१४ पुस २०७६, काठमाडौं
२०७६ पुस १४ गते राजधानीबाट प्रकाशित भएका पत्रपत्रिकाले विभिन्न समाचारलाई महत्त्वका साथ छापेका छन् ।
कान्तिपुर दैनिकले चिसो बढेकाले नेपालका बासिन्दा तल्लो भेगमा झरेको मौका छोपेर भारतले व्यास गाउँपालिका क्षेत्रमा पर्ने अन्तर्राष्ट्रिय सीमामा धमाधम संरचना निर्माण थालेको समाचार छापेको छ । पश्चिम नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा अतिक्रमण गरी आफ्नो नक्सामा पारेको भारतले नेपाली पक्षको उपस्थिति नभएको फाइदा उठाउँदै एक पक्षीय रूपमा संरचना बनाएको हो ।
व्यास गाउँपालिका–१ पेल्सिती नजिकै महाकालीमा भारतले अनुमतिबेगर काठेपुल बनाएको छ । महाकाली नदी नै प्रभावित हुने गरी भीर कटान गरेर सडक बनाउने कामलाई पनि तीव्र पारेको छ ।
२०७४ सालमा पनि भारतीय पक्षले महाकाली नदीमा नेपालको अनुमति नलिईकनै विभिन्न ठाउँमा काठेपुल बनाउनुका साथै नेपाली भूमिमा एक्स्काभेटर चलाएको थियो ।
कान्तिपुरमै सामाजिक सञ्जालमा लेखेकै भरमा १५ लाख जरिवाना, ५ वर्ष कैद हुन सक्नेप्रावधानसहितको विधेयक पारित भएको समाचार छापिएको छ ।
सूचना प्रविधि विधेयक संसद्को विकास तथा प्रविधि समितिले पारित गरेको हो । विधेयकमा सामाजिक सञ्जालमा लेखेकै कारण यसका प्रयोगकर्तामाथि १५ लाख रुपैयाँसम्म जरिवाना र ५ वर्ष कैद वा दुवै सजाय हुन सक्ने प्रावधान छ ।
सामाजिक सञ्जाल र यसका प्रयोगकर्ताको अभिव्यक्ति स्वतन्त्रता संकुचित पार्ने प्रावधानसहितको संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुन नदिन सांसदहरूले राखेको संशोधन प्रस्ताव र नागरिक समाजले उठाएका प्रश्नमा छलफलै नगरी समितिको बहुमतले विधेयक पारित गरेको हो ।
विधेयकको प्रावधानले सरकारी निकायलाई अदालतको आदेशबिनै सामाजिक सञ्जालमा लेखिएका विषयवस्तु हटाउने अधिकारसमेत दिएको छ । विधेयकको दफा ८३ मा साइबर बुलिङ गर्न नहुने भन्दै विद्युतीय प्रणालीको प्रयोग गरी निरन्तर हैरान गर्ने, जिस्क्याउने, होच्याउने, हतोत्साही बनाउने, अपमान गर्ने र हप्काउनेजस्ता काम गर्न नहुने उल्लेख गरिएको छ । यस्तो गल्तीका लागि १० लाख रुपैयाँसम्म जरिवाना र ५ वर्ष कैद वा दुवै सजाय हुने प्रावधान छ ।
यस्तै गोरखापत्र दैनिकले विधेयक पारित भएकोबारे औपचारिकरुपमा समाचार छाप्दा नागरिक दैनिकले अभिव्यक्ति संकुचित हुने गरी विधेयक आएको टिप्पणी गरेको छ ।
सामाजिक सञ्जालमा कसैलाई जिस्क्याउने, धम्क्याउनेलगायत काम गरे पाँच वर्ष कैद र १५ लाख रूपैयाँ जरिवाना हुने व्यवस्था राखेर संसदीय समितिले विधेयक पारित गरेको समाचारमा उल्लेख छ ।
विधेयकको दफा ९४ मा जातीय भेदभाव, अवहेलना, शान्तिसुरक्षा, सार्वजनिक सदाचार र नैतिकतामा प्रतिकूल प्रभाव पार्नेगरी सामाजिक सञ्जालमा सम्प्रेषण गरेमा, कुनै व्यक्तिलाई निरन्तर जिस्क्याउने, धम्क्याउने, झुक्याउने काम गरेमा, बिक्री गर्न रोक लगाएको सामग्रीको विज्ञापन गरेमा, ऐनविपरीत अन्य कुनै कार्य गरेमा पाँच वर्ष कैद र १५ लाख रूपैयाँ जरिवानाको व्यवस्था छ।
