‘राजनीतिक उचाई धेरै माथि पुगिसकेको थियो’ : नेता दाहाल



१० मंसिर २०७६, काठमाडौं

वास्तवमा प्रकाश अब हाम्रो एउटा पारिवारिक व्यक्ति मात्रै रहेन, उ त एउटा राजनीतिक आन्दोलनको एक हिस्सासमेत बन्यो । हामी कास्कीको अति विकट पहाडी जिल्लामा जन्मियौँ, अनि त्यसपछि चितवनमा बसाइँ सर्यौ । पारिवारिक हिसाबले हामी न्यून मध्यमवर्गीय परिवारका हौँ । हाम्रा केटाकेटीहरु पनि त्यहि अवस्थाबाट हुर्किए । प्रकाशले शिक्षा दीक्षा र लालनपालन सुविधाजनक अवस्थामा थिएन । अभाव र अप्ठ्यारो परिस्थितिको बीचबाट नै उसले प्रारम्भिक शिक्षा हासिल गरेको हो । परिवारमा तीन–तीन जना दिदीबहिनीको बीचमा एउटा भाइ, त्यो पनि कान्छो, सबैले माया गर्दथे उसलाई । सबैको प्यारो नै थियो ऊ ।

ऊ जन्मँदाखेरि नै उसको बुवा पार्टीको होल टाइमर भएर  पार्टीको काममा हिड्नुभयो । बुवा भनेर चिन्ने चिन्ने बेलामा उसको बुवा राजनीतिक रुपमै धेरै अगाडी बढिसकेको अवस्थामा बुवाका सबै गतिविधिहरु र प्रशासनका दमनका बीचमा ऊ हुर्कियो । ऊ बुझ्ने उमेरमा हुदाँदेखि नै राजनीतिमै संलग्न भयो । उसको बाल्यकाल हाम्रो राजनीतिक जीवनको बीचमै हुर्कियो । जब हामी पञ्चायत कालमा भूमिगत थियौँ, त्यो पालादेखि नै हाम्रो राजनीतिक गतिविधिका बारे बिस्तारै थाहा पाउँदै जान थाल्यो । उ जन्मँदै पोलिटिकल भयो । त्यही वातावरणमा उसको सामान्य शिक्षादीक्षा हुदैँ गयो । ऊ १२–१५ बर्षको हुँदा नहुँदै जनयुद्ध शुरु भइहाल्यो ।

उसको जीवनको मूल ट्रेन नै पोलिटिकल बन्यो । उसको व्यक्तिगत पढाई, शिक्षादिक्षा र अन्य लालन पालन, खवाइभन्दा पनि सबै जीवन नै पोलिटिकल भयो । त्यही आधारमा उ अगाडी बढ्दै गयो । हामी भूमिगत भयौँ । उसको पढाई त्यति निरन्तरता हुन सकेन । त्यही पनि विभिन्न बाधा, अवरोध र समस्याका बीच उसले विभिन्न स्कूलहरुमा पढ्दै छाड्दै गर्नुपर्‍यो । हाम्रा केटाकेटीहरुले एकै बर्षमा तीन तीनवटा स्कूलसम्म परिवर्तन गर्दै, पढ्दै गरे । उसको घरमा दिदीबहिनीहरुलाई मानसिक टर्चर दिइरहन्थ्यो त्यति बेलाको प्रशासनले । उ पनि घर छाडेर निर्वासन जीवनतिर लाग्यो । उसको मूल ट्रेण्ड नै पोलिटिकल रह्यो । उसको जीवन व्यक्तिगत नै रहेन । उसले आफ्नो अन्तिम शिक्षा पञ्जाबबाट गर्‍यो । त्यही पनि त्यहाँ ढुक्कले पढ्उने, बस्ने वातावरण थिएन । उसको दिदी रेनुको घर त्यहीँ भएकाले उसले त्यहीँ बसेर पढ्ने लेख्ने काम गरेको थियो ।

जब हामी जनयुद्धको पिकमा पुग्यौँ, तब उसले सबै कुरा छाडेर सचिवालयको जिम्मेवारी लियो । विशेषगरी उसको बुवाको सुरक्षाको जिम्मेवारीसँगसँगै उ पार्टी हेडक्वार्टरको सहजीकरण गर्ने सन्दर्भमा सचिवालयको काममा लाग्यो । उसले जति गर्‍यो, उसको चेतना र उमेरअनुसार उ एकदम कुशल रह्यो । बुवाको राजनीतिक अभियानलाई सहजीकरण गर्न र हेडक्वार्टरको सुरक्षाको व्यवस्थापन गर्न उ सफल रह्यो ।

जब प्रकाश खुला राजनीतिमा आयो, तब पार्टीले दिएको जिम्मेवारी र भूमिका निर्वाह गर्न सफल भयो । त्यति धेरै उमेर पनि थिएन प्रकाशको । त्यो उमेरमा उसले जुन ढङ्गले पार्टी अध्यक्षको सचिवालयको जिम्मेवारीमा बसेर काम गर्‍यो, त्यो चानचुने कुरा थिएन । त्यो ढङ्गको दक्षताका साथ उसले गरेको काम हेर्दा यहाँनेर कमजोरी भयो भन्ने कुनै ठाउँ नै राखेन ।

उसले गरेको त्यो ढङ्गको कार्य कुशलता हेर्दा अझै पनि पार्टीलाई ठूलो क्षति भएको छ । उ हुदाँखेरिको अवस्था र नहुँदाको अवस्था हेर्ने हो भने सिंगो पार्टीलाई अपूरणीय क्षति पुगेको छ । चुनाव आउनै लाग्दा त्यो बेला उसले गरेको युवा परिचालनको काम हेर्दा निकै महत्वपूर्ण थियो । आन्तरिक रुपमा उसले यतिधेरै युवा परिचालन गरेको थियो कि उसको काम देख्दा अहिले पनि पार्टी हेडक्वार्टरलाई उसको अभाव खड्किएको छ ।

उसको स्व्भाव सबैलाई आन्दोलनमा आकर्षित गर्न सक्ने खालको थियो । जहाँ जहाँ उसले आफ्नो सम्बन्ध जोड्थ्यो, सबै जना उबाट प्रभावित हुन्थे । धेरै युवाहरुलाई उसले कन्भिन्स गर्न सक्यो । त्यही भएर नै उसको निधनको बेला पशुपति आर्यघाटमा यति धेरै युवाहरु आएका थिए । हामीलाई के लाग्यो भने उ कति आन्तरिक रुपमा मजबुत र लोकप्रिय रहेछ भन्ने अनुभूति भयो । उसले कम्युनिष्ट आन्दोलनमा कति योगदान दिएको रहेछ त भन्ने कुराको अनुभूति गराएर गयो । त्यसैले उसको पोलिटिकल चेतना धेरै माथि पुथिसकेको थियो । आफ्नो उमेरअनुसार उसले धेरै महत्वपूर्ण ढङ्गले पोलिटिकल्ली धेरै माथि पुगिसकेको थियो । हाम्रो पार्टीमा मात्रै होइन, विपक्षी पार्टीमा समेत उसले आफ्नो अमिट छाप छाडेर गयो । उ नभए पनि त्यसको लागि हामी गर्व गर्छौ ।

मलाई के लाग्छ भने हामी भौतिकवादी हौँ । काम गर्दै जादाँ केही गल्ती कमजोरी त अवश्य हुन्छन् । यो संसारमा आलोचना गर्नेहरुको पनि कमी छैन । उ जुन ढङ्गले अघि बढ्दै थियो, उसका पछाडी पनि कुरा काट्नेहरुको कमी थिएन । हुन त मान्छे कहिल्यै पनि पूर्ण हुदैँन । काम गर्ने सिलसिलामा कसैको केही कुरा पुरा नभएपछि उसले स्वभाविक आलोचना त गर्छ नै । यसो भनिरहँदा उसले जुन स्पिरिटका साथ काम गर्‍यो, त्यो नै आफैँमा महत्वपूर्ण थियो । उ मिडियासँग पनि उत्तिकै नजिक थियो । धेरै मिडियाका साथीहरुलाई उसले मिलाएर लैजान सक्थ्यो । उसले नेपाली जनताको आन्दोलनमा जुन योगदान दियो, त्यो योगदान आफैँमा भारी र महत्वपूर्ण छ ।

(प्रज्ञा स्मृति प्रतिष्ठानद्वारा प्रकाशित प्रकाश दाहाल स्मृति ग्रन्थबाट साभार)

प्रतिक्रिया दिनुहोस्