म विदेशी भूमिमा जोगाउनु पर्छ । त्यसको लागि एनआरएनएले विभिन्न नेपाली समुदाय मार्फत कार्यक्रम गर्नु आवश्यक छ । नेपालमा अहिले १२३ भाषामा हामीले कुराकानी गर्ने गरेका छौँ । यो भाषा त्यतिकै जन्मेको होइन । हजारौँ बर्षदेखि हाम्रा पूर्वजले बोल्दै आएका कारण यसलाई परिस्कृत गराएर ल्याइएको हो । यसलाई हामीले बोल्न छोड्यौँ भने यो लोप हुन्छ । त्यसैले हामीले यसलाई जगेर्णा गर्नु आवश्यक छ । यसमा पनि एनआरएनएले काम गरिरहेको छ ।
७. हामी पहिलो पुस्ताका नेपालीहरु जो म जस्ता छौँ हामीलाई नेपाल सरकारले त न आइज भनेपनि दौडेर, भागेर, विदेशी नागरिकता लिइसकेको भएपनि नेपालमा आउँछौँ र आफ्नो दायित्व पुरा गर्छौ । किनभने यो हाम्रो रगतमा नै छ । तर हाम्रो दोस्रो पुस्ताका लागि आफ्नो मदरल्याण्ड नेपाल नभएर अर्कै भैसकेको छ । नाममा मात्र उनीहरु नेपाली भनेर चिनिएका छन् । जो एकदमै कम नेपाल आउँछन् । उनीहरुलाई नेपाल फर्काउन हामीले कार्यक्रम गरेनौ भने एनआरएनए संस्थाको अस्तित्व नै रहदैँन । त्यसको लागि पनि यो संस्थाले कार्यक्रमहरु गर्नेछ ।
यहाँहरुले व्यवस्थित ढंगले काम गर्न खोजिरहनु भएको छ, तर परिणाममा त त्यस्तो देखिएको छैन नि ?
संस्था आफैँ ठूलो साधन र स्रोत भएको छैन । त्यो कुरा सबैले बुझ्न आवश्यक छ । हाम्रो सामाजिक संस्था हो । हामीसँग जति साधन र स्रोत छ, त्यसलाई हामीले व्यवस्थापन गरेर चलाइरहेका छौँ । नेपालभन्दा बाहिर हामीले करिब ४० देशमा नेपाल फेस्टिभल गर्यौं । त्यसमा यतिधेरै मान्छेहरु आबद्ध भए कि नेपाल सरकारले यदि त्यो काम गर्ने हो भने १ अरब पैसाले पनि गर्न सक्दैनथ्यो। त्यसैगरी हामीले व्यक्तिगत रुपमा नेपालमा लगानी गरिरहेका छौँ । त्यसको खास लेखाजोखा छैन जुन हामी निकाल्दै छौँ । एनआरएनए एकडेमी पोहोर सालबाट मात्र सुरु भएको हो । त्यसको परिणाम आउन बाँकी नै छ । यो वास्तवमा नेपालभित्र आबद्ध रहने संस्थागत कुराभन्दा पनि ठूलो अभियान हो । यो अभिनयानलाई निरन्तरता दिन सकियो भने हामी विदेशमा बसेर नेपालमा लगानी गर्नको लागि उपयुक्त छ भनेर विदेशीलाई नेपालतर्फ आकर्षण गर्न सक्छौँ । बुझ्ने हो भने अहिले नेपालको अवस्था हेरेर कुनैपनि विदेशी कम्पनीले नेपालमा लगानी गर्न सक्ने स्थिति छैन । रेटिङको आधारमा हेर्ने हो भने हाम्रो देश सी रेटिङमा पनि आउँदैन । सबैले इन्भेस्ट गर्ने भनेको ए प्लस भएको ठाउँमा नै हो । त्यसको लागि हामीले विदेशीलाई नेपालमा लगानी गर्नको लागि मोटिभेट गरिरहेका छौँ र थप गर्न सक्छौँ । नेपालको प्रवर्द्धनको कुरा गर्दा टुरिजमको हिसाबले नेपाल लिडिङ सेक्टर हो र रहिरहन सक्छ । नेपालले अहिले भिजिट नेपाल पनि सुरु गरेको छ ।
भिजिट नेपाल २०२० मा एक प्रवासी नेपाली एक विदेशी साथी पठाउने भन्ने छ नि ! त्यो सम्भव होला ?
