प्रेस रिभ्यू : सैन्य सहयोगमा चीनले अमेरिकालाई उछिन्यो, आतंकवादी खोज्दा सुन तस्कर भेटियो



१७ पुष २०७६, काठमाडौँ

आज पुस १७ गते बिहिबार देशका प्रमुख राष्ट्रिय दैनिकहरुमा नेपाल भ्रमण वर्षको सुरुवात, उखु किसानको आन्दोलन, प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीचको टेलिफोन वार्ताको बारेमा समाचारहरु प्रकाशित रहेका छन् ।

कान्तिपुर दैनिकमा नेपालमा पछिल्ला पाँच वर्षमा सबैभन्दा बढी सैन्य सहयोग उत्तरी छिमेक चीनबाट भित्रिएको समाचार छ । नेपाली सेनालाई सहयोग गर्ने अन्य मुख्य मुलुक अमेरिका र भारतभन्दा चीनको सहयोग बढेको सैनिक मुख्यालय जङ्गीअड्डा स्रोतबाट प्राप्त तथ्याङ्कमा देखिएको छ । यो अवधिमा चीनबाट करिब १२ अर्बको सहयोग आउँदा अमेरिकाबाट करिब ५ अर्ब हराहारी सहयोग भित्रिएको छ । नेपालले सैन्य सहयोगका रुपमा विभिन्न मुलुकबाट हवाई जहाज, सञ्चारका साधन, बम निष्क्रिय गर्ने साधन, हेभी र लाइट सवारीसाधन, ढुङ्गा, हतियार, विस्फोटक पदार्थ, संयुक्त राष्ट्रसंघ अन्तरगत शान्ति स्थापनार्थ चाहिने आर्मोरेट पर्सनल क्यारियर (एपीसी) लगायतका सामान लिन्छ ।

चीन, भारत र अमेरिकाले नेपालमा चासो बढाइरहँदा युरोपेली मुलुक विशेषगरी बेलायतले भने नेपाली सेनालाई पछिल्लो समय सहयोग गरेको देखिँदैन । नेपाल भारत शान्ति तथा मैत्री सन्धि १९५० लाई आधार मानेर १९६५ मा भएको रक्षा सम्झौताअनुसार नेपालले भारतबाहेक अन्य मुलुकबाट हतियार वा सैन्य सामग्री ल्याउँदा ऊसँग स्वीकृत लिनुपथ्र्यो । अहिले भारतले नेपाललाई सैन्य सामग्री दिँदा कुल मूल्यको ६० प्रतिशत मात्र अनुदान दिन्छ । बाँकी ४० प्रतिशत नेपालले व्यहोर्नुपर्छ । नेपालले भारतबाट पछिल्ला पाँच वर्षमा सेनालाई नाइटभिजन, हतियार, बारुद र गाडी ल्याएको छ । यसको मूल्य खुलाइएको छैन ।

पत्रिकामा सरकारले नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि कायमै राखेर संघीय प्रहरी ऐनको मस्यौदा तयार पारेको समाचार पनि छ । अवकाशमा जाने आधारका रुपमा रहेका उमेर, पदावधि र सेवा अवधिको व्यवस्थालाई संघीय प्रहरी ऐनमा राख्ने गरी गृह मन्त्रायले नेपाल प्रहरीको गठन तथा सेवाको सर्तसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७६ को मस्यौदा बनाएको हो । ‘प्रहरी कर्मचारीको अवकाश हुने अहिले कायम रहेको ३० वर्षे सेवा अवधि, पदावधि र उमेर हदलाई संघीय ऐनमै समावेश गर्ने गरी विधेयकको मस्यौदा तयार पारिएको छ,’ गृहमन्त्रालय स्रोतले भन्यो, ‘यसलाई कानुन मन्त्रालयबाट सुझाव लिएर मन्त्रिपरिषद्मा पेस गर्ने तयारी छ ।’ मस्यौदा केही दिनभित्रै कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाउन लागिएको स्रोतको भनाइ छ । पुर्वआईजीपी कुवेर सिंह राना तथा पूर्वएआईजीद्वय नवराज ढकाल र दीपकसिंह थाङदेन नेतृत्वका छुट्टाछुट्टै कार्यदलले संघीय प्रहरी ऐन बनाउँदा ३० वर्षे सेवाअवधि हटाउनुपर्ने र अवकाशका लागि पदावधि र उमेर हद नै कायम गर्ने गरी प्रतिवेदन बुझाएका थिए ।

