०१ मङ्सिर २०७६, काठमाडौं
काठमाडौं महानगरपालिका वडा नं. ७ का वडाध्यक्ष शुद्ध कुमार डंगोल कक्षा ६ मा पढ्दादेखि नै अनेरास्ववियूको कार्यक्रमबाट प्रभावित भई कम्युनिष्ट राजनीतिमा जोडिनु भएको हो ।
किसान परिवारमा जन्मिनु र हुर्किनु भएका डंगोल स्नातक पढ्दा समेत खेती किसानी नै गर्नुहुन्थ्यो ।
तत्कालिन नेकपा एमालेबाट बि.सं. २०५४ सालमा काठमाडौं महानगरपालिकाको वडा सदस्यमा निर्वाचित हुनुभएका डंगोल गत स्थानीय निर्वाचनबाट कामपा वडा नं. ७ कै वडाध्यक्षमा निर्वाचित हुनुभयो ।
वडाध्यक्षमा निर्वाचित भएपछि डंगोलले गर्नुभएका विकास निर्माणका काम र भोगेका अनुभवहरुमा आधारित भई गरिएको कुराकानीको सम्पादित अंश :
तपाई राजनीतिमा कसरी जोडिन पुग्नुभयो ?
चावहिल स्थित पशुपति मित्र माध्यमिक विद्यालयमा २०३६ सालमा अनेरास्ववियूको पाँचौ राष्ट्रिय महाधिवेशन भएको थियो । त्यहि समयमा कक्षा –६ मा पढ्दै गर्दा अनेरास्ववियूको कार्यक्रमबाट प्रभावित भएर प्रारम्भिक कमिटी सदस्य बनेको थिएँ । म विधार्थी संगठनमा लागेको कुरा ठूलो बुवाको छोराले घरमा भनिदिएकोले झन्डै कुटाई समेत खाईन् ।
नेवार समुदायको व्यक्ति व्यापारमा नलागेर कसरी कम्युनिष्ट पार्टीको राजनीतिमा लाग्नु भयो ?
म नेवारको छोरा भएपनि ज्यापु समुदायको भएकोले हामी खेती किसानी गर्थ्यौं । ज्यापुहरुको आफ्नै व्यक्तिगत जग्गा हुदैँन, अर्काको जग्गा कमाउनु पर्ने हुन्थ्यो त्यसैले नेवारी समुदायमा पनि हामी धेरै पिछडिएकोमा गनिन्छौँ । २०३९ सालमा कक्षा ९ मा पढ्दै गर्दा खेत खन्ने, १ मुरीको धोक्रो धान बोक्थे । पछि म डिप्लोमा पढ्दासम्म पनि खेतमा नै काम गर्थे ।
खेतचाहीँ कहाँ छ नि ?
कपनमा हाम्रो खेत छ । हामीलाई मान्छेहरु जमिनदार भन्छन् तर हामी जमिनदार भने होइनौं । तल्सिनबाट आधा–आधा जग्गा पायौँ । कहिँबाट चौथाई पायौँ । पूख्र्यौली सम्पत्ति भनेर आफ्नै जग्गा चाहिँ छैन ।
अहिलेको अवस्था हेर्दा त तपाई सम्पन्न परिवारको नै हो नि ?
अहिलेको अवस्था हेर्दा पनि हामीसँग त्यति जग्गा छैन । नेवार समूदाय भित्रको शाक्य, वैद्य, श्रेष्ठ, प्रधानहरुको जति छ, त्यस्तो हाम्रो छैन । दाईले बेच्नुभयो मैले बेचेको छैन, कुरा त्यतिमात्र हो । मेरो ठूलोबाउ, सानोबाउहरुको भने प्रशस्त जग्गा छ । मेरो बुबाले धेरै ड्रिङ्क्स गर्ने भएकोले पनि हामीले दु:ख पाएका हौँ । मेरो आमा र दिदीले कामको लागि गरेको दु:ख देख्न नसकेर मैले पनि खेती किसानी गर्न थालेको हुँ ।
तपाईले पशुपति मित्र मावि बाट एसएलसी गर्नुभएको हो ?
