‘घामड शेरे’ को प्रचारका लागि शेरबहादुर देउवाको फोटो हालेपछि विवादमा परे आसिफ, मागे माफी



१७ कार्तिक २०७६, काठमाडौँ

कार्तिक २२ बाट देशव्यापी रुपमा प्रदर्शनमा आउन लागेको चलचित्र घामड शेरे को प्रचारका लागि आसिफ शाहले फेसबुकमा घामड शेरे को पोष्टरसँगै शेरबहादुर देउवाको तस्बिर पनि अपलोड गरेका थिए । उनले आफ्नो व्यक्तिगत स्वार्थको कारण नभई चलचित्रको प्रचारका लागि मात्र फोटो सेयर गरेका थिए ।

तर उनलाई त्यहि फोटो भारी परेको छ । अहिले शेरबहादुरको मजाक उडाएको भनेर उनको चर्को आलोचना भैरहेको छ । नेविसंघ बैतडी जिल्ला सभापति कपिल केसीले सामाजिक सञ्जालमा स्टाटस लेख्दै चलचित्र ‘घामड शेरे’ सुदूरपश्चिमका कुनै हलमा पनि चल्न नदिने चेतावनी दिएपछि आसिफले माफी मागेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले लेखेका थिए, ‘कलाकार जगतको कलंक आसिफ शाहले सार्वजनिक रुपमा माफी माग्नुपर्छ, होइन भने सुदूर पश्चिमको कुनै पनि हलमा फिल्म चल्न दिइने छैन र सुदूरपश्चिम प्रवेशमा त्यस्ता कंलकलाई पूर्ण निषेध गरिनेछ, जय नेपाल ।’

कपिल केसीले चेतावनी दिएपछि आसिफले माफी मागेका हुन् । आसिफ पुनः स्टाटस लेख्दै आफूले कसैको मजाक उडाउन नखोजेको र कुनै पार्टीसँग आफू आबद्ध नभएको पनि स्पष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्