अन्नपूर्ण पोष्ट दैनिकमा राष्ट्रियसभा निर्वाचनको उम्मेदवारी दर्ताको समय ४ दिन मात्र बाँकी छँदा पनि प्रमुख दलले उम्मेदवार छनोट नगरेको समाचार छ । निर्वाचन आयोगले आगामी आइतबार उम्मेदवार दर्ताको समय तोकेको छ । तर दलले उम्मेदवार छनोटका लागि गृहकार्य समेत गरेका छैनन् । राष्ट्रिय सभामा रिक्त १८ सदस्यका लागि माघ ९ गते निर्वाचन हुँदैछ । एक सिट भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुनेछ । आयोगले सबै प्रक्रिया पूरा गरी उम्मेदवार दर्ताको पर्खाइ गरिरहे पनि दलहरु भने अझै तातेका छैनन् । अधिकांश स्थानमा चुनाव जित्ने निश्चित देखिएको सत्तासीन नेकपाले प्रदेश २ मा राजपासँग चुनावी तालमेल गरेको छ । प्रदेश २ बाट नेकपा र राजपाले २–२ सिटमा तालमेल गरेका छन् । यी दुई दल मिल्दा चुनाव जित्ने निश्चित छ ।

पत्रिकामा सर्वोच्च अदालतले नेपालको सीमा, नक्सा र क्षेत्रफलबारे संयुक्त राष्ट्रसंघको सदस्य हुँदा पेस गरेको दस्तावेजसहित उपलब्ध सबै कागजप्रमाण झिकाएको समाचार छ। तथ्यप्रमाणका आधारमा सीमा, नक्सा र क्षेत्रफल विवाद निक्र्योल गर्न सर्वोच्चले बुधबार ऐतिहासिक ‘डकुमेन्ट’ माग गरिएको हो। न्यायाधीश हरि फुयालको एकल इजलासले सुगौली सन्धिदेखिकै ऐतिहासिक दस्तावेज संकलन गरी बुझाउन आदेश दिएको हो। सन् १८१६ मा तत्कालीन इस्ट इन्डिया कम्पनीसँग भएको सुगौली सन्धिको अनुसूची, प्रतिलिपि तथा नेपालको आधिकारिक नक्सासहित १५ दिनभित्र जवाफ पेस गर्न आदेशमा भनिएको छ। सर्वोच्चले सुगौली सन्धिपछि तयार भएको नेपालको आधिकारिक नक्सासमेत झिकाएको छ।

‘नेपाल सरकारले सन् १९५५ मा संयुक्त राष्ट्रसंघको सदस्य हुँदा तथा अन्य अन्तर्राष्ट्रिय वा क्षेत्रीय संगठनहरूको सदस्य हुँदा सार्वभौम नेपालको अस्तित्व दर्शाउने कुनै सन्धि, नक्सा वा दस्तावेज पेस गरेको भए त्यसका प्रतिलिपि लिखित जवाफका अनुसूचीका रूपमा पेस गर्न लगाउनू,’ आदेशमा भनिएको छ। संविधान जारी हुँदाका बखतको नेपालको दार्चुलास्थित लिम्पियाधुरा क्षेत्रको प्रश्न समाधान गर्ने राष्ट्रिय वा अन्तर्राष्ट्रिय रूपमा उपलब्ध सामग्री पनि पेस गर्न आदेशमा उल्लेख छ। सन् १८२७ को इस्टइन्डिया कम्पनीद्वारा प्रकाशित नक्सा उपलब्ध भए पेस गर्न पनि आदेशमा भनिएको छ। सन् १८४६ मा लन्डनबाट प्रकाशित भएको भनिएको नेपालसहितको नक्साको प्रतिलिपिसमेत नापी विभागको लिखित जवाफको अनुसूचीका रूपमा पेस गर्न आदेशमा भनिएको छ। यस्तै राष्ट्रिय योजना आयोग तथा अन्य कुनै निकायमा नेपालको नक्सासम्बन्धमा कुनै कार्य भएको भए त्यस्ता सामग्री पनि झिकाइएको छ। दार्चुलास्थित लिम्पियाधुरा क्षेत्रको प्रश्न समाधान गर्ने कुनै राष्ट्रिय वा अन्तर्राष्ट्रिय रूपमा उपलब्ध सामग्री पनि सरकारसँग मागिएको छ।

