राष्ट्रपतिबाट सागको उद्घाटन आज हुँदै



१५ मंसिर २०७६, काठमाडौं

दक्षिण एसियाली खेलकूद (साग)को १३ औं संस्करणको औपचारिक उद्घाटन समारोह आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ।

साँझ ५ बजेदेखि शुरु हुने समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको पनि उपस्थिति रहने छ। सन् १९८४ मा नेपालले नै पहिलो पटक सागको आयोजना गरेको थियो।

त्यसपछि सन् १९९९ मा आठौं संस्करणको आयोजना गरेको नेपालले तेस्रो पटक सागको आयोजना गर्ने जिम्मेवारी पाएको हो। समयमै पूर्वाधार तयार नहुँदा पटक–पटक मिती सरेपनि अन्ततः साग आयोजना हुने भएको छ।

झण्डै १० हजारको संख्यामा सहभागीहरुले नेपालको कला, संस्कृति लगायत अन्य विविध विषयमा आधारित रहेर प्रस्तुती दिने छन्। उद्घाटन समारोह झण्डै ३ घण्टा १५ मिनेट संचालन हुनेछ। उद्घाटनका लागि विभागीय टोलीहरु पुलिस, आर्मी र एपीएफसंगै विभिन्न विद्यालयहरुको टोलीले साथ दिनेछन्।

सागमा ७ राष्ट्रका खेलाडीले २६ खेलमा प्रतिस्पर्धा गर्नेछन्। यसपटक सहभागी खेलाडीले ३१७ स्वर्ण, ३१७ रजत र ४८१ कास्यका लागि प्रतिस्पर्धा गर्नेछन्। यसक्रममा सबै राष्ट्र गरेर कुल २ हजार ७ सय १५ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

सागमा कुल अफिसियल संख्या ७ सय ६९ रहेको छ। नेपालबाट सर्वाधिक ५ सय ९६ खेलाडी रहेका छन्। नेपालले मात्र सबै २६ खेलमा प्रतिस्पर्धा गर्दैछ।

सागअन्तर्गत काठमाडौंमा १९, पोखरामा ८ र जनकपुरमा १ खेल हुँदैछ। फुटबल र क्रिकेटतर्फ पुरुषको खेल काठमाडौं र महिलाको खेल पोखरामा हुँदैछ।

Related news:

 

१३औं सागः मस्कटमा प्रस्तुत कृष्णसारको खेल कला[समावेश २६ खेल हेर्नुस्]

 

साग पूर्वसन्ध्या [तस्वीर हेर्नुस्]

 

तेह्रौं साग : नेपाल र भारत भिड्दै

प्रतिक्रिया दिनुहोस्