हो ! मैले २०४० सालमा पशुपति मित्र माविबाट एसएलसी पास गरेको हुँ ।
कम्युनिष्ट पार्टीमा कसरी आकर्षित हुनुभयो ?
अनेरास्ववियूमा आवद्ध भएदेखि नै म निरन्तर लागिरहेको हुँ । त्यो बेला हाम्रो चाबेल एरियामा सानो भाउजुहरु, विनोद मिश्र, अर्जुन शाक्य, सानुकाजी श्रेष्ठ, पर्माणन्द लगायत हामी सबै राजनीतिमा एकदमै लाग्यौँ । त्यसबेला जिन्सको पाइन्ट लगाउन पनि पार्टीलाई सोध्नुपर्ने हुन्थ्यो । त्यसबेलाको कम्युनिष्ट भनेको त धेरै नै आदर्शवादी जस्तो हुन्थ्यो । किनकी कसैसँग ठगेर खानु नहुने, जाँड, रक्सी, चुरोट खानु नहुने, केटी लिएर हिड्न नहुने, तडकभडक गरेर हिड्नु नहुने, अरुलाई सेवाभावले हेर्नु र हिड्नु पर्थ्यो ।
तपाई कम्युनिष्ट पार्टीमा लाग्न तिनै अनुशासनका कुराले प्रभावित हुनुभयो कि अरु नै कुराले ?
त्यो बेला पञ्चायती राज्यसत्ताले जनतालाई धेरै दु:ख दिएको देखिरहेको थिए । राजनीति गरेकै आधारमा धेरै कुरामा पेल्ने, तर्साउने, पुलिस प्रशासन लगाएर समात्ने, कुट्ने जस्तो अत्याचार गरेको देखिन्थ्यो । अनि हाम्रो कम्युनिष्ट पार्टीले परिवर्तनका कुराहरु उठाउँदा हो कि/हो कि जस्तो पनि लाग्थ्यो । त्यो बेला गाउँठाउँको एक/दुई सामन्तीहरुले जे भन्यो त्यहि हुने हुन्थ्यो । त्यसमा हाम्रो बुबाले पनि विरोध गर्नुहुन्थ्यो । हामी सिधा कुरा गर्ने, त्यसको लागि झगडा गर्नुपरे पनि मेरो बुबा अघि सर्नुहुन्थ्यो । हामी पनि बुवालाई साथ दिन्थ्यौँ ।
पार्टीमा चाहिँ तपाई कहिलेदेखि जोडिनुभयो ?
पार्टीमा त्यो बेला देखि नै जोडिएर टियुको कार्यक्रम, इन्जिनियरिङ कलेजको कार्यक्रमहरुमा सहभागी हुने जान्थ्यौँ । त्यसैगरी मजदुर दिवसको कार्यक्रममा पनि जान्थ्यौँ । कार्यक्रममा गएका कतिलाई पुलिसले समातेर लान्थ्यो । त्यसबेलाको स्थिति निकै डरलाग्दो थियो ।
भूमिगत कालमा तपाई पक्राउ पर्नुभयो कि भएन ?
भूमिगत समयमा म विद्यार्थी भएकोले पढाई छोडेर भूमिगत चाहिँ हुनुपरेन । विद्यार्थी युनियनको चुनावको समयमा चाहिँ धेरै सहयोग गरे ।
तपाईको पढाई कुन–कुन क्याम्पसबाट अगाडि बढ्यो ?
पिपुल्स क्याम्पसबाट मैले सर्टिफिकेट क्लीयर गरेको हुँ । त्यसपछि मैले मीनभवनबाट डिप्लोमा क्लीयर गरे । आर्मीको सेकेण्ड लेफ्टिनेन्ट हुन दुईपटक परीक्षा दिएँ तर नेवार भएकै कारणले मलाई लिएन । म भन्दा नराम्रा, म भन्दा कमजोर मान्छेलाई लिएको मैले देखेको थिए । जातियताको हिसाबले पनि म धेरै नै पिडित मान्छे हुँ । स्कूलमा पढ्न जादाँसम्म हामीलाई ज्यापु भनेर हेप्थे ।
अहिले चाहिँ लेफ्टिनेन्ट नभएको ठिकै भएछ, जस्तो लाग्दैन ?