नेपालमा आतंकवादी छिरेको सूचना पाएर विमानस्थलमा खटिएको प्रहरीले वर्षौंदेखि सुन तस्करी गरिरहेका भारतीय नागरिकलाई पक्राउ गरेको नागरिक दैनिकमा समाचार छ । नेपालमा अन्तर्राष्ट्रिय आतंकवादी छिर्दैछन् भन्ने सूचनालाई पछ्याउँदै जाँदा नेपाल प्रहरीको विशेष व्यूरोको टोलीले सुन तस्कर महोम्मद जिसानलाई पक्राउ गरेको हो । उनी भारतीय नागरिक भएकाले प्रहरीले यसलाई सार्वजनिक गरेको छैन । मुजाहिद्दिन आतंकवादी नेपाल छिरेका छन् भन्ने सूचना पाएपछि परिचालित भएको प्रहरी टोलीले उनलाई फेला पारेको हो । प्रहरीले औपचारिकरुपमा उनलाई सुन तस्करका रुपमा प्रस्तुत भने गरेको छैन । उनको गतिविधि शंकास्पद रहेको जनाएको छ । विशेष व्यूरोले सोह्रखुट्टे प्रहरी वृत्तमा बुझाएको भए पनि सोह्रखुट्टे प्रहरीले जिसान आफ्नो हिरासतमा नरहेको बताएको छ । मंसिर २९ गते विमानस्थलमा झरेका जिसानलाई ३० गते स्रोहखुट्टे प्रहरीमा बुझाएको थियो । प्रहरीले तयार पारेको प्रारम्भिक विवरणमा भने उनी सुन तस्कर भएको उल्लेख छ ।

पत्रिकामा मुलुकमा ६४ प्रतिशत परिवार कृषि पेसामा आश्रित भए पनि मासिक १५ अर्ब रुपैयाँभन्दा बढीको कृषि तथा पशुजन्य वस्तु आयात भइरहेको छ । बजारको माग अनुसार उत्पादन नहुँदा चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा पौने खर्ब रुपैयाँको कृषि तथा पशुजन्य वस्तु आयात भएको हो । सरकारले कृषि तथा पशुपालनलाई आधुनिकीकरण र व्यवसायीकरण गरी खाद्यान्न, तरकारी, फलफूल, माछा, मासु, दुध लगायत वस्तुको उत्पादन बढाएर आत्मनिर्भर बन्ने बताउँदै आएको छ । तर, भन्सार विभागका अनुसार पछिल्लो पाँच महिना २० अर्ब २१ करोडको खाद्यान्न, २१ अर्ब ६८ करोडको खाने तेल, जनवारको बासोसहितका सामग्री, ६७ करोडको जिउँदो जनवार, मासु र मासुजन्य वस्तु, ८३ करोडको माछासहित जलीय वस्तु, १ अर्ब १९ करोडको चिनी तथा चिनीबाट बन्ने परिकार, ३ अर्ब ८४ करोडको तयारी खाद्य वस्तु, १३ अर्ब २८ करोडको तरकारी तथा कन्दमूल, १० अर्ब १४ करोडको फलफूल आयात भएको छ ।