नागरिक दैनिकमै सरकारले कृषि क्षेत्रको रूपान्तरण गर्ने भनेर चार वर्षअघिदेखि कार्यान्वयनमा ल्याएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको वित्तीय तथा भौतिक प्रगति अत्यन्त कमजोर पाइएको समाचार छ। कुल परियोजना अवधिको एक तृतीयांश समय सकिँदासम्म यो कार्यक्रमको निराशाजनक कार्यान्वयन स्थितिका कारण निर्धारित लक्ष्य पूरा हुन नसक्ने शंका सम्बन्धित विज्ञले गरेका छन्।
कृषिमा आधारित अर्थतन्त्रबाट कृषिजन्य उद्योगमा रूपान्तरित आधुनिक व्यावसायिक, दिगो एवं आत्मनिर्भर कृषि क्षेत्रको विकास गर्ने उद्देश्य लिएको यो परियोजनाको दस्तावेजमा उल्लेख भएअनुसार न त बजेट विनियोजन गरिएको छ न विनियोजित बजेट नै खर्च हुन सकेको छ। २०७३ सालदेखि १० वर्षका लागि भनेर सुरु भएको परियोजनाका लागि अवधिभर कुल १ खर्ब ३० अर्ब ७४ करोड बजेट खर्च गरिने प्रक्षेपण छ।
स्वदेशी सोच र लगानी भनेर प्रचारित यो परियोजनाको पहिलो ३ आर्थिक वर्षमा २२ अर्ब ५८ करोड बजेट आवश्यक पर्ने भनेर प्रक्षेपण गरिएकोमा सरकारले यी ३ वर्षका लागि १५ अर्ब रूपैयाँमात्र विनियोजन ग(यो। जुन प्रक्षेपित बजेटको ६८ प्रतिशतमात्र हो। यति बजेट पनि अपेक्षाअनुसार खर्च हुन सकेन। परियोजनाका वरिष्ठ योजना अधिकृत सुनिल सिंह पछिल्ला ३ आर्थिक वर्षमा केन्द्रीय बजेट विनियोजनको तुलनामा खर्च प्रतिशत ४८ रहेको बताउँछन्। चालु आर्थिक वर्षका लागि ८ अर्ब १० करोड रूपैयाँ विनियोजन गरिएको छ जुन प्रक्षेपणको ७८ प्रतिशत हो। परियोजनाअनुसार पछिल्लो ३ वर्षमा ४ हजार ५ सय पकेट बन्नुपर्नेमा २ हजार ७ सय र ४ सय ५० ब्लक बन्नुपर्नेमा ३ सय ३६ बनिसकेका छन्। यस्तै यो अवधिमा १ सय २० जोन बन्नुपर्नेमा १ सय १४ र १६ वटा सुपर जोन बन्नुपर्नेमा सबै बनिसकेको सिंह बताउँछन्।् ।
विवाद मिलाउन कस्सिए देउवा
कांग्रेस सभापति शेरबहादुर देउवा पार्टीभित्र चर्किंदै गएको विवाद मत्थर बनाउन आफूनिकट नेताहरूसँग छलफलमा जुटेको खबर कान्तिपुरमा छापिएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले बहुमतका आधारमा गरिएका निर्णय सच्याउन दबाब दिइरहेका बेला देउवाले आफूनिकट नेताहरूसँग परामर्श थालेका हुन् ।
देउवासहित आइतबार संस्थापन पक्षका नेताहरूसँग करिब चार घण्टा छलफल गरे । छलफलमा नेताहरूले पार्टीको विभाग, नेविसंघ र तरुण दलको कार्यसमिति गठन तथा विस्तार गर्दा पौडेल र सिटौला पक्षलाई समेटेर लैजाने सहमति गरेका छन् । राष्ट्रिय सभाको निर्वाचनसम्बन्धी छलफलका लागि पुस १७ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाउने र त्यसअघि वरिष्ठ नेता पौडेलसहितको उपस्थितिमा पदाधिकारी बैठक बोलाउने पनि तय भएको छ ।
राजधानी दैनिकले भने नेपाली कांग्रेसभित्रको संस्थापन समूहले बहुमतका बलमा केन्द्रीय समितिको कार्यकाल थप्दै १४औं महाधिवेशनको कार्यतालिका ल्याएपछि असन्तुष्ट समूह जिल्ला सभापति भेलाको तयारीमा जुटेको समाचार छापेको छ ।
संस्थापन पक्षले केन्द्रीय समितिमार्फत बहुमत जुटाएर नौ बुँदे निर्णय गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको असन्तुष्ट समूह जिल्ला सभापति भेलादेखि आवश्यक परे महाधिवेशन प्रतिनिधि भेलासम्मको तयारीमा जुटेको हो । सो समूहले केन्द्रीय समितिसँग समानान्तर गतिविधि गर्ने गरी यो तयारी गरेको हो ।
कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले सभापतिले असन्तुष्ट समूहलाई झनै चिढ्याउने तथा बहुमतको बलमा गुटलाई बलियो बनाउने गरी निर्णय गरेकाले जिल्ला सभापति भेलादेखि भ्रातृसंगठन भेला र आवश्यक परे महाधिवेशन प्रतिनिधिहरूको भेला डाक्ने तयारी भएको बताए ।
अन्नपूर्ण पोस्टमा चिसिँदै हावापानी, बढ्दै रोगव्याधी शीर्षकमा समाचार छ ।
तापक्रम निरन्तर घट्दो छ । तराईका अधिकांश भू भागमा बाक्लो हुस्सु र कुहिरो देखिन्छ । उपत्यकामा दिउँसो झुलुक्क घाम देखा परे पनि चिसो महसुस भइरहेको छ । मुलुकका विभिन्न भागमा तापक्रम घट्दै गएकाले सबै सजग हुन आवश्यक छ । रोगव्याधिले सताउन सक्छ ।
पश्चिमी वायुको वहाब नेपालतर्फ बढिरहेकाले चिसो भइरहेको जल तथा मौसम विज्ञान विभाग, हावापानी शाखा प्रमुख डा। इन्दिरा कँडेल बताउँछिन् । ‘यतिबेला सूर्य दक्षिणि गोलाद्र्धतर्फ ढल्किएको छ । उत्तरतर्फ रहेको नेपालमा पश्चिमी चिसो वायु आइरहेको छ । यसले गर्दा पनि जाडो महसुस भइरहेको छ,’ उनले भनिन् । उनले साइबेरियाबाट आएको चिसो हावा पनि मिसिँदा ठन्डी बढेको बताइन् । चिसो हावाको घनत्व बढिरहेकाले ठन्डीले धेरैलाई सताइरहेको छ ।
विभागका अनुसार २५ मंसिरदेखि मुलुकको पश्चिमी भूभागबाट न्यूनचापीय प्रणालीको प्रवेश भएको छ । यो प्रणालीका कारण देशको पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा हिमपातसमेत भएको थियो । दुई साताअघि पश्चिमी वायुकै प्रभावले मुलुकको अधिकांश भूभागमा वर्षा भएकाले तापक्रम चिसिँदै गएको विभागले जनाएको छ । विभागका अनुसार तराईमा अझै केही दिन हुस्सु र कुहिरो लाग्नेछ । दिउँसो राम्रोसँग घाम नलाग्ने भएकाले तापक्रममा गिरावट आइ चिसो नै रहनेछ । आगामी मंगलबारसम्म पहाडी भूभागमा आंशिक बदली हुने विभागले अनुमान गरेको छ ।
४ सय ८५ क्विन्टल चामल खाद्यमा कुहियो
कर्णालीलगायत दुर्गम जिल्लाका बासिन्दा बर्सेनि चामलको अभाव झेलिरहेका छन् । तर, विदेशबाट अनुदानमा आएको चामलसमेत सरकारी गोदाममा वर्षौँ थन्किएर सडेको छ । संसदीय समितिको अनुगमनका क्रममा थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाममा पाँच वर्षअघि जापान सरकारले दिएको चार सय ८५ क्विन्टल चामल कुहिएको अवस्थामा भेटिएको छ । नयाँ पत्रिकाले यो समाचार छापेको छ ।
संसद्को उद्योग तथा वाणिज्य र उपभोक्ता हित समितिले खाद्यवस्तु अनुगमन गर्न गठन गरेको उपसमितिले आइतबार अनुगमन गरेको थियो । त्यसक्रममा तीनवटा गोदाममा कुहिएको चामल मात्रै भेटियो । ‘खाद्य संस्थानले आफैँ व्यवस्था गरेर चामल वितरण गर्नुको सट्टा जापानले अनुदानमा दिएको चामलसमेत वर्षौँ गोदाममा थन्क्याएर कुहाएको भेटियो, यो त अति नै भयो,’ अनुगमनपछि उपसमितिका संयोजक नरबहादुर धामीले भने । गोदाममा चामलसँगै दाल, स्वायबिनलगायत अन्य खाद्यवस्तुसमेत कुहिएका छन् ।
नयाँ पत्रिकामै सरकार र उद्योगीले तीन अर्ब भुक्तानी नदिँदा उखु किसान पीडामा रहेको र उनीहरु रकम माग्दै राजधानीसम्म आइपुगेको समाचार छ ।