त्यो बेलामा लेफ्टिनेन्ट भएका साथीहरु अहिले कर्नेल, जर्नेल हुनुहुन्छ । मैले दिएको समयमा म भन्दा नजान्ने, सर्टिफिकेट नै नभएका साथीहरु पंचायतको पावरले जागिर खानुभयो ।
प्रजातन्त्र आएपछि तपाई कहिलेदेखि चुनावी राजनीतिमा आउनुभयो ?
सबै साथीहरुले प्रस्ताव गरेपछि २०५४ सालमा वडा सदस्यमा चुनाव लडेको हुँ । त्यसबेलामा त अध्यक्ष बन, सदस्य बन भन्दापनि मान्छे पन्छिन्थ्यो । मलाई पनि घरबाट नजाउ नै भन्नुभएको थियो । तर मैले राजनीति मार्फत समाजमा परिचित हुने र समाजसेवा पनि गर्न पाउने भएकोले त्यो बेला वडासदस्यमा लडेको हुँ ।
तपाईले २०५४ को स्थानीय निर्वाचनमा वडासदस्यमा जित्नुभयो त ?
२०५४ मा मैले वडा सदस्यमा जितेको थिए ।
यो बिचमा तपाई पार्टीको कुन–कुन जिम्मेवारीमा रहनुभयो ?
म पार्टीको वडा कमिटी सदस्य हुँदै क्षेत्रीय सदस्य र वडा नं. ८ ईञ्चार्जसम्म भएँ ।
पहिलेको जनप्रतिनिधि हुँदा र अहिलेको जनप्रतिनिधि हुँदा के फरक पाउनुभयो ?
पहिलेको जनप्रतिनिधि हुँदा हामी वडा सदस्य भएकाले प्रत्यक्ष रुपमा त्यति काम गर्न पाइदैनथ्यो भने अहिले चाहिँ वडा अध्यक्ष र सदस्यहरुलाई पनि हामीले काम गराउन सक्छौँ । २०५४ सालमा स्थानीय निकायमा चाहिँ सबै योजनाहरु माथि पठाउने गरिन्थ्यो । अहिले वडामै छलफल गरेर विकास योजना तय गर्ने भएकोले आफैं प्रत्यक्ष रुपमा सहभागी हुन र अधिकार प्रयोग गर्न पाउँछौँ ।
तपाईले अहिले गरेका विकास निर्माणका कामहरु चुनावी घोषणापत्र अनुसार नै गर्नुभएको छ ?
धेरैजसो कामहरु घोषणापत्र अनुसार नै गरेका छौँ । महानगरको पहिलो बैठकबाट महानगरलाई पेपरलेस गर्ने निर्णय गरियो तर विविध कारणले अहिलेसम्म त्यो हुन सकेको छैन । यस विषयमा अब आइटीका विज्ञहरुसँग बसेर छलफल गरी वडा नं. ७ भरि गरिने काम तथा कारोबारहरू डिजिटल प्रविधि मार्फत गर्न लागिरहेका छौँ ।
यो बिचमा तपाईको नेतृत्वमा भएका मुख्य उपलब्धीहरु के–के हुन् ?
हामी निर्वाचित भएर गएपछि पुर्याएको मुख्य उपलब्धि भनेको यहाँबाट पाउने सेवा नै हो । किनकी त्यो बेलामा कर्मचारीहरुले जनतालाई साना–साना कुरामा समेत अति नै दु:ख दिएका कुराहरु अहिले हामीलाई भनिरहेका छन् । मलाई लाग्छ अहिले हामीले दिएको सेवाबाट वडावासीहरु निकै खुशी छन् ।
जनतालाई सेवादिने कामलाई व्यवस्थित बनाउनु भयो । विकास निर्माणका क्षेत्रमा चाहिँ के–के कामहरु भए ?
विकास निर्माणको क्षेत्रमा हामीले बाटो निर्माण, सडक बत्ति, पानी लगायतका क्षेत्रहरुमा धेरै काम गरेका छौँ । स्थानीय आवश्यकता अनुसार योजनाहरु १,२,३ गरि प्राथमिकीकरण गरेर कामहरु गर्दै आएका छौँ । यो वर्ष अलिकति बजेट बढाउन सकियो भने स्थानीय रुपमा गर्नुपर्ने झण्डै ६०–७० प्रतिशत विकास निर्माणका कामहरु हामीले सक्नेछौँ ।
स्थानीय विकास निर्माणका खास कामहरु आउँदो आर्थिक बर्षमा सकिन्छ ?
