चिलीमा नयाँ संविधानका लागि जनमत संग्रह घोषणा



०१ मंसिर २०७६, काठमाडौं

चिलीमा नयाँ संविधान निर्माणका लागि जनमत संग्रह हुने भएको छ।

त्यहाँ नयाँ संविधान र यसमार्फत् राजनीतिक सुधारका लागि भन्दै गएको करिब महिना दिनदेखि नै आन्दोलनकारीहरुले दिनहुँजसो प्रदर्शन गरिरहेका छन्।

उनीहरुको मागको सम्बोधन गर्दै चिलीको सरकारले शुक्रबार नयाँ संविधान लेखनका लागि जनमत संग्रह गर्ने घोषणा गरेको हो। त्यहाँको वर्तमान संविधान सन् १९८० मा जारी भएको थियो।

त्यस संविधानलाई तानाशाहले जबर्जस्ती जारी गरेको भन्दै अब प्रजातान्त्रिक संविधान बनाउने भनेर यो घोषणा गरिएको थियो। चिलीका पूर्वशासक अगस्तो पिनोचेटले सो संविधान जारी गरेको र उक्त संविधान प्रजातान्त्रिक संविधान नरहेको भन्दै नयाँ संविधान जारी गर्न जनमत संग्रहको माग प्रदर्शनकारीहरुले गरिरहेका सिन्ह्वाले जनाएको छ।

त्यहाँको संविधान तथा सरकारले नागरिकका आधारभूत अधिकारहरु (जस्तोः शिक्षा, स्वास्थ्य)को व्यवस्था गर्न नसकेको भन्दै दशौं हजार नागरिकले प्रदर्शन जारी राखेका थिए।

शुक्रबार आन्दोलनकारी र सरकारका तर्फबाट प्रतिनिधिहरुले वार्ता गरेका थिए। उक्त वार्ताका क्रममा उनीहरुले सो संविधानलाई विस्थापित गरी नयाँ संविधान निर्माण गर्नका लागि जनमत संग्रह गर्ने विषयमा सहमत भएका बताइएको हो।

सरकारको वार्ता टोली र विपक्षी दलहरुका प्रतिनिधिहरुबीच शुक्रबार भएको लामो छलफलपछि सन् २०२० को अप्रिलमा जनमत संग्रह गर्ने विषयमा सहमति भएको जनाइएको छ।

चिलीका गृहमन्त्री गोन्जालो बुमलले उक्त सहमति ऐतिहासिक भएको बताएका छन्। उनले त्यस सहमतिबमोजिम चिलीमा नयाँ जनमत संग्रह हुनेछ र यसले पुरानो संविधानलाई नै जारी राख्ने कि अर्को संविधान तयार पार्ने भन्नेबारेमा निर्णय दिने बताए।

यसका साथै आगामी संविधानमा नागरिकका के–कस्ता आधारभूत आवश्यकताका विषयहरु राख्ने भन्नेबारेमा पनि आगामी जनमत संग्रहले निर्णय गर्ने भएकाले प्रदर्शनकारीहरुले आफ्ना विरोध प्रदर्शनहरुलाई शुक्रबारदेखि नै स्थगित गरेका छन्।

प्रतिक्रिया दिनुहोस्