अमेरिकाले गर्‍यो इराक र सिरियामाथि आक्रमणः १८ को मृत्यु



१४ पुष २०७६, काठमाडौं

अमेरिकी सेनाले इराक र सिरियाका लडाकू शिविरमा हवाई आक्रमण गरेको छ।

घटनामा कम्तीमा १८ जनाको मृत्यु भएको छ भने ५० जनाभन्दा बढी घाइते भएका छन्। आफ्नो देशका एक ठेकेदार मारिएपछि अमेरिकी सेनाले कताइब हिज्बुल्लाहले नियन्त्रणमा लिएका क्षेत्र र उनीहरूले हातहतियार भण्डारण गर्ने स्थानलाई निसाना बनाएर आक्रमण गरेको हो।

अमेरिकाले घटना पुष्टि गरेको बीबीसीले जनाएको छ। समाचार संस्था रोएटर्सका अनुसार आइतबार इराकको पश्चिमी क्षेत्रमा रहेको अलकाइम जिल्लामा आक्रमण गरिएको हो। उक्त स्थान सिरियानजिकै पर्छ।

आक्रमणमा कम्तीमा १८ लडाकूको मृत्यु भएको इराकका सुरक्षा निकाय तथा लडाकूले रोएटर्सलाई बताएका छन्। उनीहरुका अनुसार तीनवटा आक्रमणमा ५० जनाभन्दा बढी घाइते भएका छन्। अमेरिकाले हिज्बुल्लाहलाई आतंकवादी संगठन मानेको छ।

गत हप्ता किर्कुकमा भएको रकेट आक्रमणमा एक अमेरिकी ठेकेदारको मृत्यु भएको थियो भने कैयौं अमेरिकी सेना तथा इराकका अधिकारी घाइते भएका थिए।

प्रतिक्रिया दिनुहोस्