पेटको बोसो घटाउन यसो गर्नुहोस्



२९ कार्तिक २०७६, काठमाडौं

पेट लाग्नु र मोटाउनु अस्वस्थ शरिरको सूचक भनेर पनि वुझिन्छ। तर अहिले आएर कतिपयः समाजमा पेट लाग्नुलाई प्रतिष्ठाको विषय पनि मान्ने गरिन्छ।

मोटोपन कुनै रोग होइन। तर मोटाउन थालेपश्चात् हाम्रो शरिरमा कैयौं रोगले घर बनाउन थाल्छन्। त्यसमा पनि पेट बढ्नु वा पेटको मोटाइलाई चिकित्सा विज्ञानले मुटुरोग, मधुमेह, दम, उच्च रक्तचाप, पेट तथा हर्मोनसम्बन्धी रोगहरूको प्रमूख कारण मानेका छन्।

हाम्रो शरिरमा सबैभन्दा पहिले र सबैभन्दा धेरै बोसो लाग्ने क्षेत्र पनि पेट नै हो। यो भागमा बोसो लागिसकेपछि यसलाई घटाउन असाध्यै गाह्रो पर्छ। बढेको पेटबाट ‘ल्याक्टिन घेरिन एडिपोनेक्सन’ जस्ता हानिकारक तत्व निस्कन्छन्।

यी तत्वहरूले टाइप टु मधुमेह, मुुटुरोग र अन्य धेरै रोग लाग्छन्। एकपटक पेट बढेपछि घटाउन मुस्किल पर्छ।

तर जान्नुहोस्ः निम्न प्राकृतिक उपायहरूको अवलम्बन गरे केही समयभित्र पेट घटाउन सकिन्छ:

फाइबरयुक्त खानाः

हामीले खाने खानामा पाइने रूक्षांश (फाइबर) ले कुनै पौष्टिकता त दिँदैन। तर फाइबर भएका खानाले अनेकौं फाइदा पुर्याउछन्। घुलनशील रुक्षांश (फाइबर) खाँदा त्यो पानीमा घुलेर खानालाई फुलाइदिन्छ।

खानेकुरा फुलेपछि यसले भोकलाई चाँडै तृप्त गरिदिन्छ भने खानाको पाचन क्रियालाई सुस्त तथा क्यालोरी अवशोषणलाई पनि कम गरिदिन्छ।

अध्ययन अनुसन्धानहरूको निचोड भन्छ– १० ग्राम घुलनशील रुक्षांश (फाइबर)को अतिरिक्त प्रयागले पेट बढ्ने क्रियालाई ३–७ प्रतिशत कम गर्छ।

घुलनशील फाइबरको मुख्य स्रोत भनेको सामा, कगुनी चामल, चिनो चामल, कोदो, जबार, बाजरा, आलस, आबोकादो, ब्ल्याक बेरी, दाल, गेडागुडी, हरियो सागपात इत्यादि हुन्।

मदिरापानबाट टाढै रहनुहोस्ः

मदिरापान र पेट बढ्ने प्रक्रियाको सम्बन्ध छ। यस विषयमा केही तथ्य स्वास्थ्य अनुसन्धानहरूले प्रमाणित गरेका छन्।

जुन तथ्यअनुसार, जो बढी मदिरा पिउँछन्, उनीहरूको पेट बढेको छ। यसर्थ पेट घटाउन चाहनेहरूले मदिरा पिउनै हुँदैन।

उपवास बस्ने गर्नुहोस्ः

उपवास धेरै किसिमका हुन्छन् तर पेट घटाउन हप्तामा एक दिन उपवास बस्नु सबैभन्दा उत्तम मानिन्छ।

वर्षको दुईचोटि कुनै प्राकृतिक चिकित्सा केन्द्रमा गएर पाँचदेखि सात दिनसम्म उपवास गर्दा पनि पेट घट्नाका साथै सम्पूर्ण शरिरकै तौल सन्तुलनमा आउँछ।

तनाव व्यवस्थापन गर्नेः

तनावपूर्ण स्थितिमा एड्रिनल ग्रन्थी ज्यादा सक्रिय भएर धेरै कर्टिसोल हर्मोन उत्पादन गर्छ र कर्टिसोलको रक्तस्तर बढ्छ।

जसले धेरै भोक लगाउँछ। प्रारम्भिक दिनमा फ्याट घटाउन सहयोग गरे पनि पछि गएर भुँडी तथा तौल बढाउने गर्छ।

यसर्थ भुँडी घटाउन चाहनेहरूले तनाव व्यवस्थापन गर्नुपर्ने हुन्छ। तनाव व्यवस्थापनको महत्वपूर्ण अस्त्र भनेको योग तथा ध्यान हो।

पर्याप्त निदाउनुहोस्ः

गहिरो निद्रा स्वस्थ शरिर एवं मनका लागि अपरिहार्य छ। दैनिक पाँच घन्टाभन्दा कम निदाउनेहरूको भुँडी चाँडो लागेको पाइएको छ।