आर्थिक बर्षमा पनि सकिदैन । किनकी कतिपय हामीले पिच गरेका छौँ त्यो एक बर्ष पनि नटिक्ने भएको छ । महानगरपालिकाले क्वालिटी चेक गर्ने कुरा हो । अरु ढलान गर्ने, भित्री बाटोहरुमा इन्टरलक राख्ने भनेको हाम्रो इनिसियसनमा हुने भयो । त्यो पनि कतिपय कुराहरु हामीले हेर्दा, प्राविधिकले हेर्दा, अझ काम गरिसक्दा मात्र कहाँ कस्तो भयो बुझ सकिने रहेछ ।
भनेपछि तपाईको वडाले गरेको काम गुणस्तरीय छैनन् भन्न खोज्नुभएको हो ?
हैन ! त्यस्तो पनि भन्न मिल्दैन । हामीले गरेका कामहरुमा खासै समस्या छैन । अहिले हामीले जुन इन्टरलकहरु छापेका छौँ नि त्यो चाहिँ कति गुणस्तरको छ, त्यो बारेमा बुझ्नुपर्छ । उत्पादन हुने ठाउँ वा निश्चित कम्पनी तोक्ने हो भने त्यसको क्वालिटीमा समानता आउने थियो । तर बेच्ने ठाउँमा त्यसको कति क्वालिटी छ भनेर जाँच्ने कुनै मापदण्ड छैन ।
भनेपछि जहाँ उत्पादन हुन्छ, उत्पादनको गुणस्तरमा नै फरक पर्छ ?
त्यो चाहिँ कस्तो हो भने कहिले राम्रो ठाउँमा पनि पर्ने रहेछ भने कहिले चाहिँ नराम्रो ठाउँमा पनि पर्ने रहेछ । कतिपय कुराहरु, सरकार, महानगरपालिकाले पनि यस्ता कुराहरु सम्झाइदियो भने त्यो अनुसारले गर्न सकिन्थ्यो । त्यसो भएको छैन । अहिले त बत्ती आएकाले त्यो लागू गर्न सकिन्थ्यो । पहिले त बत्ती हुदैनथ्यो । मान्छेले सिमेन्ट फिटिसकेको हुन्छ । अब प्रोडक्टवालाहरुले त फाल्दैन । त्यहि रियूज गर्ने हो । अहिले त बत्ती छ तर त्यसको गुणस्तर न सरकारले न महानगरपालिकाले नै हेरेको छ ।
महानगरमा त तपाईकै पार्टीको मेयर हुनुहुन्छ, कुरा गर्नुभएको छैन ?
यी कुराहरु मैले धेरै पटक निकालिसकेको छु । कोर एरियाको वडाहरुलाई जति चाहिदैन, हाम्रो जस्तो रिङरोड एरियालाई धेरै बजेट चाहिन्छ । हाम्रा रिङरोड वरिपरिको वडाहरुको रिङरोडमा छोएको र रिङरोडको नजिकको जग्गाहरु छ भने त्यो टुक्राउन दिनु नै हुदैँन र त्यसलाई जसरी भएपनि कमर्सियल भवन, हस्पिटल वा जे मा भएपनि उपयोग गर्नुपर्छ । अब चाहिँ हामीले त्यसलाई पार्किङको व्यवस्था दिने हो भने नक्सा पास गर्न सकिन्छ कि । अहिले महानगरपालिकाले आफ्नो छुट्टै पार्किङको व्यवस्था कहाँ गरेको छ र ? त्यो दिन नसकेपछि कमसेकम यो रिङरोड वरिपरि सम्भावना धेरै थियो । यो कुरा मैले बारम्बार राख्दा पनि कार्यान्वयन हुन सकेन ।
वडाले गर्ने कामहरुहरुको तपाईहरु आफैँले पनि नीति नियम बनाउन सक्नुहुन्छ नी हैन र ?
