खण्डग्रास सूर्यग्रहण : बिहान ८:४२ मा शुरु ११ः३१ बजे समाप्त



१० पुस २०७६, काठमाडौं

आज बिहान खण्डग्रास (आधा ढाक्ने) सूर्यग्रहण लाग्दैछ । पौष कृष्ण औंसीका दिन बिहान ८ः४२ मा ग्रहणले स्पर्श गर्ने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमका अनुसार पश्चिम र नैऋत्य कोणको बीचबाट बिहान ग्रहण शुरु हुनेछ भने पूर्व र आग्नेय कोणको बीचबाट समाप्त हुनेछ ।

ग्रहण बिहान ८ः४२ मा शुरु , १०ः०१ बजे मध्य हुने र ११ः३१ बजे समाप्त हुने बताइएको छ ।

ग्रहण लाग्नुभन्दा चार प्रहर (१२ घण्टा) अघि अर्थात् पुस ९ गते बेलुकी ८ः४२ देखि बालक, वृद्ध र रोगी बाहेकलाई शास्त्रीय रुपमा भोजन निषेध रहेको उनले सुनाए । ग्रहणका बेलामा खानपिनलगायत महत्वपूर्ण कामका लागि निषेध गरिएको छ ।

ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न भने शुभ हुन्छ भन्ने शास्त्रीय मान्यता छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम मानिन्छ । ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।

ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुङ्गुर भएर जन्मने, सिङ्गार पटार गरे कुष्ठ रोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने उल्लेखित धार्मिक ग्रन्थमा वर्णन गरिएको छ ।

सूर्य ग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्रग्रहणमा तीन प्रहर (नौ घण्टा) अघिदेखि सुतक लाग्ने धर्मशास्त्रविद्समेत रहेका गौतमले बताए । सुतक लागेपछि भोजन गर्नु नहुने धार्मिक विश्वास छ ।

ग्रहण हेर्नु कर्कट, तुला, कुम्भ र मीन राशि हुनेहरुका लागि राम्रो छ । बाँकी राशिकालाई शुभ फल नदिने समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्