आजको सम्पादकीय : ‘साहुकारको शोषण’ देखि पर्यटनमन्त्रीको ‘कुबेलाको भ्रमण’सम्म



आज पुस २४ गते बिहीबार प्रकाशित मुख्य दैनिक पत्रिकाले असंगठित क्षेत्रबाट लिइने ऋणको बोझ, पर्यटन प्रवद्र्धनमा देखिएका कमजोरी, स्वास्थ्य क्षेत्रमा देखिएका अव्यवस्थासहित अन्य समसामयिक विषयमा सम्पादकीय लेखेका छन् ।

नयाँ पत्रिकाले देशभर असंगठित क्षेत्रबाट ऋण लिनेहरु र अत्यधिक चर्को ब्याज लिएर गरिबको गरिबीको फाइदा उठाउनेहरुको विगविगी भएको उल्लेख गर्दै ‘साहुकारको शोषण’ शीर्षकमा सम्पादकीय लेखेको छ । सम्पादकीयमा भनिएको छ– हाम्रा समाजमा सक्रिय देखिने सामाजिक कार्यकर्ता, शिक्षक र समाजका अगुवाको समाजिक दायित्व हुँदैन ? उनीहरु आफ्नै वरपर यसरी गरिबहरु ठगीरहँदा किन आवाज उठाउँदैनन् ?

पृथ्वीनारायण शाहलाई सम्झना गर्ने दिवस जसलाई नेपाल एकीकरण दिवसका रुपमा सम्झना गर्ने परिपाटी बसाल्न आवश्यक भएको उल्लेख गर्दै नागरिक दैनिकले ‘पृथ्वीपथको प्रदर्शन’ शीर्षकमा सम्पादकीय लेखेको छ । सम्पादकीयमा ‘जेजस्तो कारण दिएर हिजो पुस २७ लाई पृथ्वी दिवसबाट हटाइएको छ, त्यसलाई पुनस्र्थापित गर्न वर्तमान सरकारले ध्यान दिनुपर्छ । यसले सरकारप्रति विश्वासको वातावरण सिर्जना गर्छ ।

आम नागरिकको भरोसाको केन्द्र सरकारी स्वास्थ्य संस्थाको सेवा सुविधा सबैभन्दा निराशाजनक रहेको उल्लेख गर्दै नेपाल समाचारपत्रले ‘स्वास्थ्य संवेदन’ शीर्षकमा आज सम्पादकीय लेखेको छ । सम्पादकीयमा ‘राजधानीको मुटुमा रहेका त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, कान्ति बला अस्पताल, गंगालाल हृदयरोग केन्द्रजस्ता केन्द्रीय अस्पतालको आकस्मिक कक्षमा आउने विरामीको विदीर्ण अवस्थाले सिंगो मुलुकको स्वास्थ्य सेवाको अवस्था कस्तो होला भनेर सहजै अनुमान लगाउन सकिन्छ, त्यसमा सुधार ल्याउनुको विकल्प छैन’ भनिएको छ ।

त्यसैगरी सरकारी अस्पतालमा चुस्त सेवा प्रवाह र पहुँचको सुनिश्चितता नभएको उल्लेख गर्दै अन्नपूर्ण पोस्ट्ले सम्पादकीय लेखेको छ । ‘उपचार पहुँचको सुनिश्चितता’ शीर्षकमा देखिएको सम्पादकीयमा भनिएको छ– सीमित स्रोत र साधन र व्यवस्थापकीय कमजोरीका कारण शय्या अभावमा निजी क्षेत्रका अस्पतालमा हेरफेर गर्ने प्रवृत्ति मौलाएको छ । पूर्वाधार, उपकरण, जनशक्ति र बजेटको कमीले सेवा प्रवाह चुस्त हुन सकेको छैन । चिकित्सक सरकारी अस्पतालमा हाजिर गरी निजी अस्पताल वा क्लिनिमा जाने संस्कार छ । दण्डहिनताको अवस्था चुलिएको छ ।

गोरखापत्रले अदालतमा छिटोछिटो मुद्दा किनारा लाग्न नसकेको भन्दै ‘छिटो र गुणात्मक न्याय’ शीर्षकमा सम्पादकीय लेखेको छ । सम्पादकीयमा भनिएको छ– छिटोछरितो मुद्दा फछ्र्यौटले पीडितले न्याय पाएको अनुभूति गर्छ, उसको स्रोत र साधनको बचत मात्र हुनेछैन, जीवनले नयाँ मोड लिन सक्छ र अदालतप्रति विश्वसनीयता पनि बढी हुन जान्छ । यस्तो सत्यालाई सर्वोच्च अदालतले पनि हृदयङ्गम गर्नुपर्छ ।

सरकारले सन् २०२० को मार्च महिनामा भैरहवा विमानस्थलबाट उडान शुरु गर्ने योजना बनाए पनि यसको सञ्चालनको जिम्मा कसलाई दिने भनेर निर्णय गर्न ढिला भएको उल्लेख गर्दै आर्थिक अभियानले सम्पादकीय लेखेको छ । ‘विमानस्थल सञ्चालन गर्न उडान कार्यविधि पनि बनाउनुपर्ने हुन्छ, त्यस्तै अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन(आईकाओ) को सहमति पनि आवश्यक हुन्छ,’ सम्पादकीयमा भनिएको छ,‘ विमानस्थल प्रमाणित भएपछि मात्र परीक्षण उडान र अनि त्यसपछि बल्ल व्यावसायिक उडान शुरु गर्न पाइन्छ, यी सबै काममा ढिला हुँदा विमानस्थल सञ्चालनमा डिलाई नहोस् भनेर तीव्र गतिमा काम गर्नुको विकल्प देखिँदैन ।’

विनाशकारी डढेलोको अभूतपूर्व संकट झेलिरहेको बेला नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धन गर्न पर्यटनमन्त्री योगेशकुमार भट्टराई अस्ट्रेलियमा पुगेको उल्लेख गर्दै कान्तिपुरले सम्पादकीय लेखेको छ । ‘कुबेलाको भ्रमण’ शीर्षकमा लेखिएको सम्पादकीयमा भनिएको छ– अस्ट्रेलियाले जुधिरहेको डढेलो जो केहीका लागि विष्मयकारी छँदै छ, नेपालीलाई भने त्यहाँका सुरक्षाकर्मीले ¥याली गर्न रोकेको र नेपालले आवश्यक संवेदनशीलता देखाउन नसकेकोमा थप विस्मित तुल्याएको छ । त्यहाँ मन्त्री सहभागी हुने कार्यक्रममा सुरक्षा अवरोध आउनु निश्चयपनि राम्रो कुरा होइन ।

त्यस्तै कारोबारले राज्यले धूमधामका साथ नेपाल भ्रमण वर्ष मनाइरहँदा अघिल्लोवर्षको पर्यटक आगमनको तथ्यांकले नमिठो झट्का दिएको उल्लेख गर्दै ‘पर्यटक आगमनको निराशाजनक तस्बिर’ शीर्षकमा सम्पादकीय लेखेको छ । सम्पादकीयमा भनिएको छ– गत वर्षको कमजोरीबाट पाठ सिकेर आगामी वर्षको रणनीति निर्माणमा अग्रसरता जरुरी छ र भ्रमण वर्षको सफलता पनि यसैमा निर्भर रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्