तलब बृद्धिको माग गर्दै हजारौं शिक्षक प्रदर्शनमा



१० मंसिर २०७६, काठमाडौं

आफूहरुको तलब बढाइदिन माग गर्दै क्रोएसियामा हजारौं शिक्षकले प्रदर्शन गरेका छन्।

देशको राजधानीस्थित मुख्य क्षेत्रमा सोमबार भएको प्रदर्शनमा शिक्षक र उनीहरुका समर्थक गरी २० हजार भन्दा बढी सहभागी भएका थिए। उनीहरुको तलब बृद्धिसँगै काम गर्ने वातारणमा पनि सुधार हुनुपर्ने मागसमेत उठाएको अधिकारीहरुले बताएका छन्।

गत महिना पनि उनीहरुले तलब बृद्धिको माग गर्दै आन्दोलन गरेका थिए। सेवामुलक अन्य काममा भन्दा शिक्षण क्षेत्रमा कम तलब भएको भन्दै उनीहरुले आन्दोलन गरेका हुन्।

लामो समयदेखिको असन्तुष्टि, सामाजिक प्रतिष्ठा, पेशाप्रतिको आकर्षणलगायतका विषयलाई ध्यान दिन आन्दोलनकारीहरुले आग्रह गर्दै आएका छन्। सरकारी पक्ष र आन्दोलनकारीहरुको संगठनकाबीचमा वार्ता हुन लागेको पनि जनाइएको छ।

वार्तापछि सहमति भएमा सबै विद्यालयहरु खुल्ला हुने र पढाई हुने आन्दोलनकारीहरुका नेताले बताएका छन्। प्रधानमन्त्री अन्ड्रेज प्लेङ्कोभिकले आन्दोलनकारी र सरकारबीचमा चाँडै नै सहमति हुने पत्रकारहरुलाई बताए। “बालबालिकाप्रति उत्तरदायी हुन र उनीहरुको पठनपाठन सुचारु गराउन म सबै यूनियन र यूनियन नेताहरुलाई अनुरोध गर्दछु,” उनले भने।

प्रधानमन्त्री प्लेङ्कोभिकले जतिसक्दो चाँडो आन्दोलन अन्त्य गरेर शिक्षकहरु कक्षाकोठामा फर्किने विश्वास पनि व्यक्त गरे। उनले शिक्षकहरुको तलब यसअघि पनि ११ प्रतिशत बृद्धि गरिएको स्मरण गराउँदै आन्दोलन फिर्ता लिन आग्रह पनि गरे।–सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्