१०८ घण्टाको लागि भूमिगत समाधि लिएका एक युवकको मृत्यु



०७ पुष २०७६, काठमाडौं

भारतको छत्तिसगढस्थित महासमुन्दमा समाधि–साधनाको लागि बसेको एक युवकको ज्यान गएको छ । मृतक ३० वर्षे युवक चमन दास जोशीले पाँच वर्षदेखि हरेक वर्ष यस्तै खालको खतरनाक समाधि लिइरहेका थिए ।

पहिलो वर्ष २४ घण्टा, दोस्रो वर्ष ४८ घण्टा, तेस्रो वर्ष ७२ घण्टा र चौथो वर्ष ९६ घण्टाको समाधि लिएका थिए । अघिल्ला चार पटक चमनले समाधि सक्दा उनी बेहोशीको अवस्थामा निकालिएका थिए । तर, पनि उनले आफ्नो समाधिलाई विराम लगाएनन् ।

पछिल्लो पटक, डिसेम्बर १६ विहान ८ बजे उनले पाँचौं पटक १०८ घण्टाको समाधि सुरु गरे । समाधिको लागि युवकका अनुयायीहरुले चार फिट गहिरो खाल्टो तयार पारेका थिए । सेता वस्त्र लगाएर युवकले पुजा–अर्चना गरेर खाल्टोमा समाधि सुरु गरेका थिए । उनी समाधिमा बसेपछि उनका अनुयायीले खाल्डोलाई पटरीले ढाकेर माथिबाट माटो हालेका थिए ।

पाँच दिनपछि निकाल्दा मृत फेला

समाधि सबेको पाँच दिनपछि चमनलाई  खाल्टोबाट बाहिर निकालियो । खाल्टोबाट निकाल्दा उनी होसमा थिएनन् । त्यसैले उनलाई अस्पताललाई लगिएको थियो तर त्यहाँ चिकित्सकहरुले उनलाई मृत घोषित गरिदिए ।

गाउँलेका अनुसार चमनले विवाह नगरी बसेका थिए । उनी एक्लै वस्थे र अघिल्लो वर्षदेखि सतनाम सन्देश नामक सम्प्रदायका प्रवर्तक भएर तप, साधना गर्थे ।

त्यस क्रममा उनका केही भक्त पनि बनेका थिए । उनी घर नजिक रहेको निजी खलिहानमा समाधिमा बस्थे । तपोबलबाट भूमिगत समाधिको उनमा चाहनाले प्राणघातक साबित भयो र उनी सधैंका लागि समाधिस्थ भए ।

प्रतिक्रिया दिनुहोस्