होइन ! अब वडामा गर्ने कुराहरु भनेको भनौं न अहिले मेडिकियर पछाडीको झण्डै १० रोपनी जग्गा गुठी संस्थानले उठाउन नसकेपछि मुन्द्रे सुन्द्रेहरुलाई मैले डोजर लगाएर उठाए । तर मैले मेयरलाई भनेको थिए, त्यहाँ टेन्डर आह्वान गरेर त्यो जग्गा भाडामा दिन लागेकाले हामीले रोक्नुपर्यो भनेर । तर मेरो कुरा सुनुवाई भएन । अब मैले रोक्ने पनि सम्भावना भएन । गुठी संस्थालाई त थर्काएको थिए । तर सम्बन्धित निकायले कमसेकम काठमाडौँ महानगरपालिकाले १० रोपनी जग्गा पाएकोमा ल गुठी संस्थाले टेन्डर हाल्यो तर महानगरपालिकाले टेन्डर लिएर एउटा मेट्रो हस्पिटल त बनाउन सकिन्थ्यो नि । ७ नम्बर वडामा ३–४ वटा नर्सिङ होमको ठाउँमा एउटा मेट्रो हस्पिटल बनाउन पाईयो भने त्यसले जनातामा सस्तो सेवा पुग्छ नी । त्यो योजना बनाएको थिए तर योजना सफल भएन ।
अनि त्यसपछि अगाडी बढ्यो त ?
अब मुद्दा लगाएर जाउँ भन्छ, मलाई भने मुद्दा केलाएर बस्ने सम्भावना छैन जस्तो लाग्छ । मेरो कार्यकालमा नक्सा ल्याउँछ, या कुरा गर्न आउँछ भने मलाई चित्त बुझ्यो भने काम गर्न दिने हो होइन भने रोक्ने हो ।
अब भविष्यमा चाहिँ के गर्ने योजनामा हुनुहुन्छ ?
सबभन्दा ठूलो समस्या भनेको जनचेतना हो जस्तो लाग्छ । चेतना राम्रो आयो भने, अहिले त आफ्नै पार्टीको मान्छेमा पनि राम्रो चेतना आएको जस्तो लाग्दैन । मैले देखे अनुसार सबै जनतामा राम्रो चेतना आयो भने यो देश बनाउन धेरै बेर लाग्दैन । मैले पाउनुपर्ने अधिकार मात्र खोज्ने होइन कि मैले बहन गनुपर्ने उत्तरदायित्व पनि निभाउनु पर्छ भन्ने कुरा बिर्सिएकाले पनि देश यस्तो अवस्थामा पुगेको जस्तो लाग्छ ।
तपाई त वडाध्यक्ष हुनुहुन्छ, यो काम त वडावासीहरुलाई तपाईले गराउँदा पनि त भयो नि ?
कोही मान्छेलाई परिवर्तन गर्ने भन्ने कुरा आफू भित्रबाट लाग्यो भने गर्ने कुरा हो, नत्र भने एउटा व्यक्तिले मात्र गर्न सक्दैन । कानूनभित्र पनि कति कुराहरु कार्यान्वयन गर्ने भनिएको छ तर ती कुरा कार्यान्वयन नगर्दा के हुन्छ भन्ने कुरा छैन । महानगरपालिकाले नक्सा जति पास गरेर दिएको छ, त्यो भन्दा बढी बनायो भने भत्काउन सक्ने क्षमता छैन । अहिले त अझ प्रमाणीकरण गरिदियो । त्यसले गर्दा अहिले सबैभन्दा बढी विकृति के मा आयो भने २ तलाको घर बनाउने इजाजत लिएको छ भने ५ तलासम्म बनाउने यसले चाहिँ समस्या ल्याईरहेको छ । हाम्रो जस्तो देश जहाँ भूकम्पको डर छ, यहाँ यस्ता कामलाई रोक्नै पथ्र्यो र कति तला जानेको कति हिसाबले फाउण्डेशन बनाउनु पर्छ भन्ने कुरा हुनुपथ्र्यो ।
भनेपछि त्यो एउटा कमजोरीको पाटो हो र त्यसलाई सुधार्नु जरुरी छ ?