एकजनाले एक पठायो भने त नेपालले नै धान्न सक्दैन । ८० लाख टुरिस्ट नेपाल सरकारले अहिले धान्न सक्छ ? २० लाखसम्म भने धान्न सक्छ ।
तपाईहरुले पर्यटन प्रवर्द्धनमा लाग्ने योजना बनाउनु भएको छ ?
हामीले त्यसको लागि विशेष एमओयुमा हस्ताक्षर गरिसकेका छौँ । दशैँमा मात्रै १ लाख एनआरएनहरु यहाँ आएका छन् । त्यो हाम्रो एनआरएनए कन्फरेन्स भएका कारण आएका हुन् । एनआरएनए कन्फरेन्स नहुने हो भने ती मानिसहरु आउने थिएनन् ।
एक लाख एनआरएनले दशैँ र तिहारको बिचमा कति पैसा खर्च गरे होलान् ?
विदेशी टुरिस्टले उतैबाट नै कति खर्च गर्ने भनेर सोचेर आएको हुन्छ । तर हामीले ल्याएको जति पैसा सबै यता नै खर्च गरेर जाने हो । अहिले एनआरएन नै टुरिस्ट भएर आउँदा पनि फाइदा नै छ । १ लाख एनआएरन आएको बेला एकजनाले कम्तिमा पनि १ लाख रुपैयाँ नेपालमा छोडेर गएका छन् ।
१ लाख नै आए भन्ने आधार चाहिँ के छ नि ?
सबै हाम्रो कन्फरेन्सका कारणले आएका होइनन । हाम्रो कन्फरेन्सका कारण आउने चाहिँ करिब १५/२० हजार जति होलान् । तर कमसेकसम यहि अवसरमा १ लाख मान्छे चाहिँ आएका छन् ।
एनआरएन वृतमा वर्तमान अध्यक्षलाई जोडेर संस्था डा. बद्री केसी र जीवा लामिछानेको भिजनले चल्छ भन्ने हल्ला सुनिन थालेको छ, वास्तवमा एनआरएनए अब कसरी चल्छ ?
एनआरएनए एउटा टिमले चल्छ । म एकपटक कोषाध्यक्ष र २ चोटी महासचिव भएर काम गरिसकेका छु । त्यसैकारण पनि संस्थाको विषयमा मसँग राम्रो ज्ञान छ । त्यसैकारण हरेक विषयमा म आफ्नो रायहरु राख्ने गर्छु र मेरो रायहरु सुनिने गर्छ । त्यसमा मलाई खुसी लाग्छ । जीवा लामिछाने भनेको चुनावको बेला मात्र एक्टिभ नभएर सधैँभरि नै एक्टिभ भैरहनु हुन्छ । उहाँ कार्यसमितिले स्वतन्त्र रुपमा गर्ने काममा कहिल्यै पनि हस्तक्षेप गर्नुभएको छैन ।
वर्तमान अध्यक्ष कुमार पन्तले एनआरएनए सदस्यता सबैलाई नि:शुल्क दिने घोषणा गर्नुभयो ? सदस्य हुन बसोबास गरेको सम्बन्धित देशको जम्मा ५ डलर तिर्नुपर्छ ? त्यतिपनि तिर्न नसक्ने सदस्यले कसरी संस्थाको उद्देश्य पुरा गर्न सहयोग गर्न सक्लान ?
