२४ कार्तिक २०७६, काठमाडौं
बरु म आकाशबासी भइदिए हुन्थ्यो।
आकाशमा न सिमाना हुन्छ, न देश।
जता पनि बस्न छुट हुन्छ।
जे गरौं आफ्नै मर्जी…
बिडम्बना!
म त्यस्तो देशमा छु।
जहाँ…
सिमानाले रुवाउँछ।
गरिबीले पिरोल्छ, त कहिले अन्याय, अत्याचार र भ्रष्टहरुको हर्कतले रुवाउँछ ।
रुन चाहिँ साँच्चै रुवाउँछ।
रुनु अनौठो नहोला।
किन कि,
रुवाई पहिलो क्रिया हो।
भर्खर जन्मेको शिशुले जान्दछ।
तसर्थः
रुनु, ज्यूँदो रहनुको संकेत हो।
अरु थुप्रै कुराको संकेत हो, रुवाइ।
जन्मने बित्तिकै…
किन रुनु भो?
यो जवाफ दिन तपाईँ एकछिन मौन भए झैं आज सरकार मौन छ।
माटो बेचिँदा,
इतिहास मेटिँदा,
म सरकार भएको भए…
मै पनि, शान्त बस्थें।
किन कि,
म बुद्धको देशको मान्छे।
मलाई शान्त बन्न आउँछ।
शान्त बन्नुको अर्थ?
म सानो छँदा!
काम बिगार्थें, र…
‘बा’को अगाडि शान्त हुन्थें।
गल्ती गर्थें, र…
गुरुको अगाडि शिर झकाउँथें।
म सरल प्रश्न सोध्न चाहन्छु।
ए सरकार!
तिमी चुप छौ किन?
कि तिमिले मैले ‘बा‘को रेडियो बिगारे जस्तैः
देश बिगार्यौ?
र मौन छौ?
प्रयास दुमी राई
साहित्यकार