आफ्नै कर्मचारीसँग डेटिङ्ग जाँदा म्याक्डोनल्सका प्रमुखले पद गुमाए



१८ कार्तिक २०७६, काठमाडौं

अमेरिकी प्रसिद्ध रेष्टुराँ म्याक्डोनल्ड्सले आफ्ना प्रमुख कार्यकारी स्टीभ इस्टरब्रुकलाई जागिरबाट निष्कासन गरेको छ।

आफ्नै कार्यालयका एक कर्मचारीसँग प्रेमसम्बन्ध राखेको पाइएपछि उनलाई निष्कासन गरिएको हो। ‘कम्पनीको नीति उल्लंघन गरेको’ र ‘कमजोर निर्णय क्षमता देखाएका’ भन्दै इस्टरब्रुकलाई हटाइएको म्याकडोनल्ड्सले जनाएको छ।

यद्यपि, दुई जनाबीचको सम्बन्ध सहमतिमै आधारित भएको पनि उसले प्रष्ट्याएको छ। इस्टरब्रुकले पनि महिला कर्मचारीसँग आफ्नो प्रेमसम्बन्ध रहेको स्वीकार्दै आफूले गल्ती गरेको कर्मचारीहरूलाई पठाएको पत्रमा उल्लेख गरेका छन्।

कम्पनीको मूल्यलाई ध्यान दिँदै जागिर छोड्न बोर्डसँग सहमति गरेको पनि उनले बताएका छन्। कम्पनीको नीतिले व्यवस्थापकहरूलाई आफूसँग तल्लो तहका कर्मचारीसँगको प्रेम सम्बन्धलाई रोकेको छ।

५२ वर्षीय ब्रिटिश नागरिक इस्टरब्रुकले श्रीमतीसँग भने सम्बन्धविच्छेद गरिसकेका छन्। यसअघि पहिलो पटक सन् १९९३ मा उनले लन्डनमा म्याक्डोनल्ड्सको व्यवस्थापकका रूपमा काम थालेका थिए।

सन् २०१५ मा उनी म्याक्डोनल्ड्सका प्रमुख कार्यकारी पदमा नियुक्त भएका उनलाई म्याक्डोनल्ड्सका मेन्यू तथा रेस्टुराँमार्फत् अझ राम्रा कुरा पस्केर कम्पनीलाई अगाडि बढाएको श्रेय जाने गरेको छ। उनकै कार्यकालमा कम्पनीको शेयर मूल्य पनि दुई गुणाभन्दा बढीले बढेको थियो।

म्याक्डोनल्ड्सका अध्यक्ष र बोर्ड सदस्य पदबाट पनि उनले राजीनामा दिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्। पदबाट हटाइएपछि उनलाई दिइने रकमबारे भने जानकारी गराइएको छैन।(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्