नयाँ पत्रिका दैनिकमा पूर्वराजा ज्ञानेन्द्र शाहको दमकस्थित चिया बगानले वर्षौँदेखि कर नतिरेको समाचार छ । दमक नगरपालिका– ४ र ९ को पाँच सय ७५ बिघा १७ कट्ठा १४ धुरमा रहेको हिमालय–महालक्ष्मी टी गार्डेनको पाँच करोड ३० लाख कर बक्यौता छ । गणतन्त्र स्थापनापछि स्थानीय स्वायत्त शासन ऐनको अधीनमा रही यो बगानलाई पनि एकीकृत सम्पत्ति कर लागू भएको थियो । तर, बगानले हालसम्म कर नतिरेको दमक नगरपालिकाको राजस्व शाखाले जानाएको छ । चिया बगानको व्यवस्थापन हाल सोल्टी ग्रुपले गर्दै आएको छ । हिमालय–महालक्ष्मी टी गार्डेन प्रालिले सञ्चालन गरेको चिया बगानभित्र काठका धेरै संरचना छन् । जहाँ पूर्वराजपरिवारले प्रयोग गर्ने गरेको ‘मिनी दरबार’ पनि छ । यो दरबारमा पूर्वराजा ज्ञानेन्द्र प्रत्येक वर्ष आउने गर्छन् । गत बुधबार पनि उनी बगानमा आएका थिए । हिमालय–महालक्ष्मी टी गर्डेनलाई दमक नगरपालिकाले कर तिर्न पटक–पटक ताकेता गरेको छ, तर उठाउन सकेको छैन । ‘हामीले पटक–पटक ताकेता गरेका छौँ । धेरैपटक पत्र काटेका छौँ,’ मेयर रोमनाथ ओली भन्छन्, ‘यहाँ ९गार्डेनमा० भएका कर्मचारीसँग कुरा गर्दा ठूलो रकम छ, हामीले सक्दैनौँ, माथि भन्नुपर्छ भन्छन् । नगरपालिकाले पूर्वराजालाई चिन्दैन । यो त कम्पनीको नाममा छ । हामी कम्पनीलाई मात्रै चिन्छौँ ।’

पत्रिकामा नक्कली सवारीचालक अनुमतिपत्र (लाइसेन्स) निवारण गर्न सरकारले प्रयोगमा ल्याएको ‘स्मार्ट लाइसेन्स’ मात्र होइन, सशस्त्र प्रहरीको परिचयपत्रसमेत नक्कली बन्ने गरेको खुलेको समाचार छ । न्युरोडस्थित स्थापित फोटो स्टुडियो फोटो कन्सर्न प्रालिबाट नक्कली स्मार्ट लाइसेन्स र सशस्त्र प्रहरीको नक्कली परिचयपत्र बरामद भएपछि यो तथ्य बाहिरिएको हो । प्रहरीले कन्सर्नबाट फोटोग्राफर कुमार तण्डुकार, सेल्स अफिसर अनन्त गुरुङ, मार्केटिङ अफिसर अशोक कार्की, क्यासियर मोहन यादवलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार कन्सर्नमा छापा मार्दा लक्ष्मण झाँक्रीको नाममा बनेको स्मार्ट लाइसेन्स, झाँक्रीकै नाममा बनेको सशस्त्र प्रहरीको परिचयपत्र बरामद भएको छ । प्रहरीले बल्खुस्थित आशिष फोटो स्टुडियोका सञ्चालक सुवास भनिने बुद्धिबहादुर रोका र नक्कली लाइसेन्स लिने दीपक ब्लोनलाई पनि पक्राउ गरेको छ । अनुसन्धानमा संलग्न महानगरीय अपराध अनुसन्धान महाशाखाका अनुसार कन्सर्नबाट नक्कली स्मार्ट कार्ड बनाउने मेसिन, परिचयपत्र छाप्ने प्रिन्टर, कार्ड काट्ने कटर, लाइसेन्स डिजाइन गर्न प्रयोग गरिएको हार्ड ड्राइभलगायतका सामग्रीसमेत बरामद भएको छ । महाशाखा प्रमुख एसएसपी सहकुल थापाले कन्सर्नले नक्कली लाइसेन्स तथा सशस्त्र प्रहरीको नक्कली परिचयपत्र बनाउने गरेको पुष्टि भएको बताए । उनले भने,‘फोटो कन्सर्नमा हामीले छापा मार्‍यौँ । त्यहाँबाट नक्कली स्मार्ट कार्ड, सशस्त्र प्रहरीको नक्कली परिचयपत्र, कार्ड छाप्न प्रयोग हुने प्रिन्टर, कटरलगायतका सामग्री फेला पर्‍यो ।’

प्रतिक्रिया दिनुहोस्