एमसीसी स्वीकार्नु घातकः नेता नेपाल



१५ पुष २०७६, काठमाडौं

पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले एमसीसी स्वीकार्नु नेपालको लागि घातक हुने बताएका छन्।

मंगलबार हेटौंडा पुगेका नेता नेपालले पाँच वर्षभित्र नेपालमा करिब ५५ अर्ब रुपैयाँ खर्च गर्ने गरी अन्तरदेशीय प्रसारण लाइन तथा अन्य संरचना निर्माणको लागि आउन लागेको अनुदान रकम स्वीकार गर्नु नेपालकै लागि घातक हुने बताएका हुन्।

नेता नेपालले एमसीसी इन्डो प्यासिफिक रणनीतिको अंग भएको स्मरण गराउँदै त्यसलाई स्वीकार गर्नु असंलग्न परराष्ट्र नीति विपरीत हुने दावी गरे। एमसीसी संसदबाट अनुमोदन गर्ने वा नगर्ने भन्नेबारे नेकपामा बहस चलिरहेकै बेला नेपालले यस्तो बताएका हुन्। “एमसीसी परियोजना इन्डो प्यासिफिक रणनीतिसँग जोडिएको छ। र यो रणनीति उत्तर कोरिया, चीन र रुसविरुद्ध उभिएको छ। यसरी कसैको विरुद्ध खडा भएको गठबन्धनको अनुदान हामीले स्वीकार गर्नु हामीलाई घातक हुन्छ।” उनले भने।

यस्तै उनले इन्डो प्यासिफिक रणनीति भनेको अरुलाई पराजित गरी अमेरिकालाई शक्तिशाली बनाउने रणनीतिमा बनेको गठबन्धन भएको दावी गरे। नेपालको आन्तरिक मामिलामा अरुको हस्तक्षेप स्वीकार नभएको भन्दै नेता नेपालले आफूहरुले एमसीसीबाट अनुदान लिए दीर्घकालीन समस्या देखा पर्ने बताए। एउटाको विरुद्धमा अर्काको पक्षमा लाग्न नहुने भन्दै उनले एमसीसी कसैको विरुद्ध नभई आर्थिक विकासको निम्ति मात्रै हो भने मात्र स्वीकार गर्न सकिने बताए।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्