कुनैपनि सामाजिक संस्थामा तपाईले पैसा नतिरी स्थान पाउनुभयो भने त्यसमा तपाई आबद्ध भएको मानिदैन । फ्रि मा पाएको चिजको महत्व हुदैँन । अर्को कुरा सबै सदस्यलाई भोटिङ दिन सकिएन र भएको निर्वाचन व्यवस्थापन गर्न सकिएन भन्नेछ । त्यसकारण अध्यक्षज्यूले भन्नुभएको अनुसार बाहिर रहेका १ लाखजति हामी त्यसैपनि एनआरएन छौँ । अब उनीहरुलाई सदस्य बनाउँदा सित्तैमा बनाउने हो की पैसा लिएर बनाउने हो ? अन्तर्राष्ट्रिय संघसंस्थाहरु कसरी चलेका छन् । त्यसको अनुसन्धान गर्नैपर्छ । त्यसकारण अध्यक्षज्युको जुन आह्वान छ, त्यसलाई हामीले अध्ययन गर्नु आवश्यक छ । यदि त्यो उत्कृष्ट उपाय हो भने हामी त्यतातिर नै जान्छौ यदि होइन भने हामी जान सक्दैनौँ । अहिले हाम्रो संस्था धेरै पैसाको खोजीमा छ । हामीसँग जम्मा भएको पैसा ४२ करोड हो तर हामीले ५२ करोड खर्च गरिसकेका छौँ । १० करोड अतिरिक्त खर्च हुने भएको छ । अन्य कुरामा पनि हामीसँग भएको पैसाभन्दा धेरै खर्च भएको छ । त्यसैकारण पनि हामीले यसबारे सोच्नु जरुरी छ ।
धेरै मिडियाहरुले शेष घले अध्यक्ष हुदाँ १८ करोड संस्थामा बचत थियो अहिले अनियमितता भएर घाटामा गयो भन्ने सुनिन थालेको छ । निवर्तमान अध्यक्षले हामी घाटामा पनि छैनौँ हामीसँग फण्ड पनि छैन भन्ने अभिव्यक्ति दिनुभएको छ । वास्तविक कुरा के हो ?
शेष घलेको कार्यकालमा म कोषाध्यक्ष थिए । त्यसबेला संस्थालाई कसरी आर्थिक रुपमा सवल बनाउने भनेर मैले १० बर्षे प्लान पेस गरेको थिए । त्यहि प्लानलाई हामीले भिजन २०२० मा राखेका छौँ । त्यहि कारण आर्थिक रुपमा हामी सहि बाटोमा गएका थियौँ । त्यहि बिचमा भुईचालो गयो । हामीले भुकम्प पिडितको लागि ३७ करोड र आफ्नै भवन निर्माणको लागि १८ करोड जम्मा गरेका थियौँ । त्यो रकम शेष घलेको पालामा जम्मा भयो तर खर्च चाहिँ निवर्तमान अध्यक्षको पालोमा भयो ।
शेष घलेको पालोमा ५२ करोड खर्चमा जम्मा १० करोड मात्र खर्च भएको थियो । भवन निर्माणको लागि जग्गा किनेर राखेको थियो तर निर्माणको काम भएको थिएन । त्यसबेला मात्र १३ करोड खर्च भएको थियो । पछि भवन बनाउने खर्च यहि अवधिमा गर्नुपर्यो । हाम्रो बजेट भन्दा बढीको योजना थियो । ५२ करोडको योजना अहिले नभएर शेष घलेकै कार्यकालमा हामीले गरेका थियौँ । बिल्डिङको प्लानिङ पनि त्यतिबेलै गरिएको थियो । कहिँ कतै १ पैसा हिनामिना भएको छैन । बजेट भन्दा बढी खर्च मात्र भएको हो ।
यो पनि पढ्नुहोस :
विगत, खस्कँदो लोकप्रियता, राजनीतिक खिचातानी बीच एनआरएनए स्वर्ण युगको उद्घोष !
एनआरएनए अध्यक्षमा कुमार पन्त : अधिकांश निर्वाचित पन्त प्यानलकै (सूचीसहित)
एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी
को हुन् -कुमार पन्त ? जसले एनआरएन चुनावमा क्लिन स्वीप गर्दै छन् !
