२४ कार्तिक २०७६, काठमाडौं
आगामी १४ मंसिरमा हुने उप निर्वाचनको लागि मनोनयन दर्ता गराएका उम्मेदवारको अन्तिम नामावली आइतबार प्रकाशित हुँदैछ।
दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म अन्तिम नामावली प्रकाशित हुने निर्वाचन आयोगले जनाएको छ। यसअघि बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने कार्यक्रम तय गरिएको थियो।
आयोगको निर्वाचन कार्यतालिकाअनुसार मनोनयन दर्ता गराएका उम्मेदवारको नामावली शनिबार प्रकाशन गरिएको थियो। मनोनयन दर्ता गराएका उम्मेदवारको जाँचबुझ गरी नामावली प्रकाशित गर्नुपर्ने कानुनी प्रावधान छ। तर, उम्मेदवारको विरोधमा कुनै उजुरी नपरेपछि जाँचबुझ गर्नै नपरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए।
प्रतिनिधिसभा सदस्य–१, प्रदेशसभा सदस्य–३ र स्थानीय तहको प्रमुख–१, अध्यक्ष–३, उपाध्यक्ष–१ र वडा अध्यक्ष–४३ गरी जम्मा ५२ पदका लागि ३७ जिल्लामा विभिन्न क्षेत्रमा उप निर्वाचन हुँदैछ।
कास्की क्षेत्र नं २ मा प्रतिनिधिसभा, भक्तपुरको निर्वाचन क्षेत्र नं १ को (क),बाग्लुङको क्षेत्र नं २ को (ख)र दाङ क्षेत्र नं ३ को (ख)मा प्रदेशसभा सदस्य पदका लागि निर्वाचन हुन लागेको हो।
आज उम्मेदवारको अन्तिम नामावली प्रकाशनपछि सोमबार(भोलि) बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम छ।
स्थानीय तहको निर्वाचन कार्यक्रम भने २७ कात्तिकबाट सुरु हुने आयोगले जनाएको छ।