हजुर त्यसलाई सुधार्नुपर्छ ।
तपाईले एउटा त त्यहाँ हस्पिटल बनाउने योजना बनाउनु भएको थियो, अर्को पार्कहरुको बारेमा तपाईको विचार के छ ?
पार्कहरुको बारेमा हाम्रो गौरीघाटमा एउटा मचका भन्ने थियो । त्यो सीपीसीले डिजाइन बनाएर एउटा पार्क बनाउन लागेका छौँ । अर्को भनेको शंकरज्योति क्लब अगाडी त्यो सीपीसीले नापेर लगेको छ र ५–६ आना जग्गा व्यक्तिले लालपूर्जा ल्याएकोलाई सरकारले क्यानसिल गर्न सक्नुपर्यो कि बाकिँ रहेको ठाउँमा हामीले त्यहाँ बगैंचा बनाउने छौँ । अनि बाङकोटको डाँडालाई पनि हामीेले सीपीसीलाई डिजाइन गर्न दिइसक्यौँ र अन्य खाली भएका ठाउँमा सार्वजनिक ट्वाईलेट र बगैंचा बनाउन सकिन्छ कि भन्ने हिसाबले सिपीसीसँग कुरा गरिरहेका छौँ ।
तपाईको वडामा विश्वसम्पदा सूचीका निकै भागहरु पर्छन् ?
पर्दैन ! हाम्रो क्षेत्रमा पशुपति र बौद्ध पर्ने हो । तर हामी चाहिँ माध्यम हौँ । चावेल चाहिँ अहिले पनि सबै ठाउँमा जाने माध्यम मात्र बनिरहेको छ, तर चावेललाई साध्य बनाउनुपर्छ भन्ने मेरो कुरा हो । किनकी यहाँ इन्द्रचोक पनि यही हुनुपर्यो, भोटाहिटि पनि यहाँ नै हुनुपर्र्यो, बीर हस्पिटल पनि यहिँ हुनुपर्यो भन्ने मेरो कुरा हो तर त्यो सुनुवाई भएन । कमसेकम यो ठाउँमा भएका ठूला जग्गाहरुलाई कसरी विकास र प्रयोग गर्ने भन्ने सामूहिक योजनै बनाउन सकिएन ।
यो वडाको अधिकार क्षेत्रमा पर्ने रहेनछ ?
यो वडाको अधिकारभित्र पर्दैन । महानगरपालिकाले नै ठूलो योजना ल्याउनुपर्छ र माथि बसेर हेरेर कुन–कुन ठाउँमा के–के बनाउनुपर्छ र कुन–कुन ठाउँमा के–के आवश्यक छ भन्ने कुरा नै बुझेन । अब चावेलमा हेर्ने हो भने ओवर हेडब्रिज चाहिन्छ नि हैन । हामीले त्यहिँ कुरा राखेको थियौँ । तर महानगरपालिकाका कर्मचारीले त्यो ठाउँमा ब्रिज राख्न त्यहाँका मान्छेले दिदैँन भन्छन् । मैले म कुरा गर्छु पनि भनेको थिए । अब रत्नपार्क, रिङरोडमा जस्तै खुल्ला ठाउँ खोजेर त हुदैँन । अब हामीले गोविन्द अधिकारीको घरभन्दा यताबाट ब्रिज राख्ने योजना बनाएका छौँ । यो काम प्रक्रियामा गएको छ भनिएको छ । २०५४ सालदेखि प्राथमिकता रहेको ठाउँ हो यो ।
तपाईको वडामा पार्टी र जनप्रतिनिधिको सम्बन्धमा सुमधुरता नभएको हो ?
त्यो होइन, तर पार्टी संरचना तल आएकै छैन । संरचना नआएपछि हामीले गर्ने कामहरुमा साथीहरुसँग सरसल्लाह गरिरहेका छौं । संरचना अभावले सबैलाई समेट्न नसकिएको हुनसक्छ तर पार्टीका साथीहरुले त्यस्ता काममा आलोचना गर्नुभन्दा हामीलाई सल्लाह सुझाव दिएर अघि बढ्नुपर्छ जस्तो लाग्छ । डिलमा बसेर यसले के बिगार्छ, अब यसलाई पेल्छु भनेर हिडेर चाहिँ हुँदैन ।
तपाईले पनि वास्ता नगर्नु भएको हो कि ?