पछिल्लो मत परिणाम : एनआरएनए चुनावमा अध्यक्ष पन्तको जित पक्का
एनआरएनए अमेरिकाज क्षेत्रीय संयोजकमा पन्त समूहका राजन त्रिपाठी विजयी : अध्यक्षमा आचार्य १५ मतले अगाडि
एनआरएनए निर्वाचनको मतगणना नहुँदै अध्यक्षका प्रत्यासी कुमार पन्तलाई बधाई दिनेको भिड (फोटो फिचर)
एनआरएनए निर्वाचनमा ९१ प्रतिशत मत खस्यो : मतगणना शुरु हुँदै
एनआरएनए चुनावः उम्मेदवारहरु प्रचार–प्रसारमा व्यस्त(फोटो फिचर)
एनआरएनए चुनावः पानीमा मतदान
अध्यक्षका प्रत्यासी कूल आचार्य बेलायतमै पछाडि
एनआरएनए निर्वाचन मत सर्वेक्षण: कुमार पन्तलाई अमेरिका ६० र क्यानडाबाट ८० प्रतिशत मतदान हुने दावी
एनआरएनए निर्वाचन मत सर्वेक्षण: अष्ट्रेलिया ओसेनीया ६० प्रतिशत
एनआरएनए निर्वाचन मत सर्वेक्षण: मध्यपूर्वमा कुमार पन्तलाई ७० प्रतिशत मत खस्ने
कडा सुरक्षा घेराबीच एनआरएनएको मतदान सुरु(तस्वीरमा हेर्नुस्)
कुमार पन्त टिमको महिला संयोजकमा बेलायतबाट संगीता मरहट्टा
कुमार पन्तको पक्षमा उर्लियो जनसागर (फोटो फिचर)
मतदाताहरुलाई अध्यक्षका प्रत्यासी कुमार पन्तको अपिल
अधिकाँस काँग्रेस प्रतिनिधि कुमार पन्तको समूहमा, रामचन्द्र पौडेलको कारण कुल आचार्यले हार बेहोर्दै
कुमार पन्त समूहबाट कोषाध्यक्षका प्रत्यासी कुमार श्रेष्ठको लोभलाग्दो माहोल
मध्यपूर्वको नेतृत्व गर्दै कुमार पन्त समूहबाट सचिवमा आरके शर्मा ६ बूँदे प्रतिवद्धता सहित चुनावी मैदानमा
कुमार पन्तको माहोल देखेर चरित्र हत्याको प्रयास गरेकोमा एनआरएनए अध्यक्ष न्यौपानेद्वारा दु:ख ब्यक्त
एनआरएनए ९ औं विश्व नेपाली सम्मेलनमा कुमार पन्तको प्रमुख टिम घोषणा
एनआरएनएको नवौँ विश्व नेपाली सम्मेलनमा राष्ट्रपतिद्वारा नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन आव्हान
एनआरएनए विश्व सम्मेलन काठमाडौंमा : अध्यक्षमा पन्त र आचार्यको दावी
१६ बुँदे प्रतिबद्धता सहित सचिवमा जिताउन विनय अधिकारीको अपिल
एनआरएनए स्पोर्टस् एकेडेमी घोषणा तथा सचिवालय गठन
कुमार पन्त टिममा अमेरिकाबाट सोनाम लामा उपाध्यक्ष
कुमार पन्त टिममा युरोप उप–संयोजकमा नवराज रोस्यारा
कुमार पन्त टिममा युरोप संयोजकमा सन्तोष कुमार भट्टराई
कुमार पन्त टिमको सचिवमा अमेरिकाबाट गौरी राज जोशी
कुमार पन्त टिमको उपाध्यक्षमा रसियाबाट डा. बद्री केसी
एनआरएनए विश्व सम्मेलनका लागि नाम दर्ता सुरु
नवौं गैरआवासीय नेपाली विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा