०८ मङ्सिर २०७६, काडमाडौं
आज प्रकाशित मुख्य राष्ट्रिय दैनिक पत्रिकाले स्वास्थ्यमा असमान पहुँच, नेपालमा दूतावास राख्ने तर भिसाका लागि नयाँदिल्ली पठाउने, सीमा विवाद सुल्झाउन प्रभावकारी पहल गर्नुपर्ने र देशको आर्थिक अवस्थामा देखिएका समस्यालगायतका विषयमा सम्पादकीय लेखेका छन् ।
प्रवेशाज्ञा(भिसा) दिल्लीबाट दिने परिपाटी बनाएका केही मित्रराष्ट्रहरुप्रति बेलाबेलामा प्रश्न उठ्ने गरेको विषयलाई उजागर गर्दै आज अन्नपूर्ण पोस्ट्ले सम्पादकीय लेखेको छ । सम्पादकीयमा भनिएको छ –निश्चय पनि, आआफ्नो देशमा प्रवेशाज्ञा पाउने आफ्नै नियम, काइदा र प्रक्रिया हुन्छन्, त्यसको सम्मान गर्नुपर्छ । तर, दूवतावास यही राखेर भिसाका लागि नयाँदिल्ली पठाउने व्यवहार एउटा सार्वभौम मुलुकप्रति गरिने सम्मानजनक र उचित व्यवहार होइन । यो अवस्था उत्पन्न हुनुमा हाम्रा नेता र कूटनीतिक निकाय उत्तिकै जिम्मेवार छन् ।
आज नयाँ पत्रिका दैनिकले कैलालीबाट शिक्षक बन्न डोल्पाको सेफोक्सुन्डो पुगेकी यशोधा वलीले आफ्नो हात भाचिँदा उपचारका लागि हेलिकोप्टर व्यवस्था गरेर उपचारका लागि पोखरा पुगेको विषयलाई सम्पादकीय बनाएको छ । सिंगो सुदूर पश्चिमको स्वास्थ्य अवस्था र वलीको स्वास्थ्यमा पहुँचबीचमा तुलना गर्दै ‘हात भाचिँदा हेलिकोप्टर चार्टर’ शीर्षकमा देखिएको सम्पादकीयमा भनिएको छ –राज्यले हरेक गाउँ र नगरपालिकामा सुविधासम्पन्न स्वास्थ्य केन्द्र सञ्चालन गर्ने कार्यलाई प्राथमिकतामा राख्न ढिलो भइसकेको छ ।
नेपालको आर्थिक विकासको पहिलो सम्भावना रहेको क्षेत्र जलस्रोतको विकासमा विविधिकरणको सम्भावना बढेको उल्लेख गर्दै गोखरापत्रले ‘ऊर्जाको अन्तर्राष्ट्रिय सम्भावना’ शीर्षकमा आजको सम्पादकीय लेखेको छ । सम्पादकीयमा विद्युत्को अन्तर्राष्ट्रिय बजारीकरणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ ।
सरकारले पछिल्लो समय प्रचलनमा रहेको मोटरसाइकलमार्फत यात्रु ओसार्ने सेवालाई कानुन बनाएर सहजीकरण गनुपर्ने सुझाव दिँदै आजको कान्तिपुर दैनिकले ‘सेयर राइडिङ’ रोक्ने होइन, व्यवस्थित बनाउने हो’ शीर्षकमा सम्पादकीय लेखेको छ । सरकारीशैली यस्तो सेवालाई व्यवस्थित गर्नेभन्दा निरुत्साहित पार्ने किसिमको देखिएको उल्लेख गर्दै सम्पादकीयमा राज्य सञ्चालक तथा नीति–निर्माताहरुको काम नवप्रवर्तन र प्रविधिलाई जोड दिनुपर्छ भनिएको छ ।
काठमाडौँ उपत्यकामा जाडोको समयमा धुँवा र धुलोले प्रदूषण बढ्दै गएको र त्यसले मानव स्वास्थ्यमा गम्भीर असर पारेको विषयमा नागरिक दैनिकले सम्पादकीय लेखेको छ । सम्पादकीयमा भनिएको छ –विज्ञहरुलले पनि राजधानीको वायु प्रदूषणको अवस्थाले मानव स्वास्थ्यलाई असर पारेको त्यसमा पनि विशेषगरी, मिहला बालबालिकाका र बाहिर काम गर्ने कामदार यसबाट बढी प्रभावित भएको बताएका छन् । विश्व स्वास्थ्य संगठनको प्रतिवेदनले प्रदूषणका कारण काठमाडौँ उपत्यकामा मात्रै वार्षिक झन्डै १० हजार मानिसको मृत्यु हुने गरेको जनाएको छ ।
भारतले एकपक्षीय रुपमा नेपालको कालापानीलगायतका भू–भागलाई समेटेर आफ्नो राजनीतिक नक्सा सार्वजनिक गरेपछिको उत्पन्न अवस्थाबारे आजको नेपाल समाचारपत्रले सम्पादकीय लेखेको छ । भारतले आफ्नो नक्सा ठिक भएको दावी गरेको र नेपालले पठाएको कूटनीतिक नोटबारे जवाफ नदिएको उल्लेख गर्दै नेपालले प्रभावकारी पहल जरुरी चाल्नुपर्नेमा जोड दिएको छ ।
आज प्रकाशित कारोबार दैनिकले निर्माण व्यवसायी र जनताबीच देखिएको द्वन्द्वको विषयमा सम्पादकीय लेखेको छ । ‘निर्माण व्यवसायीमात्र दोषी हेनन !’ शीर्षकमा लेखिएको सम्पमादकीयमा भनिएको छ –निर्माण व्यवसायीको विरोधमा जनता सडकमा ओर्लनु र अर्कातर्फ सरकारको विरोधमा व्यवसायी पनि सडकमै ओर्लिएको अवस्थामा सरकार भने रमिते बनेर बस्न मिल्दैन ।
त्यसैगरी आर्थिक अभियानले नेपालमा भित्रिने विप्रेषण आप्रवाह लगातार दोस्रो महिना घटेको र सरकारले अर्थतन्त्र सुध्रिएको भन्ने दावी गर्न सक्ने आधार नभएको उल्लेख गर्दै सम्पादकीय लेखेको छ । सम्पादकीयमा भनिएको छ –आयात घट्नुमा सरकारले ठूलै उपलब्धि प्राप्त गरेको भनी चर्चा गरिएको पाइन्छ । वास्तविकता भने विप्रेषण आप्रवाहमा कमी आई जनताको उपभोग घट्नु हो । मूल्य वृद्धिको दर पनि बढी भएकाले नेपालीको क्रयशक्तिमा कमी आएको यसले देखाउँछ ।