३५ रुपैयाँ किलोको प्याज बजारमा दुई सय ५० रुपैयाँमा बिक्री
१५ मङ्सिर २०७६, काठमाडौं
आज मङ्सिर १५ गते आइतबार देशका प्रमुख राष्ट्रिय दैनिक पत्रिकाहरुमा उपनिर्वाचनको समाचारले प्राथमिकता पाएका छन् । त्यस्तै, प्रधानमन्त्री केपी ओलीलाई भारतीय समकक्षी नरेन्द्र मोदीले पठाएको सन्देशको बारेमा पनि समाचारहरु प्रकाशित छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गर्दै सन्देश पठाएका छन् । उनले अप्रेसन गरी आइसियूमा रहेका प्रधानमन्त्री ओली चाँडो निको हुने विश्वास गरेका छन् । भारतीय प्रधानमन्त्री मोदीले समकक्षी ओलीको उपचारका लागि भारतले सहयोग गर्ने प्रतिबद्धता गरेका छन् ।
नयाँ पत्रिका दैनिकका अनुसार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी ओलीको थप उपचार भारतमा गर्न कूटनीतिक प्रस्ताव गरेका छन् । प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्ने चर्चा चलिरहेका बेला भारतीय प्रधानमन्त्री मोदीले कूटनीतिक च्यानलबाट शनिबार उपचारका प्रस्ताव गरेका हुन् । नेपालको परराष्ट्र मन्त्रालयमा पठाइएको पत्रमा मोदीले प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गर्दै स्वास्थ्य लाभपछि उनीसँग निरन्तर सहकार्य जारी राख्ने सुभेच्छा पनि व्यक्ति गरेको समाचारमा उल्ल्ेख छ ।
पत्रिकामा बहुमूल्य प्याज : ६ अर्बको आयात, दुई करोडको निर्यात शीर्षकमा पनि समचार छ । वार्षिक करिब ६ अर्ब रुपैयाँबराबरको प्याज आयात हुँदा एक करोड ८९ लाखको मात्रै निर्यात भएको छ । भन्सार विभागका अनुसार आव ०७५र७६ मा एक लाख ७८ हजार क्विन्टल प्याज आयात भयो । यसरी आयात गर्दा देशले पाँच अर्ब ६२ करोड रुपैयाँ विदेश पठाएको छ । चालू आर्थिक वर्षको पहिलो चार महिनामा एक अर्ब ५८ करोड ७७ लाखको ४१ हजार नौ सय क्विन्टल प्याज आयात भएको छ । आयातको बढ्दो ग्राफलाई मूल्यांकन गर्दा चालू आर्थिक वर्षमा ६ अर्बको प्याज भित्रने अवस्था छ । विदेशी उत्पादनमा भर परेकाले नेपाली बजारमा पनि प्याजको मूल्य इतिहासमै उच्च बिन्दुमा पुगेको छ । १० मंसिरयता काठमाडौंका खुद्रा बजारमा प्रतिकेजी दुई सय ५० रुपैयाँमा कारोबार भएको छ ।
भारतीय बजार रक्सौलमा शनिबार प्याजको मूल्य प्रतिकेजी सय रुपैयाँ छ । तर, नेपाल भित्र्याउँदा भन्सार छलेर ३५ रुपैयाँ मात्रै मूल्यांकन गरिएको छ । जब कि वीरगन्ज छिरेलगत्तै प्याज दुई सय रुपैयाँमा कारोबार भएको छ । काठमाडौं आउँदा खुद्रा बजारमा दुई सय ५० रुपैयाँसम्म पर्छ । वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी विमलकुमार साहले वीरगन्ज भन्सार कार्यालयमा प्याजको मूल्य प्रतिकेजी ३५ रुपैयाँ २० पैसा (२२ भारु) रहेको बताए । त्यसमा आयातकर्ताले १० प्रतिशत भन्सार मूल्य, पाँच प्रतिशत अग्रिम आयकर र पाँच प्रतिशत कृषि सुधार शुल्क तिर्नुपर्छ । ती कर समावेश गर्दा वीरगन्ज भन्सारमा प्याजको मूल्य प्रतिकेजी ४२ रुपैयाँ २४ पैसा हुन आउँछ ।
अन्नपूर्ण पोष्ट दैनिकमा सिद्धाबाबा नामले परिचित कृष्णदासजी बलात्कार आरोपमा मुछिएका छन् । कृष्णदासजीले चतारास्थित आश्रममै आफूलाई बलात्कार गरेको उजुरी एक महिलाले दिएकी हुन् । काठमाडौँकी ती महिलाले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा बुधबार जाहेरी दिएपछि प्रहरीले अनुसन्धान थालेको छ । यता, कृष्णदासजीले भने आफूमाथि लागेको बलात्कार आरोप निराधार भएको बताएका छन् । उनले यो मातृत्वको गलत प्रयोग भएको प्रतिक्रिया दिए । विराटनगरस्थित विराट नर्सिङहोममा बिहीबारदेखि उपचाररत उनले शनिबार भने, ‘मैले धर्म र धार्मिक क्षेत्रका लागि चलाएको अभियानप्रतिको प्रहार हो ।’ उनले घटनालाई स्त्री बम प्रहारसमेत भने ।
नागरिक दैनिकका अनुसार प्रधानमन्त्री केपी शर्मालाई मिर्गौला फेर्न विदेश लाने तयारी भइरहेको छ । १२ वर्षअघि प्रत्यारोपण गरिएको उनको मिर्गौलाले काम गर्न छाडेपछि अर्को मिर्गौला प्रत्यरोपण गर्न लागिएको हो । स्रोतका अनुसार प्रत्यारोपणका लागि नजिकका आफन्तहरुको मिर्गौला परीक्षण भइरहेको छ । उनको स्वास्थ्य स्थितिबारे जानकारी दिने क्रममा शुक्रबार दिउँसो गरिएको पत्रकार सम्मेलनमा निजी चिकित्सक दिव्या सिंहले घाउ निको भए लगत्तै प्रत्यारोपण गर्ने तयारी भइरहको जानकारी दिएकी थिइन् । प्रधानमन्त्री ओलीका लागि दुई आफन्तले मिर्गौला दिने भएपछि प्रत्यारोपणका लागि चिकित्सकहरुको छलफलमा जुटेका छन् । प्रत्यारोपणका लागि उनलाई विदशे लाने भनिए पनि कुनै देश भन्नेचाहिँ अहिलेसम्म तय भइनसकेको स्रोतको भनाइ छ ।
कान्तिपुरदैनिकमा एकतापछि समाजवादी पार्टीले सत्ता छाड्ने समाचार छ । समाजवादी पार्टी रराष्ट्रिय जनता पार्टी एकीकरण गर्न अनौपचारिक संवादमा जुटेका छन् । पार्टी एकीकरणमा सहमति भएकै दिन सरकार छाड्नेमा आश्वास्त तुल्याएपछि राजपासित अनौपचारिक संवाद अघि बढेको हो । राजपाले यसअघि पार्टी एकीकरणका लागि समाजवादीले सरकार छाड्नुपर्ने सर्त अघि सारेको थियो । आफूले सरकार छाड्दा राजपा सरकारमा जान सक्ने भन्दै समाजवादीले तत्काल सत्ता नछाड्ने निर्णय लिएको थियो । सरकारको सवाललाई लिएर एकीकरण प्रयास टुट्न नदिन दुवै पार्टीका केही नेता पछिल्ला दिन सक्रिय भएका छन् ।