सुत्दा घुर्नेहरूको पेट पनि अन्यको भन्दा ठूलो हुने गरेको छ। पेट घटाउनाका लागि गहिरो निद्रा आवश्यक हुन्छ। यसर्थ आफुमा निद्रासम्बन्धी कुनै समस्या देखिएमा तुरुन्तै यसको व्यवस्थापन गर्नुहोस्।

पेटको व्यायाम गर्ने गर्नुहोस्ः

पेट लाग्नुको प्रप्रमूख कारणमध्ये पेटलाई प्रभाव पार्ने खालका व्यायाम नगर्नु पनि हो।

पेट घटाउन चाहनेहरूले क्रन्च (पेट तन्किने) खालका व्यायामहरू, साइड क्रन्च, रिभर्स क्रन्च, भर्टिकल लेग क्रन्च, साइक्लिङ, लेग ट्विस्ट, उड्यान बन्ध, अग्निसार क्रिया जस्ता पेटका व्यायामहरू गर्न सकिन्छ।

कार्बोहाइड्रेटयुक्त खाना कम खानुहोस्ः

बढी कार्बोहाईडटयुक्त खाना खाँदा थप कार्बोहाईडेट सी फ्याटमा रुपान्तरित भई बोसो लाग्छ।

तसर्थः पेट घटाउने हो भने थप कार्बोहाइड्रेटको भुलेर पनि प्रयोग नगर्नुहोस्।

घरेलु तेलको प्रयोग गर्नुहोस्ः

तौल घटाउन चाहनेहरूले जथाभाबी बजारी तेलभन्दा सकेसम्म घरमै बनेका तेल प्रयोग गर्नुपर्छ। त्यस्ता तेलको प्रयोगले मोटोपना घटाउन सकिन्छ।

घरमै तयार गरिएका सूर्यमुखी, बदाम तथा तोरीको तेल प्रयोग गर्नाले पेट बढ्न दिँदैन। बजारमा प्रशोधित तथा कारखानामा संरक्षण गरी राखिएका तेलमा बोसोयुक्त एसिड हुन्छ।

यो एसिडले पेट मोटो पार्न मद्दत गर्छ। तसर्थः सकेसम्म यस्ता तेल प्रयोग नगरौँ।

उच्च प्रोटिनयुक्त खानेकुरा खाने गर्नुहोस्ः

उच्च प्रोटिनयुक्त खानेकुरा खाँदा पिप्टाइड टाइसोरिन (तृप्तीकारक हर्मोन) उत्पादन हुने हुँदा थोरै खाँदा पनि तृप्ती मिल्छ। अर्थात् भोक शान्त हुन्छ।

प्रोटिनले धेरै परिमाणमा खानाको खपत नगर्ने हुनाले भुँडी ठूलो हुन पाउँदैन। तर यस्ता प्रोटिन प्राप्त गर्न सकेसम्म वनस्पतिजन्य चिजलाई नै प्रयोग गर्नु उचित मानिन्छ।

सागपात एवं फलफूल प्रशस्त मात्रामा खानुहोस्ः

बोसो लाग्ने क्रियालाई तोड्न आफ्नो भित्री शरिरलाई एकपल्ट पूर्णरूपमा शुद्धीकरण (सफा) गर्नुपर्ने हुन्छ। भित्री शरिर सफा गर्न पर्याप्त मात्रमा सागपात एवं फलफुलको सेवन गर्नुपर्दछ।

सागपात एवं फलफुल मात्र खाने हो भने महिनामा १० किलोसम्म पेट घटाउन सकिन्छ। सागपात एवं फलफुल खाने गर्दा शरिरको प्रणालीले बोसो घटाउने काम गर्न थाल्छ।

चिनी राखेका पेयपदार्थ प्रयोग नगर्नुहोस्ः

प्रशोधित चिनी हालेका खानेकुराहरू जस्तैः चिया, कफी, रेडिमेड जुस, कोकाकोला, पेप्सीकोला र मिठाइको सेवनले क्यालोरी थप्छन्।

यस्ता क्यालोरीले पेट बढाउँछ। तसर्थः यस्ता पेय पदार्थको प्रयोग नगर्नुहोस्।

प्रोबायोटिक्सयुक्त खानेकुरा खाने गर्नुहोस्ः

हाम्रो शरिरको आन्द्राहरूमा प्रशस्त ब्याक्टेरियाहरू हुन्छन्। यी ब्याक्टेरियाहरू वृद्धि हुँदा हाम्रो शरिरलाई फाइदै हुन्छ।

प्रोबायोटिक्सयुक्त खोकुरा भनेको शरिरमा भएका किटाणुहरू जस्तै हो। प्रोबायोटिक्सयुक्त खानेकुराहरू खाँदा हाम्रो पाचनमा सुधार हुने र तौल घट्ने अनुसन्धानहरूले देखाएका छन्।

यसमा दही, काँक्रा, चुकन्दर, गाँजरजस्ता खानेकुरा पर्दछन्।

 

प्रतिक्रिया दिनुहोस्