धैर्य गरौं, संस्थामा देख्ने गरि परिवर्तन आउँछ : डा. हेमराज शर्मा, महासचिव एनआरएनए (भिडियो सहित)



०६ पुस २०७६, लन्डन

गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव डा. हेमराज शर्माले आफ्नो दुई वर्षे कार्यकालमा कुनै परिवर्तन नआए अर्को पटक नेतृत्वको चुनावी मैदानमा आफू नहुने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले गैरआवासीय नेपाली संघसँग सिधा संवाद कार्यक्रममार्फत् शनिवार यस्तो प्रतिबद्धता गरेका हुन् ।

एनआरएनबारे सामाजिक सञ्जालमा आएका अनेकन टिप्पणीको जवाफ दिँदै एनआरएनमा अहिलेसम्म भइरहेका गतिविधि सिधा संवाद कार्यक्रममार्फत् स्पष्ट पारे ।

महासचिव डा. शर्माले एनआरएनले अहिले लिएको अर्जुनदृष्टि लाप्राक नमुना बस्ती हस्तान्तरण, आउँदो दुई वर्षभित्र गरिने कार्ययोजना तयार, १० अर्बको संगठित लगानी परियोजनाको खाका, नेपाल सरकारले अगाडि सारेको भिजिट नेपाल २०२० परियोजना सफल पार्ने, वैदेशिक कल्याणकारी कोषको रकम वृद्धि, च्यारिटी कार्यक्रम एकद्वार प्रणालीबाट लैजाने र एनआरएनको छवि सुधार्ने रहेको स्पष्ट पारे ।

भिडियो कन्फेन्समार्फत गत साता सम्पन्न एनआरएनको बैठकले गरेको निर्णयबारे सामाजिक सञ्जालमा आएका गुनासको जवाफ दिँदै महासचिव डा. शर्माले भने, ‘हामी पनि मानव हौं, हाम्रा पनि कमीकमजोरी हुन्छन् । तपाईंहरुले गरेको आलोचनाले हामीलाई सुध्रिने अवसर दिन्छ । आलोचना गर्नुहोस् । तर आलोचना गर्दा स्वस्थ्य र तथ्यपरक हुनुपर्छ ।’

सिधा संवाद कार्यक्रममा अधिकांश गुनासाहरु गत साता बसेको बैठकमा भएका निर्णयमा आधारित थिए । ती गुनासाहरुलाई महासचिव डा. शर्माले सालिन ढंगले जवाफ दिएका थिए ।

एक घण्टाभन्दा बढी समयसम्म चलेको सिधा संवाद कार्यक्रममा एनआरएनको संगठन संरचना परिवर्तन गरेर स्मार्ट एनआरएनको बाटोमा संस्था अघि बढेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्