नर्वेकी राजकुमारीका पूर्व श्रीमानले गरे आत्महत्या



१० पुस २०७६, काठमाडौं

नर्वेका राजाका पूर्व ज्वाईं एरी ब्यानको ४७ वर्षको उमेरमा आत्महत्या गरी निधन भएको उनका प्रवक्ताले नर्वेको एनटीबी एजेन्सीलाई जानकारी दिए ।

थुप्रै उपन्यास र नाटकका लेखक ब्यानले राजकुमारी मार्था लुइससँग सन् २००२ मा विवाह गरेका थिए । उनीहरुको दुई वर्षअघि सम्बन्धविच्छेद भएको थियो ।

नर्वेका राजा रानीले एक वक्तव्य जारी गर्दै भने, ‘हाम्रो परिवारमा उनको थुप्रै वर्षदेखि महत्वपूर्ण स्थान छ र उनका राम्रा यादहरु सधैं हामीमाझ रहिरहनेछ ।’

उनीहरुको विवाहका बेला डेनमार्कमा जन्मिएका ब्यानलाई राजकुमारी मार्था लुइसका लागि एक विवादास्पद साथीको रुपमा हेरिएको थियो । राजकुमारी मार्था राजा हाराल्ड र रानी सोन्जाकी एकमात्र छोरी हुन् ।

ब्यानले राजकुमारी मार्थालाई उनको आमामार्फत् भेटेका हुन् । उनकी आमा राजकुमारीकी फिजियोथेरापी प्रशिक्षक थिइन् । त्यतिबेला ब्यान उनको किताब ‘स्याड एज हेल’ का लागि चर्चित थिए । उनी त्यतिबेला विवादमा आएका थिए जब उनलाई लागुऔषधको सेवन गरिरहेका यौनकर्मीसँग पार्टी गरिरहेको देखिएको थियो ।

उनीहरुका तीन छोरीहरु – माउद, लिह, एम्मा– छन् । तर सन् २०१६ मा उनीहरु छुट्टि । त्यसको एक वर्षपछि उनीहरुको सम्बन्धविच्छेद भयो ।

प्रतिक्रिया दिनुहोस्