योगका आठ अंग जसले मानिसलाई बनाउँछ स्वस्थ र फिट



२२ पुष २०७६, काठमाडौं

योग मन र आत्माको मेल भनेर पनि बुझ्न सकिन्छ। योग व्यक्तिको परमेश्वरमा एकाकार हुने एउटा तरिका हो। यस्तो योगलाई नै पूर्ण योग भनिन्छ।

योगको माध्यमबााट मानिसहरूले आफूलाई स्वस्थ्य, निरोगी बनाउन सक्छन्। अहिलेको जीवनशैली तथा मानिसहरूको अस्वस्थकर खानपानबाट लाग्ने दीर्घकालीन रोग लाग्न नदिनका लागी वा स्वस्थ्य रहन योगको आवश्यकता छ। योगबाट शरिरलाई सन्तुलन गर्न सकियो भने आफ्नो मन पनि सन्तुलनमा आउँछ।

योगमा मनको विकार हटाउन आठ अंग प्रस्तुत गरिएको छ जसलाई योग अनुशासन भनिन्छ। ती हुन् – यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारण, ध्यान र समाधि।

यी आठ अंगमध्ये ६ वटाले मनलाई बन्धनबाट मुक्त गराउन एकाग्र गर्ने विधि सिकाउँछ भने २ वटा अंग (आसन र प्राणायाम) ले शरिरलाई लचिलो र खँदिलो बनाउन सहयोग गर्छ।

यम

कसैलाई मन, बोलीवचन, व्यवहारबाट दुःख नदिनु, हिंसा नगर्नु, सत्य बोल्नु, चोरी वा छलकपट नगर्नु नै यम हो। यममा ब्रम्हाचर्य भनेको चेतनालाई ब्रम्हाको ज्ञानमा स्थित गर्नु वा सबै इन्द्रिय जनित सुखमा संयमित हुनु हो।

नियम

नियम भित्र पाँच व्यक्तिगत नैतिकता शौच शरीर र मनको शुद्धि, सन्तुष्टि र प्रशन्न रहनु, तप आफुलाई अनुशासित गर्नु, स्वाध्याय वा आत्मचिन्तन गर्नु, ईश्वर प्रणिधान अर्थात ईश्वरप्रति पूर्ण श्रद्धा राख्नु समाबेश हुन्छ।

आसन

अष्टाङ्ग योगमा आसनको उदेश्य शरीरमा भएका प्रत्येक नस, नाडी मांसपेशी, भित्री अंग र जोर्नीहरु लाई लचिलो बनाई शरीरलाई स्वच्छ र रोग मुक्त राख्न सहयोग पुयाउनु हो। आसनको माध्यमबाट रोग, शोक र पीडा एकैपटक समाप्त हुन्छ र पूर्णस्वाथ्य प्राप्त गर्न सकिन्छ।

प्राणयाम

आसनमा सिद्धी भएपछि श्वासप्रश्वासको गति लयबद्ध हुनु नै प्राणायाम हो।

प्रत्याहार

प्रत्याहारमा इन्द्रियहरु आफ्नो कार्यबाट मुक्त हुन्छन्। जस्तै आँखाले देख्न, कानले सुन्न, नाकले गन्ध सुग्न, जिब्रोले स्वाद लिन र छालाले स्पर्शको अनुभूति गर्ने सक्दैनन्। ध्यानमा लुप्त हुने भएकाले चेतनाशून्य भई एकदमै हलुको भएको महसुस हुन्छ। मन्त्र जाप, निरन्तर प्राणायामको अभ्यास, भक्ति योग वा भजनमा बिलीन भएर यो अवस्थामा पुग्न सकिन्छ।

जव यो घट्छ मन पूर्ण रुपमा शान्त भई अन्तरमुखी हुन्छ। योग शास्त्रमा यो स्थिति लाई शरीरगत ऊर्जाको उध्गमन भनिन्छ।

धारणा

मनलाई बाहिर या भित्र कुनै एक प्रतीक वा शून्यमा एकाग्र गर्नु धारणा हो।

ध्यान

कुनै वस्तुमा चित्त लगाइ एकाग्र हुनु नै ध्यान हो। लक्षित वस्तुमा मनलाई स्थिर बनाएर एकै प्रकारको प्रवाहमा रहनु ध्यान हो।

समाधी

ध्यानगर्दा जव ध्यानको मात्रै अस्तित्व बाँकी रहन्छ त्यो नै समाधिमा हो। समाधिमा लीन भएपछि गंध, स्वाद, रुप ,स्पर्श र शब्द श्रवण केहिको पनि ज्ञान हुदैन । योगको अन्तिम लक्ष्य नै समाधि हो।

प्रतिक्रिया दिनुहोस्