पक्राउ परेका चिनियाँलाई लिन चार्टर विमान आउँदै



१५ पुष २०७६, काठमाडौं

विभिन्न आपराधिक कार्य गरेको आशंकामा काठमाडौंबाट पक्राउ परेका १ सय २२ जना चिनियाँलाई लिन केही दिनभित्रै चीनबाटै चार्टर विमान आउने भएको छ।

केही दिनअगाडि काठमाडौंका मनमैंजु, बाँसबारी र बूढानीलकण्ठस्थित १० वटा घरबाट पक्राउ परेका उनीहरूलाई फिर्ता लैजान बेइजिङबाटै चिनियाँ सुरक्षा फौजसहितको विशेष विमान आउन लागेको हो। पक्राउ परेका चिनियाँसँग लिखित बयानसँगै बरामद मोबाइल, ल्यापटप र राहदानी परीक्षणका लागि प्रहरीको विधिविज्ञान प्रयोगशालामा पठाइएको छ।

चिनियाँबाट बरामद सामान परीक्षणका लागि आइतबार र सोमबार प्रयोगशालामा पठाइएको हो। त्यसको रिपोर्ट आउनेबित्तिकै उनीहरूलाई डिपोर्ट गर्ने प्रक्रिया थालिने काठमाडौं प्रहरी प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले बताए। उनका अनुसार मोबाइल र ल्यापटपमा चिनियाँ भाषामा मात्रै लेखिएका डकुमेन्ट बरामद गरिएको छ ।

उच्च स्रोतले दिएको जानकारीअनुसार नेपालस्थित चिनियाँ दूतावासका अधिकारीले यस विषयमा सुरक्षा अधिकारीसँग छलफल गरिसकेका छन्। चिनियाँ पक्राउ परेकै दिन पनि चिनियाँ दूतावासका प्रहरी अधिकारी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा पुगेर पक्राउ व्यक्तिको जानकारी लिएका थिए। ‘चीनबाट केही दिनभित्रै सुरक्षा फौजसहितको चार्टर विमान आउने जानकारी पाएका छौं,’ गृह मन्त्रालय स्रोतले भनेको छ, ‘प्रारम्भिक अनुसन्धानबाट खुलेका तथ्य र प्रमाणसहित उनीहरूलाई अध्यागमन विभागको जिम्मा लगाएर डिपोर्ट गर्ने तयारी अघि बढेको छ।’

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, काठमाडौं प्रहरी र महानगरीय अपराध महाशाखालाई पक्राउ परेका चिनियाँको डिपोर्ट (देश निकाला) प्रक्रियाका लागि तयारी थाल्न निर्देशन आइसकेको एक अधिकारीले बताए। गत ७ पुषमा पक्राउ परेका सबै चिनियाँविरुद्ध प्रहरीमाथि अभद्र व्यवहार गरेको कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ।

पछिल्लो अनुसन्धानअनुसार चिनियाँको अध्यागमन कानुन उल्लंघनबाहेक कुनै पनि अपराध भेटिएको छैन। प्रहरीले १ सय २२ जनालाई पक्राउ गरेकोमा ८४ जनाको राहदानी भेटिएको छैन भने ६७ वटा राहदानी बरामद गरिए पनि ३८ जना मात्रै राहदानीवाहक छन्। राहदानीवाहक सबै कानुनअनुसार नै पर्यटक भिसा लिएका चिनियाँ हुन्। उनीहरूलाई कुन कसुरमा डिपोर्ट गर्ने भन्नेमा प्रहरी अन्यौलमा छ। चिनियाँलाई पक्राउ गर्न बेइजिङबाटै त्यहाँको प्रहरीको विशेष टोली काठमाडौं आएको थियो। उनीहरूकै सूचनाका आधारमा प्रहरीले शंकास्पद चिनियाँलाई पक्राउ गरेको थियो।

यसअघि गत २ पुषमा कम्बोडियाबाट पनि ३ सय ४२ चिनियाँ सीमापार अपराध आरोपमै निष्कासनमा परेका थिए। चिनियाँ आपराधिक गिरोहले नेपालसहित मलेसिया, श्रीलंका, फिलिपिन्स, लाओसलगायत मुलुकमा बसेर आफ्नो देशमा अपराध गरेको आरोप छ। नेपालमा पक्राउ परेका व्यक्ति पनि सीमापार र साइबर अपराधमा संलग्न रहेको चीनको विदेश मन्त्रालयले ८ पुषमा जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ।

काठमाडौंबाट पक्राउ परेका चिनियाँलाई सुरुमा ५ दिनको म्याद थप गरिएकोमा आइतबार दोस्रो पटक प्रशासनले १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो। अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले पक्राउ परेका चिनियाँ केही दिनभित्रै निष्कासन गरिसक्ने बताए।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्