मध्यपूर्व सङ्कट : मर्केल र पुटिनबीच मस्कोमा छलफल हुने



२१ पुस २०७६, काठमाडौं

जर्मनीकी चान्सलर एन्जेला मर्केलले मध्यपूर्वमा देखिएको राजनीतिक सङ्कटबारे मस्कोमा रूसी नेता भ्लादिमिर पुटिनसँग छलफल गर्न आगामी शनिबार रूस जाने हुनुभएको छ ।

“मस्कोमा हुने भेटमा संयुक्त राज्य अमेरिकाले ड्रोनमार्फत इराकको राजधानीमा गरेको आक्रमणमा इरानी विशेष सुरक्षा बलका प्रमुख जनरल कासिम सुलेमानी, इराकमा भ्रष्टाचारविरोधी आन्दोलनको नेतृत्व गरिरहेका हेजबुल्लाह नेता अबु महदी अल मोहन्दिस र अन्य केही व्यक्तिको मृत्यु भएपछि परिवर्तित राजनीतिक अवस्थाबारे दुई नेताबीच छलफल हुनेछ,”सोमबार जर्मनीको सरकारका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । मर्केललाई भ्रमणमा विदेशमन्त्री हेइको मासले साथ दिनुहुनेछ ।

प्रवक्ता स्टेफेन सेइवर्टले भन्नुभयो, “भेटमा रूस र जर्मनीबीचको आपसी सम्बन्धलाई मजबुत पार्ने तथा जर्मन–रूस ग्यास पाइपलाइन आयोजनाबारे छलफल हुने कार्यक्रम छ । साथै इरान र इराकमा अमेरिकी ड्रोन आक्रमणपछि सिर्जना भएको राजनीतिक सङ्कट, सिरियाली द्वन्द्व र लिवियाली तनावलगायत बिषयमा पनि दुई देशका अधिकारीबीच छलफल हुनेछ ।”

प्रतिक्रिया दिनुहोस्