१८ मंसिर २०७६, काठमाडौं
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ले २ दिनभित्र उप निर्वाचन भएका ५२ वटै स्थानको समीक्षा पठाउन सम्बन्धित जिल्लाहरुलाई निर्देशन दिएको छ।
बुधबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको सचिवालयको बैठकले २ दिनभित्र सबै निर्वाचन भएका स्थानको समीक्षा केन्द्रमा पठाउन निर्देशन दिने निर्णय गरेको हो।
यस्तै बैठकमा प्रधानमन्त्रीको स्वास्थ्य अवस्था, स्थानीय निर्वाचन लगायतका विषयमा छलफल भएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्टले जानकारी दिए। ‘निर्वाचन भएका सबै क्षेत्रको समीक्षा २ दिनभित्र केन्द्रमा पठाउन निर्देशन दिने निर्णय भएको छ।’उनले भने।
उप निर्वाचनमा प्रदेशसभा भक्तपुर र धरान उपमहानगरपालिका लगायत केही वडामा नेकपा पराजित भएको थियो। केही स्थानमा अन्तर्घातका कारण पनि पराजय भएको चर्चा चलेपछि नेकपाले सम्बन्धित क्षेत्रलाई नै समीक्षा गर्न निर्देशन दिएको हो।
सम्बन्धित क्षेत्रको समीक्षा आएपछि २३ मंसिरमा बस्ने सचिवालयको अर्को बैठकले उप निर्वाचनको व्यवस्थित समीक्षा गर्ने उनले बताए।
पार्टीको कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछि पहिलो पटक प्रचण्डको अध्यक्षतामा बैठक बसेको हो।