मैले वास्ता नगरेको होइन । वडामा आउँदा मेरै अवस्था तपाईहरुले देख्नुभएको नै छ । कतिपय समयमा पार्टीका साथीहरुले हामीलाई पेल्ने र होच्याउने काम गर्नु हुँदो रहेछ । अहिले एकता नटुङ्गिएकोले पार्टी भित्रै सत्तापक्ष र प्रतिपक्ष जस्तै देखिने रहेछ ।
यस्तो समस्या त तपाईको वडामा मात्र नभएर अरु जनप्रतिनिधिहरुलाई पनि छ ? तपाईले बुझ्नुभएको छ ?
मलाई थाहा छ । यो समस्या मेरो वडाको मात्र होइन । जुन ठाउँमा, जुन व्यक्तिले, जुन पदका लागि दावी गरे त्यो नपाएपछि त्यो पदका आकांक्षीहरुले यस्तो तानामाना बुनेको जस्तो मलाई लाग्छ । तर पार्टीले पनि टाउको र घाटी जोडेर हुँदैन, हात खुट्टा पनि कसरी जोड्नुपर्छ भनेर जान्नुपर्छ । अहिले २ तिहाईको सरकार छ । प्रदेशमा त्यस्तै छ, स्थानीय तहमा पनि त्यस्तै छ । पार्टी एकता झ्याप्पै गरेर जो सुकै रिसाओस् तर सम्हालेर लगेको भए काम गर्न यो अवसर सदुपयोग हुने थियो ।
तल काम त भैरहेको छ, प्रचार मात्र भएन भन्ने छ नि ?
प्रचार कसले गर्ने ? पार्टीका सदस्यहरुले नै विरोध गर्न थालेका छन् । अहिले मलाई नेपाली काँग्रेसका मान्छेहरुले तपाईले राम्रो काम गरिरहनु भएको छ, कुन ठाउँमा तपाईलाई हाम्रो सहयोग चाहिन्छ, हामी गर्न तयार छौँ भनेका छन् । तर हाम्रै साथीहरुबाट सहयोग नआउँदा स्थिति अलि अप्ठ्यारो छ ।
एकता तल आइसकेपछि अलि सहज हुन्छ की ?
एकताको कुरा नै होइन । एकता भन्दापनि माओवादीको तर्फबाट कतैपनि जितेको छैन । उनीहरुले ल्याएको सबै कुरा गर्न सकिन्छ भन्ने पनि त हुदँैन नि । अब जुन ठाउँमा बाटोको विवाद भयो भनेको छ, उसले लालपूर्जा ल्याएर, नक्सा बनाएको ठाउँमा मुद्दा हालेर जान सक्नुपर्यो नि । बाटोमै घर बनाउन दिने वडध्यक्षलाई मुद्दा हाल्न सकिदैन ?
तपाई अहिले आफ्नो कार्यकालको मध्यान्हमा हुनुहुन्छ, गएका २ बर्ष राम्रा थिए कि आउँदा २ बर्ष राम्रा हुनेछन् ?
मलाई लाग्छ पार्टीले हामीलाई चलाउनु पर्ने हो । हामी आफैंले चलेर यहाँसम्म आएका छौँ भने अब आउने पार्टीको संरचनाले हामीलाई राम्रोसँग गाइड गर्छ भने आउँदा दिन अझै राम्रा छन् जस्तो मलाई लाग्छ ।
अन्त्यमा वडावासीलाई केही भन्नु छ ?
सबैमा आफ्नो स्वार्थ मात्र होइन, आफूले गर्नुपर्ने सामाजिक दायित्व र आफूले आफ्नो देशलाई गर्नुपर्ने उत्तरदायित्व बहन गर्न सकियो भने परिवर्तन हाम्रै पालामा पनि सम्भव छ । त्यसो भएमा आउँदा पुस्तालाई हामीले सरकारले भनेजस्तो समृद्ध नेपाल हस्तान्तरण गर्न सक्छौँ ।