देशैभरी ह्वात्तै बढ्यो चिसो : तापक्रम वर्षकै कम



१० पुस २०७६, काठमाडौं

काठमाडौँ उपत्यकाको तापक्रम १ डिग्रीमा झरेको छ । मौसम पूर्वानुमान महाशाखाको अनुसार काठमाडौंको तापक्रम यस वर्षकै कम मापन गरिएको छ ।

काठमाडौं उपत्यकाको तापक्रम दिनानुदिन घट्ने क्रममा रहेको छ ।  मौसमविद् विभूति पोखरेलका अनुसार तापक्रम निरन्तर घट्ने क्रममा रहेको छ । अबको केही दिन तापक्रम घटबढ भइरहने उनले बताए ।

मौसमविद् पोखरेलका अनुसार राति बद्ली भए दिउँसो तापक्रम बढ्ने र आकाश खुला भए तापक्रम घट्ने हुन्छ । पश्चिम तराईका जिल्लामा पनि चिसो ह्वात्तै बढेको छ । चिसो बढेसँगै तराईका अधिकांश जिल्लामा हुस्सु र शितलहरले जनजीवन कष्टकर बन्दै गएको छ । चिसोबाट विशेष गरी वृद्धवृद्धा र बालबालिका बढी प्रभाति हुने गरेकाले चिकित्सकले सावधानी अपनाउन सुझाव दिएका छन् ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम माइनस ६ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्